गृहपृष्ठ एसियाड भलिबलमा नेपालको पहिलो जित
एसियाड भलिबलमा नेपालको पहिलो जित
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत मंगलबार भएको पुरुष भलिबल खेलमा नेपालले जित निकालेको छ । मंगोलियालार्इ ३–१ को सेटमा जित निकालेको नेपालको एसियाड भलिबलमा यो पहिलो जित हो ।
इन्डोनेसियाको जकार्तास्थित गोर बुलुनगन रंगशालामा भएको खेलमा नेपालले मंगोलियालार्इ हराएको हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो ।
त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । नेपालले दोस्रो सेट २५-१६, तेस्रो सेट ३०-२८ र चौथो सेटमा २५-१९ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पार्यो ।
नेपालले १३औं देखि १८औं वरीयताका लागि खेलेको हो । यो वरीयताका लागि नेपालसँगै मंगोलिया, काजकस्तान र किर्गिस्तान प्रतिस्पर्धामा छन् । नेपालले अब श्रीलंका र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।
प्रकाशित समय : २२:५६ बजे



















