गृहपृष्ठ प्रदेश ७ मा राजधानी विवाद उत्कर्षमा, सदनदेखि सडकसम्म आन्दोलन सुरु
प्रदेश ७ मा राजधानी विवाद उत्कर्षमा, सदनदेखि सडकसम्म आन्दोलन सुरु
प्रदेश ७ को स्थायी राजधानी र नामको विषयलाई लिएर प्रदेश सभा देखि सडकसम्म आन्दोलन सुरु भएको छ । संसदीय समितिले प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ तेघरीको जंगलमा सार्ने र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव संसदमा पेश गरेपछि आन्दोलन सुरु भएको हो ।
शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा मतदानको कार्यक्रम राखिएको थियो । तर, कांग्रेसले प्रक्रिया अगाडी बढाउन दिएन । संसद बैठक बिहान ११ बजे सुरु भए लगत्तै कांग्रेसका सांसदहरु कुर्सीबाट उठेर नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको छ ।
प्रदेश राजधानी धनगढी नै हुनुपर्ने भन्दै कांग्रेस सांसदले संसोधन प्रस्ताव समेत दर्ता गराएका छन् । तर, प्रदेश सभा बैठकामा शुक्रबार संसदीय समितिले पेश गरेको राजधानी र नामका विषयमा मतदान हुने भएपछि कांग्रेसले अवरोध गरेको हो ।

राजधानीको विषयलाई लिएर धनगढी तनावग्रस्त बनेको छ । राजधानी सार्न नहुने भन्दै धनगढीबासी शुक्रबार पनि आन्दोलित भएका छन् । राजधानी सार्ने प्रस्ताव संसदमा पेश भएपछि स्थानीयले आन्दोलन गर्दै आएका छन् । उनीहरुले बिहानैदेखि प्रदेश सभा अगाडी प्रदर्शन गरिरहेका छन् ।

उता, प्रदेश राजधानीको माग गर्दै डोटीको दिपायलमा पनि आन्दोलन सुरु भएको छ । संसदीय समितिले प्रदेशसभामा प्रतिवेदन पेश गरेसँगै दिपायलवासी आन्दोलितमा उत्रिएका हुन् । बुधबार साँझ दिपायलमा राँके जुलुश निकालिएको थियो भने घरघरमा कालोझण्डा राखिएको थियो । आन्दोलनकै कार्यक्रम अनुसार शुक्रबार बन्दको आह्वान गरिएको छ ।
प्रकाशित समय : १९:३२ बजे


















