global ime bank Long Banner Ad

गृहपृष्ठ विमललाई भित्र्यायो च्यासलले, थ्री स्टारकाे प्रयास असफल

विमललाई भित्र्यायो च्यासलले, थ्री स्टारकाे प्रयास असफल

विमललाई भित्र्यायो च्यासलले, थ्री स्टारकाे प्रयास असफल

राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । शनिबारदेखि शुरु हुने लिगका लागि च्यासलले विमललाई भित्र्याउने निर्णय गरेको हो । ठूला क्लबले विमललाई लिन निकै प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो । च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको हो ।

विमललाई क्लबमा आबद्ध गर्न थ्री स्टारले प्रयास गरे पनि अन्तिम समयमा कुरा नमिलेपछि विमल च्यासल गएका हुन् । च्यासलले विमलसँग सम्झौता भएको पुष्टि गरेपनि सम्झौताको रकम भने खुलाउन मानेन । च्यासलले ‘ए’ डिभिजनका लागि खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको जनाएको छ ।

चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबबीच हुनेछ । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएका कारण केही समयका लागि लिग स्थगित हुनेछ ।

रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् । थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब लिगमा सहभागी हुनेछन् ।
(रासस)

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु