काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सगरमाथा आधार शिविर पुग्यो आइसफल डाक्टरको टोली

15.46K
shares

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ । विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए ।

टेलिफोन सम्पर्कमा उनले केही दिनमै शिविर एकतर्फ बाटो निर्माणमा जाने तयारी भइरहेको बताए । आधारशिविर पुगेको टोलीले अहिले (रुट) बाटो हेर्ने र आवश्यक तयारीको बारेमा जानकारी लिने काम भने भइसकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिए ।

उनका अनुसार बाटो निर्माण गर्ने टोलीमा पाल्देन नामगेल शेर्पा, आङसार्की शेर्पा, मिङमातेम्बा शेर्पा, दावाजाङबु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङछु शेर्पा र फुछेतर शेर्पा रहेका छन् । आइसफल डाक्टरले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाङ्ने कामसमेत सोही टोलीले गर्ने आइसफल डाक्टर आङसर्की शेर्पाले बताए । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण हुने उनको भनाइ छ ।

सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको भए पनि सगरमाथा आरोहणका लागि भने कुनै पनि समूहले अनुमति नलिएको निर्देशक मीरा आचार्यले बताए । 

सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि भने तेस्रो समूहले अनुमति लिएको छ । अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतबार अनुमति लिएका छन् भने चार जनाको एउटा समूहले नुप्त्से र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति पाएका छन् । योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या २० पुगेको छ ।

अघिल्लो वर्ष भने कोरोनाका कारण हिमाल आरोहण बन्द भएको थियो । व्यवसाय ठप्प हुँदा घरव्यवहार धान्न नै मुस्कील परेको व्यवसायी किताब सिं तामाङले बताए । यो सिजनमा पर्यटक आउने आशा लागेको तामाङको भनाइ छ । केही पर्यटक आउनेक्रम रहेको र हिमाल आरोहणका लागि अनुमतिसमेत प्रदान गर्न थालिएसँगै यस क्षेत्रमा लाग्नेमा आशा पलाएको अर्का पर्यटक व्यवसायी तुलबहादुर तामाङले बताए । (रासस)