गृहपृष्ठ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति
उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति

सुक्खा मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा पिउने पानी अभाव चर्किन थालेको छ । मागभन्दा तेब्बर कम आपूर्तिका कारण समस्या हरेक वर्ष उकालो लागिरहेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले पिउने पानीको दैनिक माग ३७ करोड ५० लाख लिटर छ । तर, आपूर्ति दैनिक १३ करोड लिटर मात्र छ । मंसिरको अन्तिम साता चल्दै गर्दा काठमाडौंको ‘काकाकुल’ अवधि पनि शुरु भइसकेको छ ।
दैनिक आपूर्ति हुने पानीमध्ये ४० प्रतिशत अर्थात् पाँच करोड २० लाख लिटर त पाइपलाइनबाट चुहिएरै खेर जान्छ । बाँकी सात करोड ८० लाख लिटरले राजधानी शहरको माग धान्न सक्ने कुरै भएन ।
चुहावटको उक्त तथ्यांक केयूकेएलले नै केही समयअघि गरेको अध्ययनबाट तयार भएको हो । उपत्यकाको जनसंख्या २७ करोडलाई आधार मान्दा प्रतिव्यक्ति दैनिक उपलब्धता २८ लिटर छ । जबकि, उपत्यकामा एक व्यक्तिलाई दैनिक सरदर एक सय ३८ लिटर पानी आवश्यक हुने केयूकेएलकै भनाइ छ ।
पानीका पाँच स्रोत
केयूकेएलका प्रवक्ता सुरेशराज आचार्यका अनुसार उपत्यकाका वितरण हुने पिउने पानीका पाँच वटा प्राकृतिक स्रोत छन्, शिवपुरी, फर्पिङ, सुन्दरीजल, मनोहरा र भक्तपुर । तिनै स्रोतबाट जोहो हुने पानी भण्डारण गरेर घर-घरमा पुर्याइने गरेको छ ।
सरकारले मागअनुसार आपूर्ति दिन नसकेपछि उपत्यकामा पानीको व्यापार पनि उत्तिकै चलेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरमार्फत् पाँचदेखि ६ करोड लिटर पानी आपूर्ति हुन्छ । यस्तै, जारमार्फत् २० लाख र बोतलमार्फत् करिब अढाइ लाख लिटर पानी व्यवसायीले बिक्री गर्दै आएका छन् ।
ट्युबवेल, प्राकृतिक धारा, कल र बोरिङबाट पनि उपत्यकावासीले आवश्यकता टार्दै आएका छन् ।
सधैंको अभाव
केयूकेएलका अनुसार काठमाडौंमा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिन्छ । आवादी बाक्लिन र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको हाहाकार हुन थालेको हो, उपत्यकामा । अभावले शिखर चुमेको भने एक दशकयता हो ।
तथापि, त्यसअघि पनि पर्याप्त उपलब्धता थिएन । ढुंगेधाराहरुबाट मानिसले आवश्यकता पूरा गर्दै आएका थिए । दशकयता भने अधिकांश ढुंगेधारा सुकिसकेका छन् । सोही कारण उपत्यकाका बासिन्दा ट्यांकर र जारको पानीमा निर्भर रहनुपर्ने अवस्था आएको हो ।
केयूकेएल प्रवक्ता आचार्यका अनुसार असार, साउन र भदौबाहेक नौ महिनामा उपत्यकामा पानी अभाव चर्को रहन्छ ।
वर्षायाममा दैनिक करिब १४ करोड लिटर केयूकेएलमार्फत् वितरण हुन्छ, उपत्यकामा । चर्को सुक्खायाम मानिने चैत-वैशाखतिर उक्त परिमाण नौ करोड लिटरमा सीमित रहन्छ ।
अहिले उपभोक्ताले तीनदेखि आठ दिनमा एकचोटी पानी पाउँछन् । चैत-वैशाखतिर दुई साता बित्दा पनि उपभोक्ताका धारामा पानी खस्दैन ।
पुस ०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पानी आपूर्तिको अवस्थामा सुधार ल्याउन केयूकेएललाई १७ बुँदे निर्देशनसमेत नदिएका होइनन् । वितरण प्रणालीमा खानेपानी संस्थानको बदमासी नै औंल्याएका थिए, दाहालले । उक्त निर्देशन भने कागजमै सीमित बन्यो, केयूकेएलले कार्यान्वयनमा ल्याएको छैन, अझै ।
चुहावट नियन्त्रणमा बेवास्ता
पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समस्या मात्र होइन । मिटरमा बिल नउठ्ने समस्या पनि त्यसैमा पर्छ । खासगरी, पुराना संरचना र पाइपका कारण ठूलो परिमाणमा पानी खेर जाने गरेको केयूकेएलले बताउँदै आएको छ ।
प्रवक्ता आचार्यका अनुसार उपत्यकामा घर-घरमा पानी पुर्याउने कतिपय पाइपलाइन सय वर्षभन्दा पुराना पनि छन् । ‘यसलाई नयाँ संरचनाले प्रतिस्थापन नगरेसम्म खानेपानी चुहावट रोक्न सकिन्न,’ आचार्य भन्छन् ।
मेलम्चीको पानी ल्याउने प्रयास अन्तिम चरणमा रहेकाले पूराना पाइपलाइन प्रतिस्थापन गरेर नयाँ जडान भइरहेको छ । उक्त काम सकिएपछि पाइपलाइनबाटै पानी खेर जाने समस्या कम हुनेमा केयूकेएलका अधिकारीहरु विश्वस्त देखिन्छन् ।
उपभोक्ताले तोकिएको मापदण्डभन्दा उचाइमा धाराहरु जडान गरेकाले पनि चुहावट नियन्त्रण हुन नसकेको केयूकेएलका अधिकारीहरु बताउँछन् ।
पहुँचवाला उपभोक्तालाई प्राथमिकता दिएर पानी वितरण गर्ने गरेको आरोपबाट पनि मुक्त छैन, केयूकेएल । कर्मचारीहरुले नै चुहावटलाई प्रश्रय दिएको आरोप पनि लाग्दै आएको छ ।
पर्खाइ मेलम्चीको
उपत्यकाको पानी अभाव टार्ने एक मात्र विकल्प देखिन्छ, मेलम्ची आयोजना । आयोजना निर्माणको समय सीमा थपिएको थपियै गर्दा काठमाडौंवासीको आशा ‘आकाशको फल’ बन्दै आएको छ । आगामी दशैंसम्ममा मेलम्चीको पानी उपत्यकावासीका धारा खसालिसक्ने सरकारी लक्ष्य छ ।
आर्थिक वर्ष ०५५/५६ देखि निर्माण शुरु भएको उक्त आयोजना दुई दशक बित्न लाग्दा पनि अझै संशयमै देखिन्छ ।
शुरुमा चक्रपथभित्र मात्रै वितरण गर्ने तयारी गरिएको आयोजनाको पानीका लागि अहिले पाइप बिच्छ्याउने र संरचना निर्माणको काम धमाधम छ ।
मेलम्ची आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ । यसले काठमाडौंको पानीको अभाव परिपूर्ति गर्ने केयूकेएलको दाबी छ ।
त्यसबाहेक सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट पनि थप १७/१७ करोड लिटर पानी ल्याउने तयारी पनि छ ।
यस्तै, एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहायतामा सरकारले चक्रपथ बाहिर थप पानी वितरणका लागि भण्डारण, प्रशोधन केन्द्र र पाइपलाइन विस्तारको अध्ययन पनि अगाडि बढाएको छ ।
त्यसका लागि शिवपुरी, फर्पिङ र भक्तपुरमा पूर्वाधार निर्माणका लागि निजी क्षेत्र डिजाइन निर्माणाधीन रहेको केयूकेएलले जनाएको छ । उक्त आयोजनाको लागत करिब एक अर्ब रहने अनुमान रहेको प्रवक्ता आचार्य बताउँछन् । र, आगामी चार वर्षमा उक्त आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य देखिन्छ ।
प्रकाशित समय : २२:३५ बजे