छानबिन समिति नै विवादमा, परिवार भन्छन्- राज्य नै अपराधी जोगाउन लाग्यो
वि.सं.२०७५ भदौ २६ मंगलवार १५:३१
shares

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण थप पेचिलो बनेको छ । सरकारले घटनाको छानबिन गर्न बनाएको उच्चस्तरीय समतिका एक सदस्यले राजीनामा दिएपछि हत्या प्रकरण पेचिलो बनेको हो । छानबिन समितिका सदस्य प्रदेश ७ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएपछि समिति नै विवादमा तानिएको छ ।
सरकारले समितिको म्याद १५ दिन थपेपछि सदस्य केसीले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन । सरकारले घटना छानबिन गर्न आइतबार १५ दिन म्याद थप गरेको थियो। केसीले आफ्नो ज्यान खतरामा रहेको भन्दै राजीनामा दिएको बताएका छन् । म्याद थप गरेर प्रमाण नष्ट गर्न खोजिएको आशंका गरिएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीले भने प्रतिवेदन लेख्ने काम भइरहेको र मापदण्ड अनुसार नै छानबिन गरेको दाबी गरेका छन् । प्रतिवेदन लेख्नका लागि मात्र समय थप गरिएको उनको भनाइ छ ।
समितिका सदस्यले नै राजिनामा दिएपछि निर्मलाले न्याय पाउनेमा शंका बढेको छ । समितिले सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही होला भन्ने आसामा निर्मलाका परिवार थिए । तर, समिति नै विवादमा तानिएपछि परिवार निरास भएका छन् । ‘छोरीले न्याय पाउने आसा गरेका थियौैं, सरकारले बनाएको समिति नै विवादमा तानिएकाले न्याय पाउने आस नै म¥यो, राज्य नै अपराधिलाई जोगाउन उद्यत देखिएको छ’ निर्मलाका बुबा यज्ञराज पन्तले भने ।
प्रहरीले भने छानबिन समितिका सदस्यको राजीनामाले अनुसन्धानमा असर नपर्ने बताएको छ । समितिको काम छानबिन मात्र गर्ने भएकाले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । अहिलेसम्म डेढ सयभन्दा धेरै जना सँग बयान लिइएको उनले बताए । तर, प्रहरीले अहिलेसम्म वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन ।
प्रहरीले निर्मलाको हत्या गरेको आरोपमा स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको छ । तर, उनी निर्दोष रहेको स्थानीयको भनाइ छ । घटनाको अनुसन्धानका लागि रोशनी बम र बबिता बमलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । डेढ महिनासम्म पनि घटानाको सत्य तथ्य बाहिर नआएको भन्दै स्थानीय र अधिकारकर्मी आक्रोशित भएका छन् । छिटो दोषी पक्राउ नगरे फेरि आन्दोलन चर्काउने स्थानीयले चेतावनी दिएका छन् । यसअघि निर्मलाको हत्यारालाई कारबाहीको माग राख्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनि खुनाको मृत्यु भएको थियो ।
गत साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला भोलीपल्ट निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

























