गृहपृष्ठ सरकारकै कारण उत्तेजित बन्दै बिप्लव समूह
सरकारकै कारण उत्तेजित बन्दै बिप्लव समूह
हाल मुलुकमा इतिहासमै शक्तिशाली ‘वामपन्थी सरकार’ छ । यद्यपि, शक्तिसँग सरकारसामू चुनौती पनि ठूलै देखिन्छ । यो सरकारलाई विपक्षी कांग्रेसले अधिनायकवाद उन्मुख भएको आरोप लगाउँदै आएको छ । त्यसबाहेक सरकारलाई एउटा कम्युनिष्ट समूह नै ‘थ्रेट’का रुपमा देखिएको छ । पूर्व माओवादी नेता नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नामको समूह सरकारको एउटा चुनौतीका रुपमा देखिएको छ । त्यसैले पछिल्ला केही घटनाले सरकार र बिप्लव समूहबीच टकरावको स्थिति सृजना हुँदै गरेको देखाएकाछन् ।
घटना नम्बर १
२०७४ फागुन १६ गते कपिलवस्तुको शिवनगरस्थित बिप्लवको घरमा पक्राउ पुर्जी टाँसियो । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको दोस्रो दिन नै विप्लवको घरमा पक्राउ पुर्जी पठाए । स्मरणीय छ, बादल विप्लवका पूर्व सहकर्मी हुन् ।
घटना नम्बर २
पक्राउ पुर्जीपछि उत्तेजित बनेको नेकपाले प्रधानमन्त्रीविरुद्ध वारेन्ट जारी गर्यो । तत्कालिन माओवादीको ‘जनसत्ता’ शैलीमा बिप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रोल्पा अदालतमा हाजिर हुन पत्र काट्यो । ओलीको झापास्थित घरमा टाँसिएको पत्रमा साता दिनभित्र उपस्थित हुन भनिएको थियो ।
घटना नम्बर ३
ओली प्रधानमन्त्री भएको ३ दिनपछि बिप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली र पोलिटब्युरो सदस्य पदम राई पक्राउ परे । फागुन ६ गते विराटनगरमा उनीहरू नेकपाको युवा सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनमा अतिथि हुन गएको बेला पक्राउ परेका थिए ।
घटना नम्बर ४
साउन २३ गते नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई चन्दा उठाएको आरोपमा पक्राउ गरियो । प्रकाण्डसँगै चालक मानबहादुर श्रेष्ठ र सहयोगी हिराचन्द्र आचार्य पनि पक्राउ परेका छन् ।
घटना नम्बर ५
साउन २४ गते बिप्लवको पार्टीले प्रवक्ताको रिहाइ नभए नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्यो ।
घटना नम्बर ६
साउन २५ गते गृहमन्त्री बादलले चितवनको एक सार्वजनिक कार्यक्रममा बिप्लवका नेता कार्यकर्ता अपराधमा संलग्न रहेको बताउँदै ‘त्यसै नछाड्ने’ चेतावनी दिए । २६ गते नेकपा अध्यक्ष प्रचण्डले राजनीतिकभन्दा पनि बिप्लव नेतृत्वको नेकपाले आतङ्क मच्चाएको टिप्पणी गरे ।
यी सबै घटनाले बलियो बामपन्थी सरकार र कम्युनिष्ट सिद्धान्त बोकेरै हिँडेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच टकराव बढ्दै गएको पुष्टि हुन्छ । यद्यपि, नेताहरुको अभिव्यक्ति भने भविष्यमा देखिन सक्ने द्धन्द समाधान भन्दा पनि परिस्थिति थप उत्तेजित बनाउन केन्द्रित देखिन्छ ।
प्रधानमन्त्री ओली तथा सत्तारुढ दलका नेताको अभिव्यक्तिले परिस्थिति बिग्रँदै जाने अवस्था बन्दै गएको विश्लेषकहरु बताउँछन् । एकअर्काविरुद्धको कठोर गतिविधि तथा ‘वाक युद्ध’ले भविष्यमा हिंसात्मक रुप लिन सक्ने सक्ने खतरा देखिन्छ । अहिलेकै गतिमा सरकारका एक्सन र बिप्लपका रिएक्सन बढ्दै गएमा परिस्थति थप जटिल बन्न सक्ने खतरा द्धन्दविदहरुले औल्याएका छन् ।
तित्राको मुखै बैरी !
सरकार र सत्तारुढ दलका जिम्मेवार नेताहरू सार्वजनिक भाषणमार्फत बिप्लवका नेताहरूलाई अपराधी करार गर्दै झनै उत्तेजित बनाउँदैछन् । विगतमा माखो मार्न नसक्ने अभिव्यक्ति दिने नेकपाका अध्यक्ष प्रचण्ड अहिले बिप्लवलाई नै आतङ्ककारी भन्दैछन् । त्यस्तै गृहमन्त्री बादलसमेत बिप्लवलाई अपराधी भन्दैछन् । वार्ता गरेर समस्या समाधान गर्ने दिशामा दुवै पक्ष नदेखिएकाले परिस्थिति भड्कन सक्ने विश्लेषक श्रीकृष्ण अनिरुद्घ गौतम बताउँछन् । ‘पक्राउ गर्ने मुद्दा चलाउने लगायतका काम हेर्दा बिप्लव नेतृत्वको नेकपामाथि ‘दबाब’ दिने बढाउने रणनीतिमा सरकार देखिन्छ,’ उनले भने, ‘तर सरकारी रणनीतिको ‘भण्डाफोर’ गर्ने बिप्लवको रणनीति देखिन्छ, यस प्रकारका एक्सन–रिएक्सनको संकेत राम्रो होइन ।’
बिप्लव नेतृत्वको नेकपाले विगतमा माओवादी द्धन्द्धजस्तो औपचारिक घोषणा नगरिसकेको वर्तमान अवस्थामा सरकारले शान्ति सुरक्षाको निगरानी बढाउनु भने सामान्य रहेको उनको भनाइ छ । राजनीतिक मुद्दाभन्दा पनि शान्ति सुरक्षाको मुद्दा जोडेर सरकारले बिप्लवप्रति व्यवहार दर्शाएको हुन सक्ने विश्लेषक गौतमको बुझाइ छ ।
बिप्लवप्रति किन कठोर छ सरकार ?
सरकार गठनको सुरुमै ‘सरकार कठोरतापूर्वक प्रस्तुत हुँदैछ’ भन्ने सन्देश दिएको ओली सरकार दिनप्रतिदिन बिप्लवप्रति अक्रामक बन्दै गएको छ । ‘अहिलेसम्म जो भयो भयो, अब सरकार कठोरतापूवर्क आउँछ’ भन्ने सन्देश बिप्लवलाई सरकारले दिइरहेको छ । तत्कालिन समयमा जनयुद्ध लड्दा गरिएका क्रियाकलाप बिप्लवले गर्दैछन् । त्यतिबेला उनको साथमा प्रचण्ड, बादलहरु थिए । अहिले प्रचण्ड सत्तारुढ दलको अध्यक्ष छन् भने बादल गृहमन्त्री छन् । रोचक विषय त यो छ की, प्रचण्ड र बादलले पहिले आफैँले गरेजस्तै क्रियाकलाप गरेको भन्दै धमाधम बिप्लवका नेता कार्यकर्ता पक्रिरहेका छन् ।
सरकारी पक्षको भनाइ अनुसार बिप्लव नेतृत्वको नेकपाको मुख्य काम बन्द, हड्ताल र चन्दा आतङ्क हो । त्यस्ता गतिविधिले सरकारका कामकाजमा अवरोध पुग्ने सरकारको भनाइ छ । शान्ति सुरक्षा प्रभावित हुने, नागरिकको जिउ धनको सुरक्षा नहुने र विकास, समृद्धिका काममा बाधा पुग्ने भन्दै सरकार आक्रामक छ । जसका कारण बिप्लवका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो प्रहरीले त्यहीँ पक्राउ गरिरहेको छ ।
प्रतिराेध गर्ने चेतावनी : असारे काका
बिप्लवको पार्टी नेकपाले एकीकृत जनक्रान्तिको सिद्धान्त बोकेको छ । प्राय सबै नेता सुरुवाती अवस्था देखि नै भूमिगत छन् । विभिन्न समयमा हुने बम आक्रमण तथा बन्द हड्ताललाई सरकारले गैरकानुनी भने पनि उसले भने ‘जनताको प्रतिरोधको रूपमा व्याख्या गर्दै आएको छ । सरकारको पछिल्लो नीतिले थप आक्रामक रहेको सो समूहका शीर्ष नेता असारे काका भन्छन्, ‘सरकारले क्रान्तिकारीलाई फाँसी दिने र जनतालाई दमन गर्ने नीति लिएको छ । राज्यको क्रान्तिविरोधी तथा फाँसीवादी रबैयाविरुद्ध हामी शान्तिपूर्ण प्रतिरोधको नीति लिन्छौँ । अहिलेको दलाल संसदीय व्यवस्थाले वर्तमान समस्याको हल गर्न सक्दैन ।’
वैज्ञानिक समाजवादको लागि आफूहरु संर्घषमा होमिएको उनको दाबी छ । ‘हाम्रो पार्टीले संघर्ष कायम राखेको छ । त्यो भित्र जेल पर्ने, मुद्धा लगाउने काम भइ नै रहन्छन् । यो भनेको एउटा वर्गले अर्काे वर्गप्रति गरिने व्यवहार हो । तर, हामी श्रमजीवी वर्गको सत्ता प्राप्त नभएसम्म मुक्ति हँुदैन भन्नेमा स्पष्ट छौँ,’ असारे काकाले भने, ‘हामी मर्न, जेल बस्न तयार छौँ, तर झुकेर सम्झौता गर्दैनौँ, यो हामी पार्टीको नीति नै हो ।’
प्रकाशित समय : ०१:५५ बजे



















