गृहपृष्ठ बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
बुटवल उप–महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरको शुक्रबार ‘सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलबासी’को संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगर सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा पौडेलले जनतालाई साथमा लिएर विधि र प्रक्रिया पुरा गर्दै सुशासन कायम गराउन सुझाव दिए ।
‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । जनस्वास्थ्य प्रवद्र्धन सम्बन्धी नीति अन्तर्गत ‘नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
त्यसैगरी भने मोतिपुर र सेमलारका स्वास्थ्य चौकीमा १५ सैयाका अस्पतालका रुपमा विकास गर्ने नीति लिइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी मातृशीशु स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी तथा नतिजामुखी सुधारका लागि गर्भवती भेट अभियान, स्वास्थ्य स्वयंसेविका मार्फत सबै घरधुरीमा नागरिकसँग जनप्रतिनिधि अभियान कार्यक्रम सञ्चालन गरिने लगायतका विषयलाई नीति तथ कार्यक्रमले समेटेको छ । छिमेकी स्थानीय सरकारसँग प्राकृतिक स्रोत, छाडा चौपाया सरसफाई व्यवस्थापन, बारुणयन्त्र सञ्चालनलागयत कामका लागि समन्वय र सहकार्य गर्दै महानगरीय अवधारणाका साथ अघि बढ्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।
जनसहभागितामा आधारित कार्यक्रमहरुलाई परिस्कृत गर्दै प्रतिस्पर्धामा आधारित बनाइने, बुटवललाई विषादीरहित खाद्य वस्तु उपलव्ध हुने सहरका रुपमा पहिचान गराइने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने, कौशी तरकारी खेती कार्यक्रमलाई निरन्तरता दिइने, कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने नीति बनाइएको छ ।
सबै किसिमका विकास आयोजनाहरुमा नेपाली श्रमिक प्रयोग गरी समयसीमामा सम्पन्न गर्ने उपभोक्ता/निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने, सार्वजानिक–निजि–सहकारी साझेदारी मार्फत पार्किङ हाउस बनाउन अध्ययन सुरु गर्ने उपमहानगरको तयारी छ ।
सामुदायिक वनसँगको सहकार्यमा एक वन तीन पोखरी निर्माण कार्यक्रमका लागि प्रति पोखरी रु दुई लाखका दरले अनुदान दिइने, सामुदायिक वनसँग समन्वय गरी पोखरी निर्माण जलाधार संरक्षण पार्क व्यवस्थापन अग्निपथ र जंगल सफारी ट्र्याक निर्माण गर्ने, वडा–वडामा पोखरी निर्माण गरी माछा पालनसहित अनुदानमा आधारित कार्यक्रमहरु बनाइने भएको छ ।
आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकास र विस्तार गर्ने, स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नरको व्यवस्था गर्ने, किशोरकिशोरी मैत्री सेवाको शुरुवात लागि आवश्यक पहल गर्ने, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउने, सबै विद्यालयमा एकजना स्वास्थ्यकर्मीको अनिवार्य व्यवस्था गर्ने, बुटवललाई मुख्य थलो बनाएर खोलिएका फर्म, कम्पनी, उद्योग तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वको रुपमा खर्च गर्नुपर्ने रकमलाई पारदर्शी र प्रभावकारी बनाउन सामाजिक उत्तरदायित्व कोषको स्थापना गर्ने जस्ता लक्ष्यहरुसमेत नीति तथा कार्यक्रममा निर्धारण गरिएको छ ।
प्रकाशित समय : ००:४३ बजे



















