कर्णालीमा १०३ जनामा कोरोना संक्रमण
वि.सं.२०७८ वैशाख १४ मंगलवार ००:४३
shares

कर्णाली प्रदेशभर सोमबार १०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६८ जना र रेपिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ८९ जनाको परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण देखिएको हो भने एन्टिजेन परीक्षणबाट ११० जनाको परीक्षण गरेकोमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ४८९ रहेको छ । सुुर्खेतमा ३६६, जाजरकोटमा १६, दैलेखमा ४१, सल्यानमा ६६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण दर बढेको छ । वैशाख महिनाको दुई सातासम्म कर्णालीमा जम्मा ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । आरटी–पीसीआर तथा रेपिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा भाइरस पुष्टि भएको हो । हालसम्म कर्णालीमा ३४ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
भारतबाट आउने नागरिकहरुलाई जथाभावी भित्रिन दिएसँगै कोरोना भाइरस संक्रमणको दर बढेको हो । नाकाहरुमा कडाई नगर्ने, बजारमा खुलेआम स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरी हिड्ने गर्नाले संक्रमणको जोखिम बढेको हो । संक्रमितहरुको संख्या बढेसँगै अस्पतालहरुमा स्वास्थ्य सामाग्रीहरुको अभाव हुने गरेको छ । प्रदेश अस्पताल सुर्खेतमा समेत अक्सिजनको अभाव हुन थालेको कोरोना फोकल प्रर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालको सघन कक्षमा भर्ना भएका २८ बिरामीमध्ये २६ जनालाई अक्सिजन दिइएको छ । सघन कक्षको क्षमता जम्मा २५ जनाको छ । उनले नागरिकहरुको लापरबाहीकै कारण यो अवस्था आएको हो ।
यस्तै देशभर सोमबार तीन हजार ४४२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख तीन हजार ४६१ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर पनि बढ्दो छ । अहिलेसम्म नेपालमा तीन हजार एक सय ७६ जनाको मृत्युु भएको छ ।

























