global ime bank Long Banner Ad

गृहपृष्ठ राजपा अब कता ? आफ्नै मुद्दा निल्नु न ओकल्नु

राजपा अब कता ? आफ्नै मुद्दा निल्नु न ओकल्नु

राजपा अब कता ? आफ्नै मुद्दा निल्नु न ओकल्नु

मधेस केन्द्रित दलहरु जुट्दै–टुट्दै गर्ने क्रममा आधा दर्जन दल मिलेर ‘राष्ट्रिय जनता’ पार्टी निर्माण भयो । मधेस आन्दोलनदेखि पहिलो संविधानसभा निर्वाचनसम्म राष्ट्रिय राजनीति आफू वरिपरि घुमाउन सफल राजपाका घटकहरु दोस्रो संविधानसभासम्म आइपुग्दा खुम्चिन पुगे । त्यसो हुनुमा धेरै कारण हुन सक्छन् तर मुख्य कारण राजपाका नेता पार्टीमा आएको फुटका कारण आफूहरु कमजोर भएको निष्कर्षसहित पार्टी एकता गर्न राजी भएका हुन् ।

मधेस केन्द्रित राजनीति गर्ने आधा दर्जन दलहरु एक भएपछि त्यसले राष्ट्रिय राजनीतिमा प्रभाव विस्तार गर्ने बुझाइ उनीहरुको थियो । तर, परिस्थिति अपेक्षाकृत दिशामा अघि बढेन । प्रभाव विस्तार गर्ने उद्देश्यसहित पार्टी एकता गरिएको भए पनि त्यसको परिणाम प्राप्त भएन । फलस्वरुप, उनीहरुसँगै उनीहरुले उठाएका मुद्दा पनि खुम्चिए ।

 

अब उत्तर दिने पालो

राजपामा व्यक्तित्वको टकराव र नातावाद हावी भएको छ भन्ने आरोप नयाँ होइन । उसले अवसर पाएका जिम्मेवारीमा गरिएको नियुक्तिलाई हेर्दा आरोप आरोपमा मात्र सीमित छैन, यथार्थताको नजिक छ भन्ने पनि देखिन्छ ।

खासगरी, पहिलो तथा दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट ‘माननीय’ बनाइएकाहरु पार्टीमा ठूलो योगदान गरेकामात्र छैनन्, आफन्तीहरु पनि छन् । यसले मुख्यतः दुईवटा परिणाम निकाल्यो । पहिलो, इमानदार नेता तथा कार्यकर्तामा वितृष्णा जन्मायो । जसका कारण उनीहरुले कतै देखिने गरी र कतै नदेखिने गरी पार्टीलाई बलियो बनाउन ध्यान दिएनन् ।

दोस्रो, विद्यमान शासन प्रणालीप्रति तीव्र असन्तुष्टि जनाउँदै र उपेक्षित उत्पीडित मधेसी समुदायको हकहितको सम्वद्र्धन गर्न भन्दै आन्दोलन गरेका नेताहरुको नातावाद र कृपावादले उनीहरुमाथि शंका गर्ने प्रशस्त ठाउँ दियो । मधेसी गरिब, दलितलगायतको अधिकार स्थापित गर्न लागेको भन्ने अधिकांश जमिन्दार र हुनेखाने घरानाका नेताहरुको पारिवारिक मोहका कारण उनीहरुले उठाएका मुद्दामा उनीहरुकै लगावउपर प्रश्न गर्ने ठाउँ दियो ।

यी दुई कारणले प्रश्नको पृष्ठभूमिमा पार्टी निर्माण गरेका नेताहरुलाई उत्तर दिनुपर्ने बाध्यता आइपर्याे । किनकि, शासकहरुको चर्काे आलोचना गर्ने उनीहरुद्वारा शासित क्षेत्र (पार्टी होस् या अन्य केही) झन् विवादित बन्न पुगे ।

 

ओरालोतर्फ आन्दोलन

संविधानसभाबाट संविधान निर्माण भएसँगै अहिले राजपामा रहेका नेताहरुले त्यसको चर्काे आलोचना गरे । उनीहरुले त्यसबखत मधेसमा ठूलो आन्दोलन गरे । सोही आन्दोलनलाई ढाल बनाएर भारतले नेपालमाथि नाकाबन्दी लगायो ।

लामो आन्दोलन गरिए पनि त्यसले उनीहरुका माग पूरा हुन सकेन । किनकि, मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताले उनीहरुको ‘नौ नारी’ छामिसकेका थिए । अर्कातर्फ, मधेसकै जनतामा पनि आफ्ना भनिएका नेतासँग मोह भंग हुँदै थियो । जसका कारण उनीहरुका ‘नाजायज माग’ लाई बेवास्ता गर्न प्रमुख भनिएका राजनीतिक दललाई सजिलो भयो ।

वर्तमान अवस्थामा प्रदेश २ को सरकारमा उसको प्रतिनिधित्वलाई बिर्सने हो भने राजपाको ठ्याक्कै भूमिका के छ भन्ने बेला आएको छ । संघीय संसदमा राजपाको उपस्थिति त छ तर न ऊ सरकारमा छ न त प्रतिपक्षमा नै ! संविधान निर्माणपछि भएको आन्दोलनमा राजपाका नेताहरुको मुख्य निशाना बनेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुन ‘भोट’ दिएपछि संसदमा राजपा सत्तापक्ष बनेको छ । तर, सरकारमा नजाने निर्णय गरेसँगै ऊ सरकारमा छैन सत्तापक्षमा सीमित छ ।

 

कुरो यसो हो : केशव झा

राजपाका महासचिव केशव झाको विश्लेषण अलि फरक छ । सरकारमा पनि नभएको र प्रतिपक्षमा पनि नभएको राजपा संसदमा सत्तापक्ष छ । त्यसैले राजपा कहाँ छ ? भन्ने प्रश्नमा झाले भने, ‘राजपा अहिले संसदमा छ, जनतामा छ । सरकारमा नरहे पनि सरकारलाई सघाएको छ । सैद्धान्तिक रुपमा आफूलाई प्रतिपक्षकै भूमिकामा ठाने पनि व्यावहारिक रुपमा प्रतिपक्षी नबनेरै बसेको छ ।’

तर, झा स्वयं स्वीकार्छन् कि राजपाको अहिलेको ठ्याक्कै अडान के हो भन्न जटिल छ । ‘अहिले ठ्याक्कै यो स्ट्यान्ड हो भन्न सहज छैन,’ झाले न्युज कारोबारसँग भने, ‘हामीले यो संविधानलाई पूर्णरुपमा स्वीकार गरिसकेका छैनौं । यसर्थ हामी कुन धरातलमा छौं, जाँदैछौं भन्ने विषयमा हामी छलफलमै छैं ।’ यद्यपि, लामो समयदेखि आफूहरुले उठाएको मागमा राजपा टसमस नभएको उनको भनाइ छ ।

राजपाले आन्दोलन चर्काएका बेला संविधान संशोधन गर्न हुन्न भनेर अडान लिँदै आएका केपी शर्मा ओली अहिले दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री छन् । सरकारलाई राजपाले पनि समर्थन गरेको छ । यद्यपि, राजपा केपी ओलीकै नेतृत्वमा संविधान संशोधन हुनेमा आशावादी छ । त्यसो हुने आधार के छ त ? झा भन्छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले त हामीसँग लिखित सहमति नै गर्नुभएको छ । फोरमलाई लिखित सहमति गरेर सरकारमा लैजानुभएको छ । उहाँहरु गम्भीर नभएको भए सरकार बनाउन बहुमत थियो । समर्थनका लागि हामीलाई सायदै बोलाउनुहुन्थ्यो । त्यसैले हामी संविधान संशोधन हुन्छ भन्ने कुरामा ढुक्क छौं ।’

तर, सरकारले संविधान संशोधन नगरे राजपा के गर्छ ? झा सरकारले आफूहरुसँग संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले संविधान संशोधन हुनेमा आशावादी छन् । तर, त्यसका लागि पनि आफूहरुले निश्चित समय खोजेको उनको भनाइ छ । ‘यसका लागि हामीले टाइम फ्रेम खोजेका छौं । त्यो हामीलाई दिनुपर्याे । तर, अब हामी धेरै पर्खन सक्दैनौं । अल्झाउन टार्न, खोजियो भने हामी आन्दोलनमा जान बाध्य हुन्छौं ।’

प्रकाशित समय : ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु