सरकारले जनतालाई कर र महँगीको भार थोपर्यो : देउवा
वि.सं.२०७५ भदौ २५ सोमवार ०१:३४
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनतामाथि कर र महंगीको भार थोपरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बर्दियाको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले सरकारले राहत दिनुपर्नेमा महंगी बढाएर झन् आहत दिएको टिप्पणी गरे ।
देउवाले जनताको ढाडै भाच्चिने गरी कर लगाउँदा सरकारले विचार पुर्याउनुपर्ने टिप्पणी गरे । त्यसो हुन नसकेमा जनतामा शासनव्यवस्थाप्रतिनै वितृष्णा आउन सक्नेभन्दै सजग हुन आग्रह समेत गरे । ‘जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्छ,’ देउवाको भनाई थियो । उनले हाल बढाइएको करलाई मान्न नेपाली कांग्रेस तयार नरहेको पनि उनको चेतावनी थियो ।
सोही कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले ५५ लाख युवा मुलक बाहिर श्रम बेचिरहेकाले उनीहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले ध्यान दिनुपनेमा जोड दिए । उनले पार्टीलाई एकढिक्का बनाएर लैजान कार्यकर्ताले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले करमाथि कर थपेको, जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको र महंगी नियन्त्रण गर्न असफल भएको आरोप लगाए । प्रेस र न्यायपालिकामाथि हस्तक्षेप नगर्न पनि उनले सरकारलाई आग्रह गरे ।

























