गृहपृष्ठ सांसद भन्छन् – बलात्कारीकाे जीवन जेलमै सड्नुपर्छ
सांसद भन्छन् – बलात्कारीकाे जीवन जेलमै सड्नुपर्छ
सांसदहरुले बलात्कारीलाई सर्वस्वसहित आजीवन काराबासको सजाय दिने कानुनी व्यवस्था गर्न माग गरेका छन् । महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको संकल्प प्रस्तावमाथि धारणा राख्दै सांसदहरुले बलात्कारीलाई हदैसम्मको कार्बाहीको व्यवस्था गर्न माग गरेका हुन् । संविधानले महिलालाई अधिकारसम्पन्न गराए पनि महिला माथि नै हिंसाको घटना बढ्दै जानु चुनौतिपूर्ण भएको भन्दै सांसदहरुले त्यसतर्फ समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।
महिला हिंसा अन्त्य गर्नुपर्ने मागसहित पेश गरिएको प्रस्तावको समर्थन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले महिला हिंसा अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् ।
सरकारले सन् १९९१ मा नै महिलाविरुद्ध हुने सम्पूर्ण हिंसालाई समाप्त गर्छु भनेर प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले भनिन्, ‘प्रतिबद्धता अनुसारको महिलालाई समानताको अनुभुति दिलाउनुपर्छ ।’
नयाँ संविधानले महिलाको सवालमा नयाँ हकको व्यवस्था गरिरहँदा दैनिकजसो महिलाविरुद्धका हिंसा बढ्दै गएको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकता उनले औँल्याइन् ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले आर्थिक, समाजिक , वैचारिक र प्रशासनिक रुपले महिला र पुररुष बराबर छन् भन्ने सन्देश नगएसम्म महिलामाथिको हिंसा अन्त्यको कल्पना गर्न नसकिने बताए । ‘महिलाको अधिकार र महिलाको न्याय महिलाले मात्रै उठाएर हुँदैन,’ उनले भने, ‘पुरुषले पनि एक साथ हिंसा अन्त्य गर्दै महिलालाई सवल र सक्षम बनाउन लाग्नुपर्छ ।’
नेकपाका सांसद खगराज अधिकारीले संविधानको धारा १८, ३८, ३९,४२,४३ मा समानताको हक, महिलाको हक, बालकालिकाको हक, सामाजिक न्यायको हकमा महिलाको हक सुरक्षित गरिएको भन्दै आफू अन्तिम अवस्थासँग महिला हिंसाविरुद्ध लागिरहने संकल्प गरे ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले महिला हिंसाविरुद्ध संसदले एकसाथ संकल्प गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले पीडीत महिलालाई समाजमा सम्मानपूर्वक बाँच्न आवश्यक पर्ने सम्पूर्ण प्रबन्ध सरकारले मिलाउनुपर्नेमा जोड दिइन् । बलात्कृत महिलालाई सामाजिक रुपमा प्रतिष्ठासहित बाँच्ने अधिकारको सुरक्षा सरकारले गर्नुपर्ने उनको भनाइ छ ।
नेकपाकी सांसद रेखा शर्माले बालिका बलात्कार, हिंसा हत्या, छाउपडी, बोक्सीलगायतको सामाजिक समस्या र राजनीतिक उपलब्धिबीचको अन्तरविरोध हटाउनु आजको चुनौति भएको भन्दै त्यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताइन् । कन्चनपुरमा बलात्कारविरुद्धको आन्दोलन हिंसात्मक हुँदा गएको भन्दै कडा कानुन बनाई सम्पूर्ण किसिमको हिंसा अन्त्यतर्फ मुलुकलाई लैजानुपर्नेमा उनले जोड दिइन् । सांसद यशोधा गुरुङ सुवेदीले हिंसा बढ्नुको कारण खोज्नुपर्ने बताइन् ।
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गरेकी हुन् । प्रस्ताव पेश गर्दै उनले महिला हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियान संचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । संकल्प प्रस्तावमा महिलामाथि देशव्यापी रुपमा भएको सबै प्रकारका हिंसा विरुद्ध जनप्रतिनिधिहरु एक भएर अभियानकै रुपमा संकल्प गर्ने, महिला हिंसामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरि कडा कारबाही र पीडितलाई उपचार, क्षतिपूर्ति तथा सामाजिक पुर्नस्थापनाका लागि व्यवस्थापन गर्न सरकारलाई निर्देशन जारी गर्ने, सम्पूर्ण किसिमका विभेदविरुद्ध मुलुकभर जनचेतना अभियान संचालन गर्न सरकारलाई दबाब दिने र सामाजिक न्यायको विषयमा विद्यालय तहमा शिक्षा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने बुँदा समावेश छन् ।
प्रकाशित समय : २१:३५ बजे



















