गृहपृष्ठ नेकपा दर्ता प्रक्रियाः अन्डरलाइन हट्यो, (नेकपा) थपियो, निर्वाचन चिह्न- ‘सूर्य’
नेकपा दर्ता प्रक्रियाः अन्डरलाइन हट्यो, (नेकपा) थपियो, निर्वाचन चिह्न- ‘सूर्य’
काठमाडाैं- नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दर्ता गरेको १५औं दिनमा नामको पछाडि (नेकपा) थप गर्दै दोस्रो निवेदन दर्ता गरेको छ । यसअघिको नेपाल कम्युनिस्ट पार्टीको नामसँगैको अन्डरलाइन हटाएर नेकपा थप गरिएको हो । उसले निर्वाचन चिह्न सूर्य राख्न दोस्रोपटक निवेदन दर्ता गरेको छ ।
गत ३ जेठमा पार्टी एकतापछि दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको नवगठित दल नेकपाले बिहीबार आयोगमा बुझाउन बाँकी सबै कागजातसमेत बुझाउँदै नामका पछाडि (नेकपा) थपेको हो ।
आयोगमा कानुनी पाटो हेर्ने उपन्यायाधिवक्ता घनश्याम ओझाले दल दर्ताका लागि आवश्यक केही कागजात, बाँकी केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकताको नक्कलसहितका आवश्यक सबै कागजात प्राप्त भएको बताए ।
उनले पहिले निवेदन दर्ता गर्दा दिइएको नाममा परिमार्जन गर्दै अन्डरलाइनको साटो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्नेगरी निवेदन दर्ता भएको समेत जानकारी दिए ।
‘आयोगमा पहिले दर्ता गरेको निवेदनअनुसार दलको नाममा केही परिमार्जन गरेर अर्को निवेदन दर्ता भएको छ, दलको नामबाट अन्डरलाइन हटेको छ भने नामको पछाडि (नेकपा) राख्ने निर्णयसहितको पत्र आयोगलाई आएको छ,’ ओझाले भने ।
उनले दलको निर्वाचन चिह्न सूर्य र झन्डा हँसिया हथौडा राख्नेगरी आयोगलाई सो बारेको नमुनासमेत प्राप्त भएको जानकारी दिए । उपन्यायाधिवक्ता ओझाले आयोगले सबै कागजात प्राप्त गरेसँगै प्राप्त कागजातका विषयमा चेकजाँच गर्ने काम गरिरहेको भन्दै दलको नामबारे छिट्टै निर्णय लिने जानकारीसमेत दिए ।
नेकपाका नेता सुवासचन्द्र नेम्वाङले समेत आयोगमा दलको नामबाट अन्डरलाइन हटाएर नमको पछाडि (नेकपा) राखेर अर्को निवेदन दर्ता गरिएको बताएकाे अाजकाे राजधानी दैनिकका समाचार छ । निर्वाचन चिह्नसमेत सूर्य राखिएको उनले जानकारी दिए ।
तर, दल दर्ताका लागि आवश्यक पर्ने ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भने नवगठित दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोगमा पु¥याएको छैन । तर, महाधिवेशनपछि महिलाको प्रतिनिधित्व बुझाउने सर्तमा आयोगले सहमति दिन सक्ने बुझिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीले ३ जेठमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाममा अन्डरलाइन थपेर दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगमा सोही नाममा अर्को दल दर्ता रहेको सूचनापछि दलको नाममा अन्डरलाइन थपिएको थियो । आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि पदाधिकारीलाई जानकारी गराउने र त्यसपछि आयोगको बैठकले सोबारे निर्णय गर्ने बताएको छ ।
प्रकाशित समय : १३:३५ बजे


















