काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनले लैजाने ‘सोल्टी’ र ‘मितिनी’लाई काठमाडौं पठाइयो

18.94K
shares

 

सरकारले चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडा ‘सोल्टी र मितिनी’लाई मंगलबार काठमाडौं पठाइएको छ ।

रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै मंगलबार साँझ गौंडालाई काठमाडौं पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

गैंडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गाे विमानमा राखी चीन पठाइने जनाइएको छ ।

अगाडी पछाडि सेनाको गाडीले स्कटिङ गरी चितवनबाट उक्त गैंडा काठमाण्डौं लगिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा संरक्षणकर्मी सहभागी रहेको गैंडा लाने टोलीको नेतृत्व ढकालले नै गरेका छन् ।

अहिले राखिएको गैंडामध्ये पोथी (मितिनी)लाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो भने सोल्टी चाँही अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सिमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको गैंडा हो । यी दुबै गैंडालाई साङघाई सफारी पार्कमा लगेर राखिने छ ।

गएको चैत २८ गते चीनलाई उपहार पठाइएको ‘रुपसी’ र ‘भद्र’ नामको एक जोडी गैंडा हाल चिमे लङ सफारी पार्कमा रमाइरहेको जनाइएको छ ।

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो ।

एकसिङ्गे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्दान्तअनुसार सरकारले विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुई पटक गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइसकेको छ । यसैगरी नेपालले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा दुई, दुई वटाका दरले कुल १० गैंडा उपहारस्वरुप पठाइसकेको छ ।

थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि दुई, दुई वटाका दरले गैंडा पठाइएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन् । नेपालमा भने हाल गैंडाको संख्या ६४५ छन् ।

 

गैंडासँगै पशुचिकित्सक र प्राविधिक पनि जाने

गैंडाको रेखदेखका लागि पशुचिकित्सक र वन्यजन्तु प्राविधिकको टोलीसमेत चीन जाने भएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक डा. अमिर षडौला, चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य प्राविधिक हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई गैंडासँगै चीन जाने भएका हुन् । उनीहरुमध्ये षडौला र पाण्डे १० दिन र अरु १५ दिन चीन बस्ने छन् । उनीहरु पनि आज गैंडासँगै काठमाडौं गएका हुन् ।

गैंडाको स्वास्थ्य चेकजाँचसँगै बानी पार्न र चिनिया प्राविधिकलाई रेखदेखका लागि सिकाउन उनीहरु चीन जान लागेको कोषका सौराहा प्रमुख रामकुमार अर्यालले जानकारी दिए । यसअघि भद्र र रुपसीसँग वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा किरण रिजाल, तिर्थ लामा, दिपु चौधरी र विनोद दराई चीन गएका थिए । उनीहरु स्वदेश फर्किसकेका छन् ।

नारायण ढुंगाना/रासस