global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीमा निर्वाचनको समिक्षा

कर्णालीमा निर्वाचनको समिक्षा

कर्णालीमा निर्वाचनको समिक्षा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्वाचन आयोगले सञ्चालन गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रमबाट १३ बुदें सुझाब अनुमोदन भएको छ । उक्त कार्यक्रम स्थानिय तह, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको समीक्षा गर्न दुईदिन सम्म चलेको थियो ।

निर्वाचन आयोगले आयोजना गरेको समिक्षा कार्यक्रमका सहभागीहरुले दिएको महत्वपुर्ण सुझाबहरु अनुमोदन भएका छन् । मतदाता नामावलीको सम्बन्धमा फोटोसहितको मतदाता नामावली वेवसाईटमा हेर्न सकिने व्यवस्था, परिचयपत्रको व्यवस्था जस्ता राम्रा पक्षहरु रहेको सहभागीहरुले बताएका थिए । यद्यपि विवरणमा त्रुटि, दर्तास्थलको सीमित स्थान जस्ता समस्याहरु रहेकोले अगाामी दिनमा शुद्ध बनाउने र स्थायी परिचयपत्र उपलब्ध बनाउने सुझाब समिक्षा कार्यक्रमबाट अनुमोदन भएको छ ।

त्यसैगरी सुचना प्रविधिको प्रयोगको अभ्यास सराहनीय भएको भन्दै सहभागीहरुले आयोगको प्रशंसा गरेका थिए । तथापी यो सहज, प्रभावकारी र सर्वसुलभ हुन नसकेकोले यसलाई पहुँचयोग्य र विश्वसनिय बनाउनुपर्ने, मतादाता शिक्षामा प्रयोग गरिएका माध्यमहरुलाई व्यवस्थित र दिगो हुन नसकेकोले निरन्तररुपमा सबै सरोकारवालालाई मध्यनजर गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

समीक्षाबाट मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने, निर्वाचन आचारसंहितामा कडाई गर्नुपर्ने, जस्ता सुझाबसमेत अनुमोदन भएका छन् । जनशक्ति परिचालनमा महिलाको संख्या तुलनात्मक रुपमा कम रहेको भन्दै त्यसलाई बढाउनुपर्ने सुझाब समेत आएको छ । सामग्री ढुवानी, मतदानस्थलका समस्या जस्ता विषयहरु समेतमा सहभागीहरुले समीक्षा गरेका थिए । त्यसैगरी मतदानस्थलमा नै मतगणना गर्ने व्यवस्था मिलाउने सुझाब समेत अनुमोदन भएको छ ।

साथै निर्वाचन खर्चको प्रकृति तथा प्रवृत्तिको विकृत स्वरुपलाई मध्यनजर राख्दै कानुनी र व्यवहारिक रुपमा खर्च नियन्त्रण, नियमन र व्यवस्थापन गरी दल र उम्मेदवारलाई जिम्मेवार बनाउन कानुनी व्यवस्था हुनुपर्ने सुझाब समेत अनुमोदन भएको छ । त्यसैगरी उम्मेदवारी दिने र लिने राजनितिक दलको विकृत अभ्यासलाई नियमन र व्यवस्थापन गर्नुपर्ने, निर्वाचन विवादलाई सहज र छिटो संयन्त्र मार्फत् निरुपण गर्ने र विवादका विषयहरुलाई कानुनमा नै प्रष्ट र प्रभावकारी बनाउनुपर्ने लगाएतका सुझाब अनुमोदन भएको छ ।

निर्वाचनको मिति तोक्ने कार्य र निर्वाचन क्यालेन्डर तयार गरी निर्वाचन गराउन आयोगलाई जिम्मेवार बनाउने गरी कानुनी व्यवस्था गरिनुपर्ने, मतदानस्थललाई व्यवस्थित र दिगो बनाउनका लागी सामूहिक रुपमा पुनराबलोकन गर्ने र निर्वाचन सरोकारवालाहरुको पहिचान गरी प्रशिक्षण कार्यक्रमको तह र दायरा बढाई नियमित प्रक्रियाको रुपमा संञ्चालन गर्ने जस्ता सुझाब निर्वाचन आयोगको समिक्षा कार्यक्रमबाट अनुमोेदन गरिएको छ ।

समिक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै निर्वाचन आयोगका आयुक्त सुधिर शाहले देशभरी विभिन्न ठांउमा समिक्षा कार्यक्रम हुने र सबै ठाँउबाट आएका सुझाबलाई सम्बोधन गरी अगामी दिनमा निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित बनाउनमा सहयोग पुग्ने बताएका छन् । कर्णाली प्रदेशको समीक्षा कार्यक्रमबाट अनुमोदन गरिएका सुझाबहरु  समेत महत्वपुर्ण भएको आयुक्त शाहको भनाई थियो  ।

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु