गृहपृष्ठ बिमस्टेक राष्ट्रकाे संयुक्त सैन्य अभ्यास भदौ २५ बाट
बिमस्टेक राष्ट्रकाे संयुक्त सैन्य अभ्यास भदौ २५ बाट
बिमस्टेकका सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त सैन्य अभ्यास हुने भएको छ । यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त सैन्य अभ्यासमा प्रत्येक मुलुकका ३०–३० जना सैनिकको सहभागिता हुनेछ ।
काठमाडौंमा शुक्रबार सम्पन्न बैठकले सदस्य ७ वटै राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास आयोजना गर्ने निर्णय गरेको थियो । बिमस्टेकको एउटा प्राथमिकताको क्षेत्र आतंकवाद र अन्तरदेशीय अपराध पनि भएकाले यसै सन्दर्भलाई जोड्दै भारतीय प्रधानमन्त्री मोदीले संयुक्त सैन्य अभ्यासमा जोड दिएका थिए ।
सोही विषय सम्मेलनले पारित गरेलगत्तै भारतले सेप्टेम्बरमा सैन्य अभ्यासको आयोजना गरेको जानकारी गराएको छ ।
सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको सो अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । यस्ता अभ्यासले एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझ्न, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास गरिएको छ ।
अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुखसमेत पुना पुग्ने कार्यक्रम छ । पछिल्ला समयमा विपद् व्यवस्थापन र प्रतिआतङ्कवादका विषयमा केन्द्रित रहेर विभिन्न देशका सैनिकबीच यस्ता संयुक्त अभ्यासले निरन्तरता पाउँदै आएको छ ।
कसैप्रति लक्षित छैन ः नेपाली सेना
यसैबीच नेपाली सेनाले संयुक्त सैन्य अभ्यास कुनै राष्ट्रप्रति लक्षित नभएको स्पष्ट पारेको छ । बिमस्टेक सम्मेलनमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयमा मिडियालाई स्पष्ट पारेपछि पनि उब्जिएका पश्शनको जवाफ दिँदै नेपाली सेनाले यो स्वभाविक प्रक्रिया भएको बताएको छ ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘नेपालले सैन्य अभ्यास भारतसँग चीनसँग मात्र होइन धेरै देशहरुसँग गर्दै आएको छ । क्षेत्रीय रुपमा पनि सैन्य अभ्यासहरु हुँदै आएका छन्, यो स्वभाविक प्रक्रिया हो, कसैप्रति लक्षित छैन ।’
यसअघि २ सातअघि मात्र नेपालमा एसिया प्रशान्त क्षेत्रका सैनिकहरुबीच संयुक्त सैन्य अभ्यास भएको थियो । १२ दिन लामो अभ्यासमा प्राकृतिक प्रकोप तथा मानवीय सहायताका बेला एक अर्काबीच प्रभावकारी सञ्चार बिस्तारका विषयमा अभ्यास भएको हो । प्यासिक इन्डेभर २०१८ (पीई १८) नाम दिइएको यो सैन्य अभ्यासमा नेपालसहित एसिया प्रसान्त क्षेत्रका २० देशहरुको सहभागिता थियो ।
प्रकाशित समय : ०१:२० बजे



















