काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने नेपाली ४३.६ प्रतिशत

31.2K
shares

 

कति प्रतिशत नेपालीहरुले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्छन् भन्ने वास्तविक तथ्यांक पाइँदैन । अस्थायी साधन प्रयोगकर्ताहरुको संख्या यकिन गर्नु अफ्ठेरो पनि छ । तर, स्वास्थ्य सेवा विभागसँग भने ४३.६ प्रतिशत नेपालीहरुले मात्र अस्थायी साधन प्रयोग गर्ने तथ्यांक छ ।

उपयुक्त समयमा सन्तान चाहने या जन्मान्तर राख्न अस्थायी साधन मुख्य रुपमा प्रयोग गर्ने गरिए पनि नेपाली समाज विस्तारै खुला हुँदै गएको सन्दर्भमा यस्ता साधनका प्रयोगकर्ताहरु विवाहित मात्र छैनन् । कतिपय सन्दर्भमा अविवाहित किशोर किशोरीहरुले कण्डम लगायतका परिवार नियोजनका अस्थायी साधन खरिद गर्ने गरेको विक्रेताहरुको अनुभव छ । यसको अर्थ उनीहरुले पनि ति साधनको प्रयोग गर्छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा सबैभन्दा बढी प्रयोग हुने परिवार नियोजनको अस्थायी साधन कण्डम हो । कण्डमको नियमित प्रयोगकर्ताहरु ३.६ प्रतिशत रहेको विभागको तथ्यांक छ । त्यसै गरी पिल्स ३.० प्रतिशत डिपो ७.३ प्रतिशत, आइयुसिडी २.८ प्रतिशत एवं इम्प्लान्ट ४.६ प्रतिशतले प्रयोग गर्ने तथ्यांकमा उल्लेख छ । विशेषतः कण्डम प्रयोग गर्न सजिलो, खरिद गर्न सजिलो, सुरक्षित जस्ता कारणले यसको बढी प्रयोग हुने विक्रेताहरुको बुझाई छ ।

अस्थायी साधनका प्रयोगकर्ताहरुको प्रदेशगत तथ्यांक हेर्दा विभागको रेकर्डमा २ नम्बर प्रदेश अगाडि छ । त्यस्तै गण्डकी सबैभन्दा कम परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने प्रदेश हो । प्रदेश नम्बर २ मा ४९.४ प्रतिशतले यस्ता साधन प्रयोग गर्दछन् । यो प्रदेशगत रुपमा सबैभन्दा बढी हो । त्यस्तै प्रदेश १ मा ४७.८ प्रतिशत, पाँच नम्बरमा ४३.६ प्रतिशत, तीन नम्बरमा ४१.१, सात नम्बरमा ४०.५, कर्णाली प्रदेशमा ३७.४ र गण्डकी प्रदेशमा ३५.६ प्रतिशत परिवारले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्छन् ।

त्यसै गरी जिल्लागत रुपमा हेर्दा मनाङ कण्डम प्रयोग गर्नेमा सबैभन्दा अगाडि छ । मनाङमा १७.३ प्रतिशतले कण्डमको प्रयोग गर्छन् । तर, कण्डमको प्रयोगकर्ता भने काठमाडौंमा सबैभन्दा कम अर्थात् १.१ प्रतिशत मात्र छन् । यो प्रतिशतका आधारमा निकालिएको तथ्यांक हो । संख्यात्मक रुपमा हेर्दा काठमाण्डौं पुछारमा नपर्न पनि सक्ने कतिपयको विश्लेषण छ ।

त्यसैगरी पिल्स प्रयोग गर्नेमा इलाम अगाडि छ । इलामका ९.२ प्रतिशतले पिल्सको नियमित प्रयोग गर्ने सरकारी तथ्यांकले देखाउँछ । त्यसैगरी डिपोका प्रयोगकर्ता सुनसरी (२०.५ प्रतिशत)मा बढी छन् । आइयुसिडीका सबैभन्दा बढी प्रयोगकर्ता मुस्ताङमा (८.५ प्रतिशत) छन् भने इम्प्लान्टको प्रयोग काभ्रेका १५.१ प्रतिशत परिवारले प्रयोग गर्दछन् । यो इम्प्लान्ट प्रयोग गर्नेमध्य सबैभन्दा बढी हो ।

अस्थायी साधन प्रयोगमा राज्यको लगानी
परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न जनचेतना जगाउन राज्यले वार्षिक रुपमा नै कार्यक्रम बनाएर विभिन्न शीर्षकमा लगानी गरिरहेको छ । अस्थायी साधनको प्रयोगका लागि जनचेतनाको कार्यक्रम, अस्थायी साधन निःशुल्क वितरण, कण्डम बक्स बितरण, सर्वजनिक ठाउँमा कण्डम बक्स राख्ने, आमा सुरक्षा कार्यक्रम लगायतका कार्यक्रम सरकारी स्तरबाट हुँदै आएको छ ।

यस्ता कार्यक्रम गर्न स्वास्थ्य मन्त्रालयले वर्षेनी ठूलो रकम खर्च गर्दै आएको छ । राज्यको यती ठुलो लगानी भए पनि स्वास्थ्य क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ । बाल विवाह रोकिएको छैन, गर्भपतन गराउनेको संख्या उत्तिकै अवस्थामा छ ।

अस्थायी साधन प्रयोगमा कमीको कारण
परिवार नियोजनका अस्थायी साधन वितरणको मुख्य उदेश्य यौनजन्य क्रियाकलापबाट आउने समस्या रोक्नु तथा त्यसबाट बच्नु हो । तर, अस्थायी साधन प्रयोगमा जनचेतनाको अवभाव भएको जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौंका डा.नरेन्द्र कुमार झाले बताए । डा. झाका अनुसार जनचेतना, उपलब्धता, महिलामुखी प्रवृत्ती र अनावश्यक प्रचारका कारण पनि अस्थायी साधन प्रयोगमा अपेक्षाकृत प्रगति हुन नसकेको हो ।

भनेको समयमा उपलब्ध हुँदैन, भए पनि हाम्रो समाज महिला मुखी छ । पुरुषले सजिलै प्रयोग गर्न सक्ने कण्डम प्रयोग गर्दैन, बरु महिलालाई गर्न लगाउँछ, जुन झन्जटिलो र सहज हुदैन, उनले भने । प्रयोग कर्ताहरुले पनि विभिन्न किसीमको गलत हल्ला गर्ने कारण पनि यसको कमी भएको डा. झाको भनाई छ ।

 

अस्थायी साधन प्रयोगको उद्देश्य
परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्नुको उदेश्य यौनजन्य कृयाकलापबाट सृजित समस्याहरुबाट बच्नु हो । असुरक्षित यौनसम्पर्कबाट हुने विभिन्न किसिमको समस्याहरु जस्तै एचअइभी, एड्स तथा अन्य किसिमको यौन रोग, अनिच्छित गर्भ रोक्न, जन्मान्तर राख्न यसको प्रयोग गर्न सकिन्छ ।

परिवार नियोजनको अस्थायी साधन प्रयोग महिलाहरुले धेरै गर्भपतन नगराउन् भन्ने उदेश्यले पनि हो । धेरै सन्तान जन्माउने अनि लालन पालनमा गुणस्तरीयता नहुने समस्यालाई न्युनिकरण गर्नु यसको अर्काे उद्देश्य हो ।

 

निजी क्षेत्रको रेकर्ड छैन
नेपाल सरकारले परिवार नियोजनको अस्थाई साधनमा करोडौं लगानी गरे पनि आफ्नो उदेश्य हासिल गर्न सकेको छैन । काठमाण्डौंमा अनुपातका हिसाबले सबै भन्दा कम कण्डम प्रयोग हुने गरेको विभाग रिर्पोट छ ।

यसको अर्थ के वास्तवमै काठमाडौंमा कण्डमको प्रयोगकर्ताहरु कम छन् त ? तर, उनीहरुले निजी स्वास्थ्य सस्थाबाट उपयोग गर्ने कण्डम लगायतका अस्थायी साधनको तथ्यांक विभागसँग छैन । यस्तो तथ्यांक उपलब्ध गराइदैन र मागिँदैन पनि । सरकारले निजी क्षेत्रलाई यो अभियानमा सहभागी गराएको छैन । नीजि क्षेत्रमा भएको स्वास्थ्य सम्बन्धी गतीविधिको सरकार रेकर्ड राख्दैन । सरकारको आफ्नो लक्ष्य पूरा गर्न नीजि क्षेत्रलाई पनि सँगसँगै लान नसक्नु कमजोरीका रुपमा रहेको छ ।