गृहपृष्ठ काठमाडौंको फोहोर दुर्इ दिनमा उठाइने
काठमाडौंको फोहोर दुर्इ दिनमा उठाइने
बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिए थियो । यद्यपी काठमाडौंको फोहोर भने उठ्न सकेको थिएन । उक्त समयमा उठाउन नसकिएको फोहोर सरकारले २ दिनभित्र उठाउने भएको छ । पछिल्लो समय काठमाडौंको फोहोर नउठाउँदा सरकारको व्यापक आलोचना भएको थियो भने त्यसका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञले चिन्ता जनाउदै आएका छन् ।
भित्री गल्ली र चोकहरूमा हप्तौंदेखि थुप्रिएको फोहोर शनिबारभित्र उठाउने काठमाडौं महानगरपालिकाले जनाएको छ । वर्षाका कारण नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन गर्न समस्या भएको थियो । फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका थिए । अहिले त्यो समस्या सुल्झिएको महानगरका फोहोर व्यवस्थापन प्रमुख हरि कुँवरले बताएका प्रधानमन्त्री कार्यालयको हेल्लो सरकार शाखाले जनाएको छ । ‘अब २ दिनभित्र काठमाडौंको सबै स्थानमा थुप्रिएको फोहोर सफा भैसक्नेछ भन्ने जानकारी आएको हेल्लो सरकारले जनाएको छ ।
अहिले काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाएको मात्र छैन विभिन्न संक्रमण फैलिने खतरासमेत छ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् । केही दिनअघि सिसडोल पुगेका ८० ट्रक हिलो बाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेका थिए । फोहोरमाथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या थियो ।
काठमाडौं महानगरपालिकाले ट्रान्सफर स्टेसन भरिसकेको र सिसडोलमा फोहोर खसाल्न सक्ने अवस्था नरहेकाले फोहोर उठाउन छाडेका छ । फोेहर नउठ्दा ट्रान्सफर स्टेशन वरपर दुर्गन्ध छ । काठमाडौंको फोहोर सिधै गाडीमा राखेर ल्यान्डफिल साइटमा खसाल्न सक्ने अवस्था नरहेको र जम्मा गरेर केही दिन राख्ने स्थान पनि नभएकाले समस्या भएको महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुँवरले बताए । गत असारमा पनि वर्षाको पानीले सिसडोलमा बाटो बिग्रिँदा झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन । दैनिक २५ वटा ट्रकले तीन वर्षसम्म २५० टन फोहोर फाल्न मिल्ने गरी सिसडोलमा ल्यान्डफिल साइट बनाइएको छ । तर १४ वर्षसम्म पनि विकल्प खोजिएको छैन । त्यसैले सिसडोलमा हरेक वर्षामा समस्या हुँदा काठमाडौंमा फोहोर थुप्रिँदै आएको छ ।
प्रकाशित समय : २०:०६ बजे



















