पोखरा रंगशाला निर्माणका लागि भारत र चिनियाँ कम्पनीको टेण्डर
वि.सं.२०७५ साउन १५ मंगलवार १४:५३
shares

पोखरामा अन्तर्राष्ट्रिय फुटवल मैदानसहित प्याराफिट निमार्णको लागि फेरि पनि दुई वटा पुरानै कम्पनीले टेण्डर हालेका छन । रष्ट्रिय खेलकुद परिषदले एक महिना अघि आह्वान गरेको टेण्डरमा भारत र चाइनाका पुरानै कम्पनिले टेण्डर हालेका राखेपले जनाएको छ ।
रङशाला निर्माणका लागि प्रस्ताव पेश गर्नेमा चाइनाको सिएमइ कन्स्ट्रक्सन् प्रोजेक्ट बेइजिङ कम्पनी लिमिटेडले नेपालको सि.ए.बी कन्सट्रक्सन् एचडी. लि.जावलाखेल ललितपुरसँगको जोइन्ट भेन्चरमा तथा भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा प्रस्ताव गरेका राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनीयर विश्वमित्र सञ्जेलले बताए । दुबै कम्पनी नेपाली जोइन्ट भेन्चर कम्पनीसँग आवद्ध हुन् ।
करिब ६ महिना अघि गरिएको टेण्डरमा विभिन्न कम्पनिले टेण्डर प्रस्ताव पेश गरे पनि मापदण्डका आधारमा हाल टेण्डर प्रस्ताव पेस गरेको भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डिया मात्रै छनौट भएको हुँदा पुनः टेण्डर आव्हान गरिएको हो ।
अघिल्लो पटकमा प्राविधिक बिषयको आधारमा हेर्दा कम्तीमा दुई वटा कम्पनीबीचको प्रतिस्पर्धा हुनु पर्ने भए पनि यस पटकको टेण्डरमा भने प्राविधिकसहित आर्थिक बिषयको माग गरिएकोले यसपटक एउटा मात्रै कम्पनी मापदण्डमा परेको हो ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा महिला फुटबल आयोजना गर्ने गरि परिषदले करिव १ अर्ब ३८ करोडको लागतमा निर्माण गर्न लागेको फुटबल स्टेडियम सम्पूर्ण प्रकृया पूरा भएसँगै निर्माणको सुरु भएको छ महिनाभित्र पूरा हुने भएको छ ।
आगामी १५ देखि २० दिन भित्र दुबै कम्पनीको प्राविधिक मुल्याङ्कन हुने उनले बताए । प्राविधिक मुल्याङ्कन पछि मात्रै आर्थिक प्रस्ताव हेरिने र जसले कम मुल्याङ्कनमा विडिङ गरेको छ उसैलाई रंगशाला निर्माणको जिम्मा दिइने इन्जिनियर सञ्जेलले जानकारी दिए ।
विगत ३५ बर्ष अघि निर्माण भएको पोखरा रंगशालाको फुटबल प्यारापिट केही महिनाअघि हतार–हतार गर्दै भत्काइएको थियो । सन् २०१९ को मार्च महिनामा नेपालमा आयोजना गरिने १३ औ संस्करणको दक्षिण एशियाली खेलकुद (साग गेम्स) लाई मध्येनजर गर्दै नयाँ फुटवल मैदानसहितको प्याराफिट निर्माण गर्न पनि पुरानो प्यारापिट भत्काइएको हो ।
पोखरामा यहि आर्थिक बर्षमा अन्तर्राष्ट्रिय स्तरको फु्टवल मैदानसहित १६ हजार ५ सय सिट क्षमताको प्याराफिट निर्माण हुने लगभग पक्का भएको इन्जिनीयर सञ्जेलले बताए ।

























