गृहपृष्ठ दुर्गा प्रसाईंविरुद्ध उभिए कांग्रेस महिला
दुर्गा प्रसाईंविरुद्ध उभिए कांग्रेस महिला
झापाको बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका महिला सांसदहरुले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
यसरी प्रस्ताव दर्ता गराउनेमा डिला संग्रौला, लक्ष्मी परियार र प्रमिला राई छन् । प्रसाईँले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका नेपाली चेली अस्मीता बेचेर प्रमाणपत्र लिइरहेको बताएका थिए । यसरी नेपाली चेलीबारे सार्वजनिक रुपमा प्रसाईँले लिएको अभिव्यक्ति संविधान र कानुनको बर्खिलाप रहेको प्रस्तावक संग्रौलाले बताइन् । ‘यो् सरासर असंवैधानिक र गैरकानुनी छ,’ उनले भनिन्, ‘त्यसैले हामीले संसदको ध्यानाकर्षण गराएका हौँ ।’
प्रस्तावमा भनिएको छ, ‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ ।’
प्रकाशित समय : २१:१२ बजे


















