nmb bank

गृहपृष्ठ रहरकाे दालले मूल्य पाएन

रहरकाे दालले मूल्य पाएन

रहरकाे दालले मूल्य पाएन

उदयपुर -उत्पादन लागतअनुसारको मूल्य नपाउँदा रहर दाल उत्पादक किसान मारमा परेका छन् । महाभारतको तल्लो क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत रहर दाल पनि हो । तर, उत्पादन लागतकै मूल्यमा दाल बिक्री गर्नुपर्दा किसान समस्या छन । बिहीबार बेल्टार बजारमा रहर दालप्रति किलोग्राम ५५ रुपैयाँले खरिद बिक्री भएको छ । ५५ रुपैयाँमा बिक्री गर्नुपर्दा घाटा भएको किसानले बताए ।

कटारी, त्रियुगा, चौडण्डीगढी र बेलका नगरपालिका पर्ने महाभारत पहाडको तल्लो क्षेत्रका किसानको आम्दानीको स्रोत नै घटेपछि समस्यामा परेका छन् । तोरीको विकल्पमा किसानले वर्षौंदेखि रहर खेती गर्दै आएका छन् । तोरी उत्पादनबाट लागतभन्दा दोब्बर मूल्य पाउने गरे पनि उत्पादन हुन छाडेपछि विकल्पमा रहर दाल लगाउन थालिएको किसान बताउँछन् । तराई क्षेत्रमा पाइनेभन्दा उच्चकोटीको रहर महाभारतको तल्लो क्षेत्रमा हुने गरेको किसानले बताए । त्यसैले बजारमा मागसमेत बढ्दै गएको थियो । मागसँगै मूल्य पनि राम्रो हुँदै जाँदा खेतीसमेत बढाएको चौडण्डीगढी ६ का किसान मानबहादुर राउतले बताए ।

गत वर्ष यसै समयमा १ सय ५० रुपैयाँ प्रतिकिलोसम्म रहर बिक्री भएको राउतले बताए । ‘पोहोर गोटा रहर दाल १ सय ५० रुपैयाँ किलोसम्म बेल्टार बजारमा बिक्री भएको थियो,’ उनले भने, ‘तर, यो वर्ष महिना दिनदेखि ५५ रुपैयाँभन्दा बढी भएको छैन ।’ एक किलो रहर दाल उत्पादन गर्न बीउ, मल, मजदुरी र रेखदेखसम्मको खर्च जोड्दा ८०/९० रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।

बेल्टार बजारमै तयारी रहर दाल १ सय २० रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको छ । बाहिरबाट आयातित तयारी दाल १ सय २० रुपैयाँ हुँदा स्थानीयले उत्पादन गरेर गोटा दाल ५५ रुपैयाँमा समेत बिक्री गर्न समस्या भएको किसानले गुनासो गरेका छन् ।

बजारमा रहर मात्रै होइन मुसुरो, मास, मस्याम, राजमालगायत दलहन (दाल) को मूल्य उच्च छ । कुनै पनि दाल प्रतिकिलो १ सय ४० रुपैयाँभन्दा कम मूल्यमा पाइँदैन । तर, किसानले उत्पादन गरेको दालको मूल्य भने ५५ देखि ७५/८० रुपैयाँभन्दा बढी नभएको त्रियुगा नगरपालिका १४ का किसान नरमान राईले बताए ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु