गृहपृष्ठ ६ महिनामा साढे १४ अर्ब विदेशी लगानी भत्रियाे
६ महिनामा साढे १४ अर्ब विदेशी लगानी भत्रियाे
अघिल्लाे वर्षभन्दा दाेब्बर
काठमाडौँ -चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब साढे १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ९४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएको लगायत कारणले एफडीआई बढेको जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ एफडीआई भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो झन्डै २ गुणा बढी हो । ०७३ कात्तिकसम्म ७ अर्ब ३९ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको देखिन्छ ।
पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएको लगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ । एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेको लगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने जानकारहरू बताउँछन् ।
मुलुकमा लगानीको वातावरण सुध्रिँदै गएपछि लगानीकर्ताको आत्मबल बढेकाले विदेशी लगानी उल्लेख्य रूपमा बढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सरकार तहबाट पनि देश विदेशमा लगानी प्रवद्र्धनका लागि विभिन्न प्रयासहरू भएकाले विदेशी लगानी बढेको उनको भनाइ छ । ‘आउँदा दिनमा यो क्रम झनै बढ्छ,’ उनले भने, ‘मुलुकमा अत्यावश्यक पूर्वाधारहरूको विकास भएको छ भने राजनीतिक अवस्था स्थिरताको चरणमा छ, यही कारण विदेशी लगानी बढेको हो ।’
एफडीआई बढ्नु धेरै सकारात्मक पक्ष भए पनि मुलुक भित्रिएको रकमलाई क्षेत्रगत वर्गीकरण गरेर हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । ‘नयाँ लगानी आएको हो या पुरानैमा थपिएको हो ? पुरानामा थपिएको भन्दा नयाँ लगानी आएको धेरै राम्रो हुन्छ । यसकारण वास्तविक रूपमा भित्रिएको लगानी हेरेर मात्र यथार्थ विश्लेषण गर्न सकिन्छ,’ उनले भने । रकम कम भए पनि नयाँ लगानीका लागि विदेशी रकम आएको भए त्यसले विश्व बजारका लगानीकर्तासामु राम्रो सन्देश लाने भएकाले दीर्घकालमा लाभदायक हुने उनले बताए । ‘कम्तीमा एफडीआई बढेको छ र शोधनान्नर घाटा धेरै फराकिलो हुन पाएको छैन, अन्यथा परिस्थिति साह्रै नाजुक हुन्थ्यो,’ उनले भने ।
हालसम्म भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको राष्ट्र बैंकको तथ्यांक छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।
उद्योग विभागको तथ्यांकअनुसार गत वर्ष १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो । विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गरेर अनुमति लिनुपर्छ ।
गत कात्तिकसम्म नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी होङ्सी शिवम् सिमेन्टमा आएको छ । उक्त कम्पनीमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंकको तथ्यांक छ । यसैगरी मादी पावरमा करिब २ अर्ब र सोलु हाइड्रोमा करिब साढे १ अर्ब रुपैयाँ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा करिब६८ करोड विदेशी लगानी आइसकेको छ ।
गत कात्तिकसम्म सिल्भर हेरिटेज इन्भेस्टमेन्ट र भृकुटीदेवी इनिसिएटिभमा क्रमश: ६१ करोड ६४ लाख र ५० करोड २२ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रकाशित समय : १०:५७ बजे