काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कञ्चनजंघा संरक्षण क्षेत्रमा २९ वटा समूह गठन

19.51K
shares

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत ११८ समूहमध्ये मंगलबारसम्म २९ समूह गठन भएको छ । परिषद्अन्तर्गत प्रमुख ७ उपभोक्ता समिति रहेका छन् । सात उपभोक्ता समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी ११८ समूह रहेका छन् । परिषद्को पाँच वर्ष कार्यावधि र थप एक वर्ष कार्यावधि गत जेठ २८ मा समाप्त भएपछि परिषद्सँगै सबै समूह विघटन भएको थियो ।

फक्ताङलुङ गाउँपालिका- ६ अन्तर्गत लालीगुराँस उपभोक्ता समितिभित्र १४ मध्ये चार समूह निर्वाचन प्रक्रियाबाट र पाँच समूह सहमतिबाट गठन भएको छ । लालीगुराँस उपभोक्ता समितिअन्तर्गत आमा समूह १३ छन् । तीमध्ये एउटा निर्वाचन प्रक्रियाबाट र पाँच सहमतिबाट गरी कूल ६ आमा समूह गठन भएका छन् ।

सामुदायिक वन उपभोक्ता समूह नौ मध्ये तीन निर्वाचन प्रक्रियाबाट र तीन सहमतिबाट गरी कूल छ सामुदायिक वन उपभोक्ता समूह गठन प्रक्रिया पूरा गरेको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण व्यस्थापन परिषद्का कार्यक्रम साहायक जीतेन चेम्जोङले बताए । उनले आमा समूह दुई, उपभोक्ता समूह एक र सामुदायिक वन दुई गरी कूल पाँच समूह आज गठन हुने जानकारी दिए ।

यसैगरी सिरिजंघा गाउँपालिकाअन्तर्गत कञ्चनजंघा उपभोक्ता समितिमा पाँच समूहमध्ये दुई सहमति प्रक्रियाबाट गठन भएको छ । आमा समूह चारमध्ये दुई सहमति प्रक्रियाबाट गठन भएको परिषद्का लेखा अधिकृत मनकुमार लिम्बूले जानकारी दिए । कञ्चनजंघा उपभोक्ता समितिमा आज एक आमा समूह र एक सामुदायिक वन गरी दुई समूह गठन हुने उनले जानकारी दिए । परिषद्को सात उपभोक्ता समितिअन्तर्गत उपभोक्ता समूह ४६, आमा समूह ३८ र सामूदायिक वन उपभोक्ता समूह ३४ रहेका छन् ।

गत पुस १७ देखि माघ ८ गतेसम्म परिषद् अध्यक्षको निर्वाचन हुने समय तालिकामा उल्लेख छ । निर्वाचन प्रक्रियाबाट संरक्षण क्षेत्र व्यस्थापन परिषद्को अध्यक्ष निर्वाचित भएपछि परिषद्को गठन प्रक्रिया पूरा हुनेछ । कोरोना संक्रमण जोखिमका कारण परिषद्को गठन प्रक्रिया रोकिएको थियो । गत १७ पुसदेखि ८ माघसम्ममा परिषद् गठन सम्पन्न गर्ने तयारी रहेको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । (रासस)