Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

'हामी पार्टी विशेषभन्दा पनि जनता विशेष भएर काम गरिरहेका छौँ'

दिनेश बिष्ट धनगढी फागुन २६, २०७७       

'हामी पार्टी विशेषभन्दा पनि जनता विशेष भएर काम गरिरहेका छौँ'

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै तीन तहका सरकार गठन भए । अहिले देशमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार छन् । तीनै तहका सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय सरकार हो । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब साढे ३ वर्ष पुगेको छ । साढे ३ वर्षको अवधिमा स्थानीय सरकारले गरेका काम र जनताले पाएको उपलब्धिका विषयमा केन्द्रित रहेर न्युज कारोबारका सुदूरपश्चिम संयोजक दिनेश बिष्टले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मेयर दिल बहादुर ऐरसँग गरेको कुराकानी :

मेयर साप तपाईं निर्वाचित भएर आएको करिब साढे तीन वर्ष पुग्यो, तपाईं आउनुभन्दा अगाडि र अहिलेको अवस्था कति परिवर्तन भएको छ ?

नेपालमा संघीय शासनको प्रणाली सुरु भएको छ । यसको कार्यान्वयनका लागि हामी र हाम्रो टिम कटिबद्ध छ । जुन विकासको कुरा छ, शुुक्लाफाँटा नगरपालिकामा हामी आइसकेपछि कानुनमा रहेका संवैधानिक सूचकांक विकास, सुशासन र पारदर्शितालाई प्राथमिकता दियौँ र धेरैभन्दा धेरै सेवा दिने कोसिस गर्‍यौँ । पूर्वाधार विकासमा आत्मनिर्भर हुँदै गएको छ । कानुन बनाएका छौँ । यस्ता पूर्वाधार निर्माणबाट रोजगारीको अवसर पनि सिर्जना भएका छन् । १२ वटै वडामा स्वास्थ्य चौकी बन्दैछन् । गरिब, आदिवासी जनजाति, लक्षित वर्गलाई राज्यको मूलधारमा ल्याउने कोसिस गरेका छौँ । यससँगै वन वातावरणमा नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको छ । मलाई लाग्छ, यो अवधिमा नगरपालिकाले विकासमा नयाँ काँचुली फेरेको छ । 

त्यहाँ गएर हेर्नुभयो भने विकासमा जनताले फल पाएका छन् । सबै कुराहरु एकैपटक हुने सम्भावना त भएन । तर, आधारभूत कुराहरु र जनताका समस्यालाई एकैसाथ हामीले कोसिस गरेर सफलतातर्फ गइरहेका छौँ । अर्को पक्ष, सुशासन हो । हामीले विकास मात्रै गरेर सुशासन ल्याएनौँ भने त्यसको प्रभाव पर्दैन । त्यस कारण नगरमा भएका गरिब, पिछडिएको क्षेत्र, न्याय नपाएको समुदायलाई माथि उठाउने कोसिस गर्‍यौँ । र सफलतातिर गइरहेका छौँ । शुक्लाफाँटा नगरपालिकामा कसैले अपराधिक गतिविधि गरे, हिंसा भड्काए, बलात्कार गरे भने प्रहरी प्रशासनभन्दा अघि हामी समेत कारबाहीको प्रक्रियामा जान्छौँ । हामीले कारबाही पनि गरेका छौँ । अहिले नगरका सबै जनप्रतिनिधि जनताको सेवामा निकै तल्लीन भएर लाग्नुभएको छ ।

हामी जनप्रतिनिधि आइसकेपछि सडकको छाडा गाई व्यवस्थापन गर्‍यौँ । दुध उत्पादन, मलमूत्र उत्पादन गरिरहेका छौँ । गौशालामा १० जनाले रोजगार पाएका छन् । गाई व्यवस्थापन भएपछि सडक दुर्घटना अन्त्य भएको छ । अर्को कुरा पारदर्शिता जनताले न्याय पाए कि पाएनन्, विकासको उपभोग गर्न पाए कि पाएनन् । हरेक वडामा वडापत्र छ, सूचनाको सहज पहुँच छ । सबै जनताले नगरबाट भइरहेका कामको बारेमा थाहा पाउनेगरी हामीले सूचनाको पहुँच सहज बनाएका छौँ । त्यसैले ‘नागरिक नै मालिक हुन् है’ भनेर हामी अगाडि बढेका छौँ । हामी आइसकेपछि सीमित स्रोत साधनमा रहेर जनतालाई सर्वमान्य शक्तिका रुपमा अगाडि बढाइरहेका छौँ । त्यसैले नगरपालिका अहिलेसम्म सफल भएको मलाई लाग्छ । 

धेरै स्थानीय तहमा काम गर्ने विषयमा अन्यौलता भएको पाइन्छ । तपाईं सफल भएको छु भनिराख्नुभएको छ । कसरी काम सुरु गर्नुभाको थियो ?

मसँग व्यक्तिगत अनुभव थियो । स्थानीय तहमा आएसँगै स्थानीय तहलाई मजबुत बनाउन संविधानअनुसार कानुन निर्माण गर्‍यौँ । जनप्रतिनिधिहरुलाई व्यापक परिचालन गरेर तालिम दियौँ । हामी कुनै पार्टीका मात्रै नभएर हामी जनताका हौँ भन्ने सन्देश दियौँ । सबै एकजुट भएर लाग्यौँ । म यो नगरको अविभावक हो मलाई गर्व छ उपमेयरदेखि वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरु प्रति । हाम्रो गति निकै तीव्र छ, सबै विकासवादी छौँ । यस्तै कर्मचारीको राम्रो टिम छ । केही सामान्य समस्या छन् नै । प्रदेश र संघीय सरकारसँगका साझा अधिकार छन् । त्यसमा धेरै प्रगति नभएको होला । रोजगारी सबैलाई गर्न नसकिएको होला । कोभिड १९ को असर आउनेबित्तिकै सुरुमा हामीले तयारी गरेका थियौँ । एम्बुलेन्स तयार राख्यौँ । क्वारेन्टिन तयार राख्यौँ । राहत बाँड्नमा केन्द्रित भयौँ । संघीय सरकारको तयारीभन्दा अघि हामी तयार भयौँ । चुनौती धेरै थियो तर पनि हामी एकाग्र भएर कोभिडसँग लड्न सफल भयौँ । धेरै जनतालाई अस्पताल लगियो, क्वारेन्टिनमा राखियो । २४ घण्टे सेवा दियौँ हामीले, सामान्य उपचारका लागि निशुल्क औषधि दियौँ । अहिले रोग नियन्त्रणमा आएको छ । कोभिडका विरुद्ध हामीले जित हासिल गरेको महसुस भइरहेको छ । 

तपाईंहरु आएपछि जनताले निकै खुशी हुनेगरी पाएका सेवा भन्नुपर्दा के के हुन् ?

अहिले स्वासथ्य सेवा निकै सुदृढ भएको छ । शिक्षामा नयाँ गति आएको छ । नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई ‘वान डोर’मा ल्यायौँ । सडक, बिजुली नभएका ठाउँमा त्यो पुगेको छ । ६० प्रतिशत जनतामा शुद्ध खानेपानी पुगेको छ । १२ मध्ये १० वटा वडा कार्यालय भवन बनेका छन् । भित्री सडक पिच भइरहेका छन् । पर्यटनलाई यत्तिकै महत्व दिएका छौँ । तालिम दिएर रोजगारी दिने कुरा अगाडि बढाएका छौँ । यस्ता थुप्रै योजनाको काम भएको र सुविधा पाएको जनताले महसुस गरेकै छन् । जनता खुशी छन् । हामीले यहाँ भन्नुभन्दा पनि तपाईं गाउँमा जाँदा जनता आफैँले भन्ने छन् कि, कति सुविधा पायौँ भनेर । नगरपालिकाभित्र संघ तथा प्रदेश सरकारका कस्ता योजनाहरु लागू छन् ?

संघीय र प्रदेश सरकारका पनि योजना छन् । ससर्त तथा साझेदारीका रुपमा योजना छन् । पूर्वाधार, लक्षित वर्ग सुशासनको कुरामा पनि साझेदारी छ । हामी तीनै तहका सरकार सहकार्य गरेर अगाडि बढिरहेका छौँ । धेरै साझा अधिकारका कानुन बनाउनु पर्नेछ । विभिन्न कानुनी कुराको बाधाका कारण जनताले भने अनुसारका काम गर्न नसकिएको अवस्था पनि छ । 

तत्कालीन समयमा नेपाली कांग्रेसबाट निर्वाचित तपाईंसँग उपमेयरसहित कार्यपालिका सदस्यहरु फरक दलबाट हुनुहुन्छ । धेरै ठाउँमा विवाद र काम गर्न असहज भएको पाइन्छ, यहाँको अवस्था के छ ?

हाम्रो नगरपालिकामा २२ जनाको कार्यपालिका छ । हामीले विभेदको नीति नै लिएका छैनौँ । हामी पार्टी विशेषभन्दा पनि जनता विशेष भएर काम गरिरहेका छौँ । ‘हामी जनताका, हाम्रा जनता’ भन्ने कुरालाई जोड दिएर काम गरिरहेका छौँ । त्यस्तो समस्या आएको छैन । कतै आइहाले पनि संवादका माध्यमबाट समाधान गर्छौँ । सामान्य बहस त हुने कुरा नै हो । हामी एकदम काममा कटिबद्ध छौँ । हाम्रो लक्ष्य काम गर्नु हो । त्यहीअनुसार मिलाएर अगाडि बढिरहेका छौँ ।

बजेट कसरी बिनियोजन गर्नुहुन्छ ?

नेपालको संविधान र कानुनअनुसार हामी बजेट विनियोजन गर्छौं । सबै वडालाई बजेट मिलाएर दिइरहेका छौँ । संघीयता कार्यान्वयनको पहिलो खुड्किलो वडा हो । जनतालाई सिधै सम्बोधन गर्ने वडाले हो । नगरले कानुन बनाउने हो । यसकारण हामीले नगरको ठूलो हिस्सा बजेट वडामा दिएका छौँ । वडाका जनतालाई वडाले नै बजेट दिन्छ । मैले नगरमा केही राखेको छैन । वडामा नै बजेट जाने हुँदा जनताले राम्रो प्रतिफल पाएका छन् । जनप्रतिनिधिलाई धेरै गुनासो पनि आउन्न । वडा बलियो भयो भने जनताले पनि सिधै विकास पाउनेछन् । वडा बलियो भयो भने संघीयता बलियो हुन्छ । 

तपाईंले त मेयरको पदभार ग्रहण गर्दा घरबाट काठको कुर्सी ल्याएर बस्नुभएको थियो किन सामान्य कुर्सी नै मन पराउनुभयो ?

पक्कै पनि म एक गरिबको छोरो हुँ । मैले के सन्देश दिन खोजेको हो भने, वास्तवमा यो देशमा अहिले पनि खान नपाएका, स्वास्थ्य सेवा नपाएका गरिब जनताहरु धेरै छन् । उनीहरुलाई खान लाउन नै पुग्दैन तर नेताहरुलाई ऐश-आराम चाहिन्छ । एक वर्ग खान नपाएर तड्पिरहेको हुन्छ भने अर्को वर्ग ऐश-आराम र बिलासितामा बाँचिरहेको हुन्छ । यस्तो हुनुहुन्न, जनताको सेवक भइसकेपछि सेवकजस्तै बन्नुपर्छ ऐश-आराम छोड्नुपर्छ भन्ने सन्देश दिनकै लागि म काठको कुर्सीमा बसेको हुँ । अहिले पनि काठकै कुर्सीमा बस्ने गरेको छु । 

यो देशका सबै राजनेतालाई मेरो आग्रह छ, हामी साधारण बनौँ । ठूलो कुर्सी नखोजौँ । एउटा गरिब मरिरहेको छ, गरिबको लास उठेको छैन । अनि नेताहरु कुर्सी खोज्दै जाने ? म भावी मेयरलाई पनि यही भन्न चाहान्छु । जनताको छोरो भएर चुनाव जितिसकेपछि जनताका हरेक काममा सहभागिता जनाउनुपर्छ । जनता मर्दा पुग्नुपर्छ, बिरामी हुँदा पुग्नुपर्छ अनि जनताबाट निर्वाचित भएको प्रतिनिधिले ‘राजाशैली’ अपनाएर भयो त । म गरिबको साथी हुँ । भविश्यमा पनि रहने छु । मेरो विगत चिकित्सक हो तर त्यतातिर म गइनँ । म गरिबको उत्थानमा लाग्ने छु । अझै सबैलाई न्यायिक ढोकामा ल्याउने लगायतका सबैखाले समस्या समाधान भएको छैन । तर पनि म गरिबको उत्थानमा केन्द्रित हुने छु । राजनेताहरुलाई जनता मालिक हुन्, जनता भन्दामाथि कोही होइनन् भनेर सन्देश पनि मैले दिन खोजेको छु । 

जनता कोभिडबाट मरिरहेका थिए । बाटो बनाउन बाँकी छ, सडक बनाउन बाँकी छ । शिक्षा स्वास्थ्यका कुरामा अझै गर्न धेरै बाँकी नै छ । युवाहरु विदेशबाट आएर ‘मेयर साप जागिर दिनुहोस्’ भनिरहेका छन् । अनि जनताका लागि काम गरेर उनीहरुलाई खुसी बनाउन छोडेर हामीले ऐश-आराम खोजेर भयो त ? म सबै नेताहरुलाई भन्छु- होसियार, जनता मालिक हुन् । जनताको हितविपरीत काम नगर्नुस् । सँधै चिल्ला गाडीमा मात्रै नचढी कहिलेकाँही जनतासगै सार्वजनिक बसमा पनि यात्रा गर्नुस् । म त भन्छु जो जनताका मनमा बस्न सक्दैन । उ नेता नै होइन । 

धेरै जनप्रतिनिधिहरु पैसा कमाएर जग्गा जमिन किन्नमा लागेका छन् । तपाईं महिनामा कति पैसा कमाउनुहुन्छ कति जम्मा गर्नुभाछ ?

एक कट्ठा जमिनमा घर बनाएको छु । अन्त कतै छैन । मसँग अकूत सम्पत्ति छजस्तो कसैलाई लाग्छ यदि भने जाँचबुझ गर्न सक्नुहुन्छ । संविधानअनुसार पाउनुपर्ने सेवा सुविधा भने म लिन्छु । त्यसैले मेरो खर्च चलिहाल्छ । म सबैलाई भन्छु, मबाट कुनै त्यस्तो गल्ति भएको छ भने जेल पठाइदिनुस् । नगरपालिकाको एउटा गाडी छ, त्यसमा चढेर गाउँघरतिर जान्छु । अरु केही छैन । बाँकी मेरो केही छैन । म चौबिसै घण्टा जनताको सेवामा हुन्छु । गरिब जनताहरुको जीवनस्तर उकास्न सकिएन भने जस्तोसुकै महलमा बसे पनि म खुशी हुन सक्दिनँ । त्यसैले म अझै पनि सडकमा झाडु लगाउँछु । डेढ सय रुपैयाँको जुत्ता लगाएर जनताको सेवामा जान्छु, म यसैमा खुशी छु । सबै जनप्रतिनिधिलाई कुनै स्वार्थ नराखेर काम गर्न आग्रह गर्छु ।

सम्बन्धित खबरहरु