राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक, सभापतिको कडा निर्देशन
वि.सं.२०७५ साउन २२ मंगलवार २१:४४
shares

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक मंगलबार बसेको छ । समितिकी जेष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा सिंहदरबारमा समितिको पहिलो बैठक बसेको हो ।
बैठकमा समितिकी जेष्ठ सदस्य भट्टले समितिको कार्यसूचि, कार्यविधि र कार्ययोजना तय गर्न आवश्यक तयारीका लागि सदस्यहरुलाई निर्देशन दिईन् । उनले विषयवस्तुको गहन अध्ययन गरेर प्रस्तुत हुन पनि समितिका सदस्यहरुको निर्देशन दिईन् ।
बैठकमा समितिका सदस्यहरुले समितिको कार्यविधि बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिए । समितिका सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई प्रभावकारी बनाउने गरी समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने बताए ।
सदस्य प्रकाश पन्तले प्रतिनिधिसभाको क्षेत्राधिकार हस्तक्षेप नहुने गरी समितिले आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रियसभाको गरिमा कायम हुने गरी समितिलाई सक्रीय बनाउन लाग्नुपर्नेमा उनको जोड छ ।
समितिको कार्य क्षेत्रभित्र तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि÷सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पछि परेको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धी विषय छन् ।






















