गृहपृष्ठ सर्वहाराका नेता बोगटी, जो गणतन्त्र रहेसम्म जीवित रहनेछन्
सर्वहाराका नेता बोगटी, जो गणतन्त्र रहेसम्म जीवित रहनेछन्
सादगी नेताको पहिचान बनाएका तत्कालीन एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले यो संसारबाट बिदा लिएको चार वर्ष बितिसकेको छ । सर्वहारावर्गको मुक्तिका लागि काँधमा हलोदेखि बन्दुकसम्म राखेका बोगटीका जीवनका धेरै अनुकरणीय पाटा छन् ।
गणतन्त्रका लागि उनले गरेका त्याग, तपस्या र संघर्षको गाथा इतिहासका पानामा सुनौला अक्षरमा लेखिएका छन् । हिमालयझैं अग्लो व्यक्तित्व, विशाल र उदात्त अनि चट्टानसरह अडिग स्वभावका कारण बोगटीलाई धेरैले आदर्श नायकका रूपमा सम्झिरहेका छन् । ‘हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खडा रहेका बोगटी गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहनेछन्’ भनेर धेरैले टिप्पणी गर्छन् ।
सन्दर्भ : बोगटी समृति दिवस
कहिल्यै पनि विवादमा नपरेका लोकप्रिय नेता पोष्टबहादुर बोगटी सरल र मिलनसार स्वाभावका थिए । बोगटीलाई एमाओवादीको साताौं महाधिवशेनले महासचिव बनाएको थियो । विराटनगरमा राष्ट्रिय भएको पदाधिकारी चयनमा उनले उपाध्यक्षमा शतप्रतिशत मत प्राप्त गरेका थिए । नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ का बासिन्दा बोगटी कुनै विवादमा नपरेका र निष्कलंक छवि बनाएका नेताको रुपमा चिनिन्थे ।
किशोरावस्थामा भारतीय सेनामा जागिर खाने सपना साँचेका बोगटीले भारतमा भौतारिँदा धेरै दुःख झेल्नुप¥यो । पछि उनले स्वदेश फर्केर माछा फार्म र घरेलु उद्योगमा नोकरी गर्न थाले । कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका उनले भाल्चेमा रहेको सरकारी भेडा फर्ममा केही वर्ष नोकरी गरे ।
मंसिरमा काटेको धान खलियाबाटै साहुलाई तिर्दा ठिक्क हुने उनको जग्गा जमिन थियो । धादिङ, रसुवा र नुवाकोटको माओवादी इञ्चार्ज हुँदासम्म उनले पुरानो ऋण चुक्ता गर्न सकेका थिएनन् । आफूले पैतृक सम्पत्तिको रुपमा पाएको एक टुक्रो जमिन त्रिशूली जलविद्युत् आयोजनाले अधिग्रहणमा परेपछि बोगटीको परिवारले झनै दुःख पायो । अधिग्रहणबाट बचेको केही सम्पत्ति पनि विद्यालयलाई दान दिएपछि उनी भूमिहीन भए ।
बाहुनले हलो जोत्नुहुँदैन भन्ने समयमा जन्मेका बोगटीले नुवाकोटमा बाहुनले हलो जोत्ने अभियानको नेतृत्व गरेका थिए । साथै, उनले पञ्चायतकालमा गाउँमा विभिन्न क्लब र पुस्तकालय निर्माण गराएका थिए ।
बोगटीले आफ्नो घर र जग्गाजमिन चण्डेश्वरी माध्यमिक विद्यालयलाई दान दिएका थिए । सबै जग्गाजमिन विद्यालयलाई दान दिएपछि परिवार माओवादी युद्धमा होमियो । बोगटी पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका थिए । बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला मारिए । २०५८ सालमा धादिङको सत्यदेवीमा तत्कालीन शाही नेपाली सेनाले उनको हत्या गरेको थियो ।
पार्टीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने बोगटी पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट अत्यधिक मतले निर्वाचित भए । त्यसपछि उनी सूचना तथा सञ्चार, संस्कृति पर्यटन एव नागरिक उड्डयनमन्त्री र ऊर्जामन्त्रीसमेत भए । बोगटी पहिलो संविधानसभामा सदस्य हुँदा एमाओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक भए ।
पार्टीमा सबैको विश्वासपात्र भएकैले बोगटीले पार्टीभित्रको सम्पत्ति छानबिन आयोग एवं लडाकुको भ्रष्टाचारसम्बन्धी छानबिन समितिको नेतृत्व गर्ने जिम्मा पाएका थिए । तर, दुःखको कुरा सन्तुलित नेताको पहिचान बनाएका बोगटीले तयार पारेको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन गरिएको छैन ।
प्रकाशित समय : ०१:०१ बजे



















