गृहपृष्ठ अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगिता छनोट सुरु
अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगिता छनोट सुरु
कर्णालीको राजधानी सुर्खेतमा अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगिता २०१८ को छनोट कार्य सुरु भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा भएको छनोट मंगलबारसम्म चल्नेछ । प्रतियोगितामा कर्णालीका १० मध्ये सात जिल्लाका खेलाडी सहभागी छन् ।
दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका एक सय २८ जना खेलाडी छनौट प्रतियोगितामा भाग लिएका छन् । तीन वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिता देश संघीयतामा गएपछि भने पहिलोपटक हुन लागेको हो । छनोट प्रतियोगितामा पुरुष युगल ३९ र एकल २२ खेल हुनेछन् । यस्तै, मिक्स (महिला र पुरुष) युगल चार, १९ वर्षमुनिका पुरुष १२, महिला चार र महिला एकल चार खेल हुनेछन् । छनौट प्रतियोगिताबाट छानिएका १६ खेलाडी साउन ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा हुने इन्टरनेसनल ब्याटमिन्टन प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रतियोगीताको छनौटको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री दल रावलले अनुशासित र स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको बताए । कर्णाली प्रदेशमा प्रदेश स्तरीय रंगशाला निर्माणको प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी दिए ।
प्रकाशित समय : २३:०९ बजे




















