global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रुपन्देहीमा तीन महिनादेखि अपांगता परिचयपत्र वितरण ठप्प

रुपन्देहीमा तीन महिनादेखि अपांगता परिचयपत्र वितरण ठप्प

रुपन्देहीमा तीन महिनादेखि अपांगता परिचयपत्र वितरण ठप्प

बुटवल उपमहानगरपालिका–७, दिपनगरबाट केही दिनअघि अपांगता परिचयपत्रका लागि वडा कार्यालयबाट कमला रोकाले सिफारिस बनाइन् । वर्षौंदेखि नगरमा बस्दै आएकी उनको अपांगता परिचयपत्र बनेको छैन । परिचयपत्र नभएकै कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट उनी वञ्चित छिन् ।
बुटवल उपमहानगरपालिकाको सिफारिस बने पनि उनको त्यहाँ परिचय पत्र बनेन । उनी सरासर गुनासो राख्न महिला तथा बालबालिका कार्यालय भैरहवा पुगिन् । तर, त्यहाँ पनि रोका निराश हुनुपर्यो । कार्यालयका कर्मचारीले ‘अब पालिकास्तरमै परिचय पत्र बन्छ, उहीँ जानुस्’ भन्दै उनलाई फिर्ता पठाइदिए । यो एउटा उदाहरणमात्रै हो ।
स्थानीय तहमै महिला तथा बालबालिका कार्यालय गएपछि त्यहीँबाट अपांगता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्रलगायत वितरण गर्ने भनिए पनि २०७४ चैत २८ गतेदेखि अपांगता परिचयपत्र वितरण गरिएको छैन । जिल्लास्तरमा रहेका प्राविधिकसहित विभिन्न सातवटा कार्यालय स्थानीय तहबाटै कार्य सम्पादन गर्ने गरी सरकारले नीति ल्याएको छ । तर, स्थानीय तहमा गएका ती कार्यालयले हालसम्म कुनै पनि ठोस काम गर्न सकेका छैनन् । अपांगता परिचयपत्र पनि त्यसकै सिकार बनेको हो ।
महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमुख महिला विकास अधिकृत शारदा बस्यालले सरकारको निर्देशनअनुसार नै परिचयपत्र वितरण रोकिएको बताएन् । ‘केन्द्रको कानुनलाई आधार मानेर हुन्छ या नयाँ कानुन निर्माण गरेर हुन्छ, स्थानीय तहबाट जतिसक्दो छिटो परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउँदै छौं, उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले पनि छिट्टै बैठक बोलाएर अपांगता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिइने बताए । ‘कानुन अभावमा ढिलाइ भएको हो, छिट्टै समस्या समाधान गरी वितरण गर्न थाल्छौं,’ उनले भने ।
रुपन्देहीमा ५ हजार ८ सय अपांगता भएका व्यक्तिले परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयलाई अख्तियारी दिनुभन्दा पहिला २७ सयवटा अपांगता परिचय पत्र वितरण गरिएको छ । स्थानीय तहमातहत आइसकेपछि ३ हजार १ सय २१ वटा परिचयपत्र वितरण भएका छन् । गत वर्ष पनि भदौदेखि असारसम्म अपांगता परिचय पत्र वितरण हुन नसक्दा सयौं सेवाग्राही प्रभावित भएका थिए ।

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु