गृहपृष्ठ पोखराको ताल चोकमा तर्साउने (होक्स) बम
पोखराको ताल चोकमा तर्साउने (होक्स) बम
पोखराको तालचोकस्थित धर्मकाँटा अगाडी पृथ्वी राजमार्ग सडकको बीच भागमा तर्साउने (होक्स) बम भेटिएको छ । विप्लव समूहले मंगलबार आह्वान गरेको नेपाल बन्दको समयमा पोखराको तालचोकमा होक्स (तर्साउन प्रयोग हुने) बम भेटिएको डिस्पोजल टोलीले जनाएको छ ।
मंगलबार विहान करिब ११ः०० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात पोखरास्थित विजयपुरमा रहेको कालिभन्जन गणको बम डिस्पोजल टोलीले करिब एक घण्टामा संकास्पद बस्तुको पहिचान गरी त्यहीँ निस्तेज (डिस्पोज) गरेको मेजर बलबहादुर थापाले बताए ।
बारुद बाहेक अधिकाशं सकेट बममा प्रयोग हुने बस्तुहरु प्रयोग गरी मानिसहरुलाई तर्साउने गरी सडकमा भेटिएको संकास्पद बस्तु होक्स बम भएको मेजर थापाले बताए । यसअघि पनि विप्लव समूहको बन्द तथा हड्तालको क्रममा पनि पोखरामा विभिन्न ठाँउमा बम भेटिएको थियो ।
उक्त बममा डेढ इन्चिको पाईपको सकेटमा साबुन भरेको साथै त्यसमा तार समेत भेटिएको मेजर थापाले जनाए । केहि समय उक्त क्षेत्रमा स्थानीय त्रसित भएका थिए । विप्लव समूहको बन्दको क्रममा यस्तो बम भेटिनु सोही समूहका कार्यकर्ताले नै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यद्यपि यसको बारेमा अनुसन्धान भने भई रहेको कास्कीका प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताए ।
विप्लव समूहको बन्दको प्रभाव कास्कीका अधिकांश क्षेत्रमा पर्यो । कास्कीबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक तथा रातो प्लेटका गाडीहरु संचालन हुन सकेनन् भने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था विभिन्न व्यापारिक प्रतिष्ठानहरुसमेत संचालन हुन सकेनन् ।
सडकमा दुई पाङग्रे सवारी साधन तथा हरियो प्लेटका गाडीहरु भने संचालन भएका थिए । सडकमा युवादेखि केटाकेटीहरु विभिन्न खेल खेलेको देखिन्थ्यो भने सधैँ जसो व्यस्त हुने पोखराको मुख्य बजार सुनसान जस्तै भएको थियो । बेलुका ५ बजेदेखि पुर्ववत रुपमा सवै सेवा संचालनमा आएको छ ।
प्रकाशित समय : ००:०२ बजे



















