कोभिड १९ अनुगमन समितिको प्रतिवेदन : स्वास्थ्य सामाग्री खरिदमा चरम भ्रष्टाचार
वि.सं.२०७७ फागुन ६ बिहीवार २३:२५
shares

नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितिले सरकारले कोभिड १९को स्वास्थ्य सामाग्री खरिद गर्दा चरम भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
डा. प्रकाशशरण महत संयोजक रहेको समितिले कोभिड–१९ को कुव्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरिदमा भएको व्यापक भ्रष्टाचार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड—१९ को कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक र सामाजिक क्षेत्रमा भएको व्यापक प्रभावका कारण नागरिकहरुको जीवन अस्तव्यस्त भएको स्थिति सर्वविदित छ । यस्ता प्रभावहरुलाई न्यून गर्न राहत र सहयोग सम्बन्धी कार्ययोजना ल्याउन गरेको नेपाली कांग्रेसको मागलाई पनि सरकारले वेवास्ता ग¥यो । सरकारले ल्याएको सिमित आर्थिक प्याकेज पनि कागजमा सिमित भए । भ्रष्टाचार र दुरुपयोग गर्ने माथि सम्बन्धित निकायहरुले कारवाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता देखाएका छैनन् भने सरकार यी प्रवृत्तिमा संग्लन व्यक्तिहरुलाई झन् प्रोत्साहित गर्दैछ ।’
सरकारको चरम उदासिनता र लापरबाहीका बावजुद कोभिड–१९ को प्रभाव समाजमा कम हुँदै गएको देखिए पनि अझै यसको प्रकोप समाप्त नभएको समितिले जनाएको छ । अन्य देशहरुमा देखा परेको गम्भीर प्रकृतिको कोभिड–१९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भीर नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
कोभिड–१९ विरुद्ध आम जनतालाई खोप लगाई स्थायी रुपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना ल्याएको नल्याएको समितिको आरोप छ । ‘छिमेकी राष्ट्र भारतबाट सहयोग स्वरुप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन । अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा सञ्चारकर्मीहरुलाई खोपमा प्राथमिकता उपयुक्त हो । तर ज्येष्ठ नागरिकहरुलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नु पर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ । सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जन–आशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको खबरहरु आइरहेका छन् । यसप्रति नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’ विज्ञप्तिमा भनिएको छ ।
भविष्यमा पनि अन्य देश र संस्थाहरुबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकताअनुरुप खरिद गरी खोप ल्याउँदा विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेका खोपहरुलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग नेपाली कांग्रेस माग गरेको छ । कोभिड १९ लाई रोक्न आवश्यकताअनुरुप आम नागरिकहरुमा खोप पु¥याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न नेपाली कांग्रेस माग गरेको समितिका संयोजक डा. प्रकाशशरण महतले बताए ।
‘खोप सम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतहरुबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरीदबाट प्राप्त गर्नुपर्ने भए त्यसको पारदर्शी खरिद प्रक्रिया बारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनुपर्ने हुन्छ ।’ उनले भने । खोपको आवश्यक रेफ्रिजरेसन सहितको भण्डारण र त्यसको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथ खोप कार्यक्रमको देशव्यापी कार्यतालिका र खोप प्राप्त गर्ने जनसंख्याको प्राथमिकता क्रमको विस्तृत विवरण सार्वजनिक गर्नसमेत कांग्रेसले माग गरेको छ ।

























