global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओलीको चीन भ्रमण : उत्तरी अाठ नाका खोल्ने गरी चीनसँग सम्झौता हुने

ओलीको चीन भ्रमण : उत्तरी अाठ नाका खोल्ने गरी चीनसँग सम्झौता हुने

ओलीको चीन भ्रमण : उत्तरी अाठ नाका खोल्ने गरी चीनसँग सम्झौता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तिब्बत राजमार्गमा आठवटा सीमा नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाअनुसार प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा तिब्बतको राजमार्गका आठवटा सीमा नाका खाद्यान्न ढुवानीका लागि खोल्न सहमति हुने दाबी गरे ।

प्रधानमन्त्री ओली मंगलबार चीनको राजकीय भ्रमणमा निस्कदैछन् । प्रधानमन्त्री ओली हिमालयन एयरलायन्सको विमानबाट चीन जानेछन् । ‘खाद्यान्न ढुवानी गर्न र नेपालको सामान निर्यात गर्ने प्रयोजनका लागि बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुई र हुम्लाको हिल्सामा एक व्यापारीक नाका खोल्ने विषयमा प्रधानमन्त्रीको भ्रमणमा हस्ताक्षर हुनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । उनले प्रधानमन्त्रीको भ्रमणले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दाबी पनि गरे ।

यसैगरी, केरुङ–काठमाडौंलगायत क्रस बोर्डर रेलमार्ग निर्माणसम्बन्धी सहमतिमा समेत हस्ताक्षर हुने भएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने र रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्रीपुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् २०१६ मा प्रधानमन्त्री ओलीले चीन भ्रमणका समयमा गरेका सम्झौता कार्यान्वयन गर्ने विषयमा भ्रमण केन्द्रित रहने परराष्ट्रमन्त्री ज्ञवालीले जनाए । हरेक भ्रमणमा सहमति हुने तर त्यसको कार्यान्वयनका विषयमा कुनै छलफल नै नहुने गरेकोले अबदेखि विगतका सहमति कार्यान्वयनको अवस्थाबारे पनि छलफल गर्ने प्रचलन ओलीले भारत भ्रमणका क्रमदेखि नै शुरु गरेका हुन् ।

यसैगरी, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा साझेदारीलगायतका विषयमा हुने सम्झौतामा प्रधानमन्त्रीको भ्रमणका क्रममा हस्ताक्षर हुने बताइएको छ ।
सातवटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । यस्तै पुनर्निर्माणका लागि चीनले उपलब्ध गराउने १६ अर्ब चिनियाँ युआन नेपालको हित र स्वार्थको परियोजनामा लगानी गर्ने सम्झौता पनि हुने भएको छ । हजार मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका तीन प्रोजेक्ट र कृषिमा पार्टनरसिप गर्ने विषयमा पनि सहमति हुनेछ ।

समुद्री बन्दरगाह र सुक्खा बन्दरगाहको प्रयोग, सहज एवं सर्वसुलभ सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर बिछ्याउनेलगायतमा चीनको लगानी हुने भएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, पराष्ट्रमन्त्री ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठ रहेका छन् । त्यसैगरी, ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित केही उच्चपदस्थ कर्मचारीसमेत चीन जाँदैछन् ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु