गृहपृष्ठ फेला पर्ला त गौतम बुद्धकी सानिमाको दरबार !
फेला पर्ला त गौतम बुद्धकी सानिमाको दरबार !
पुरातत्व विभागले रुपन्देहीको शुद्धोधन गाउँपालिका–५, मानपकडी दर्बाह क्षेत्रमा रहेको भुवनेश्वरी कोटहीमाई मन्दिरपरिसरमा उत्खनन् सुरु गरेको छ । आइतबारबाट सुरु गरेको विभागले प्रारम्भिक उत्खनन् जारी राखेको हो ।
लुम्बिनीको मायादेवी मन्दिरपरिसरमा भेटिएको जस्तो पातलो खालको इँट्टा उत्खनन क्षेत्रमा स्थानीयहरुले देखिएको भन्ने सूचना आधारमा उत्खनन् गरिएको विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले जानकारी दिए । उनका अनुसार अहिले तीन फिट चौडाइ ५ फिट लम्बाई क्षेत्रमा विभागले उत्खनन् जारी राखेको छ ।
गौतम बुद्धकी सानिमाको दरबार रहेको भन्ने अनुमानमा पुरातत्व विभागले उत्खनन कार्य जारी राखेको हो । केही समय पहिला डेढ बिघा क्षेत्रफलमा रहेको मन्दिरपरिसरमा स्थानीयले सामाजिक भवन निर्माणका लागि जग खन्दा पुरानो लुम्बिनीमा रहेको जस्तै विभिन्न आकृतिका इँट्टा फेलापरेका थिए । त्यसपश्चात विभागले उक्त स्थान वरपर कुनै पनि भौतिक पूर्वाधार निर्माणमा रोक लगाएको थियो । आइतबार आएको विभागका चारजना अधिकृतस्तरका कर्मचारीसहितको टोलीले करिब १५ दिनसम्म उक्त स्थानमा उत्खनन् गर्नेछ ।
भुवनेश्वरी दर्बाह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विपिन कुर्मीका अनुसार प्रत्येक कात्र्तिक पूर्णिमाका दिनदेखि उक्त स्थानमा पाँच दिनसम्म रातदिन मेला लाग्ने गर्छ । स्थानीयले आफूले गरेको भाकल पूरा भएपछि मन्दिरमा सिमेन्टको हात्ती बनाएर चढाउने गरेको पाइन्छ ।
प्रकाशित समय : ०१:४७ बजे




















