बराहक्षेत्रमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
वि.सं.२०७५ भदौ ५ मंगलवार १८:४३
shares

सुनसरीको बराहक्षेत्र १ खारखोलामा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका ३ बाट विरामी लिएर धरातर्फ जाँदै गरेको मे १ ज २३८७ नम्बरको टाटा सुमोले चतरा–धरान सडक र नहडा–चतरा–रुपनगर सडक जोडिएको स्थानमा को २९ प १३३६ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी सुनसरीको चादबेलाका अन्दाजी ३५ वर्षीय महानन्द सरदारको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार सुनसरी इनरुवाका लक्ष्मण उराव गम्भीर घाइते भएका छन् । दाहिने खुट्टा भाँचिएको र टाउको गम्भीर चोट लागेका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको स्थानीय पत्रकार सन्तोष गुप्ताले बताए ।
मोटरसाइकललाई ठक्कर दिएको सुमो सडकबाट अन्दाजी ६०/७० मिटर तलको झाडीमा खसेको छ ।
सुमोमा सवार बेलका नगरपालिका सातपत्रेकी लक्ष्मी चौधरी र उनकी नबालाक छोरी सामान्य घाइते भएका छन् । सुमो तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । सुमोसहित चालक गोपाल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


























