global ime bank Long Banner Ad

गृहपृष्ठ म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा

म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा

म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा

म्याग्दी धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ ।

छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने खिवाङ गाउँमा विद्युत् सुविधा पुगेको हो ।

बेलायती र भारतीय पूर्व गोर्खा सैनिकको पहलमा गोर्खा वयलफेयर र कादुरी संस्थाको सहयोगमा निर्माण भएको सो परियोजनाबाट खिवाङका १७० घरधुरी लाभान्वित भएका स्थानीय अगुवा चित्रबहादुर पुनले जानकारी दिए ।

दुई करोड चार लाख ५९ हजार ७ सय ४६ रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको सो परियोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्यूटर विषयमा पठनपाठन सञ्चालन गर्न सहज भएको स्थानीयको प्रतिक्रिया छ ।

यसअघि सोलार र टुकीको भरमा रात कटाउँदै आएका खिबाङवासीको जीवनशैली सुधारका लागि लघु जलविद्युत् परियोजना सहयोगी बनेको स्थानीयवासी थमबहादुर गर्बुजाले बताए ।

हालसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा नपुगेको धौलागिरि गाउँपालिकाको गुर्जा, मुना, मल्कवाङ, खिवाङ र मराङका बासिन्दा उज्यालोका लागि लघु जलविद्युत् परियोजनामा निर्भर छन् ।

गत साउनमा आएको पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना र नहर पुरेपछि २ नम्बर वडामा पर्ने लुलाङका बासिन्दा अन्धकारमा रात कटाउन बाध्य छन् ।

गाउँपालिकाले ७ नम्बर वडा धारापानीदेखि केन्द्रीय प्रशारण लाइन विस्तारको काम शुरु गरेको अध्यक्ष थमसरा पुनले बताए । ३२ लाख विनियोजित योजनाबाट धारापानीका १५० घरमा यसै वर्ष बिजुली बाल्ने योजना रहेको उनले जानकारी दिए ।

भगवतीका अधिकांश योजना सम्पन्न

यसैगरी, रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा चालू आव २०७४÷७५ सञ्चालित अधिकांश पूर्वाधार योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

गाउँपालिकाको सबैभन्दा ठूलो बस्ती रहेको भगवतीमा चालू आवमा रु एक करोडभन्दा बढी लागतका ४२ वटा पूर्वाधार योजना सञ्चालन भएका थिए । तीमध्ये ४० योजनाका उपभोक्ता समितिले काम सकेका र दुई वटा योजना निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, सडक, खेलकुद मैदान, खानेपानी योजना, विद्यालयको भौतिक पूर्वाधार मर्मत, सामुदायिक भवनलगायतका योजना रहेका छन् ।

पहिरोको जोखिममा रहेको माझखर्क बस्ती संरक्षणका लागि विनियोजन भएको १८ लाखको काम पनि सम्पन्न भएको छ ।

नौ लाख विनियोजित रानीपौवा–बनाखी–माझखर्क (बेनी–जोमसोम सडकको गलेश्वर– बेगखोला खण्डको वैकल्पिक) सडकको ट्रयाक खोलिएको अध्यक्ष कटुवालले बताए ।

पर्यटकीयस्थल रुइसेमा सडक र पदमार्ग विस्तार, भ्यु टावर निर्माण शुरु तथा नौली बराह ताल पनि संरक्षण गरिएको छ ।

(रासस)

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु