गृहपृष्ठ उखु कृषकको पैसा नतिर्ने उद्योगीविरूद्ध सरकार आक्रामक
उखु कृषकको पैसा नतिर्ने उद्योगीविरूद्ध सरकार आक्रामक
सरकारले उखु किसानको पैसा समयमा भुक्तानी नगर्ने चार चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा उद्योग मन्त्रालयले महोत्तरी, नवलपरासी र सर्लाहीका चार उद्योगीलार्इ पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार एभरेस्ट सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाल, अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज सर्लाही र इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई तथा बागमति सुगर मिल्सका सञ्चालक जगदीशप्रसाद अग्रवाललाई पक्राउ गर्न निर्देशन दिइएको हो ।
‘यसअघि नै पटक–पटक हामीले उहाँहरुलाई सचेत गराउँदै आएका थियौँ,’ प्रवक्ता सुवेदीले भने, ‘तर अटेर गरेपछि पक्राउ गर्नुपर्ने स्थिति आएको हो ।’
उखु क्रसिङ भएको ६ महिनासम्म पनि पैसा नपाएको भन्दै महत्तरीका कृषक वैशाख ६ गतेदेखि एभरेस्ट सुगर मिलको मूल गेटमा ताला लगाएर धर्नामा उत्रिए पनि मिल प्रशासनले बेवास्ता गर्दै आएको छ । अरू चिनी मिलले पनि कृषकलार्इ वर्षौंसम्म उखु किनेको पैसा होल्ड गर्ने गरेका छन् ।
प्रकाशित समय : १३:४७ बजे



















