Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

इँटा उद्योगको कोइला पिस्ने मेसिनमा परेर एक किशोरको निधन

न्युज कारोबार कञ्चनपुर वैशाख २३, २०७८       

इँटा उद्योगको कोइला पिस्ने मेसिनमा परेर एक किशोरको निधन

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा रहेको जगदम्बा इँटा उद्योगमा कोइला पिस्ने मेसिनमा परेर एक किशोरको ज्यान गएको छ । इँटा उद्योगमा ज्यालादारी गर्दै आएका १३ वर्षीय अर्जुन पुजाराको गए राति कोइला पिस्ने मेसिनमा परेर ज्यान गएको हो । उद्योगमा काम गर्दै गर्दा कोइला पिस्ने मेसिनमा परी टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । भीमदत्त नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भएको ती किशोर स्थानीय सिद्धनाथ माविमा कक्षा ८ मा अध्ययनरत थिए ।

कोभिड १९ को संक्रमण बढिरहेका कारण विद्यालय बन्द भएपछि एक साता अघिदेखि उनी ज्यालादारी गर्न इटा उद्योगमा पुगेको प्रहरीले जनाएको छ । मृतक किशोरको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । इँटा उद्योगमा मजदुरी गर्न लगाई बाल शोषण गरेको भन्दै अधिकारकर्मी तथा स्थानीयहरूले उद्योग सञ्चालकको विरोध गरेका छन् भने उद्योग सञ्चालकलाई कानुनी कारबाही र क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने परिवारजनको अडान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित खबरहरु