global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि विकास बैंक कुनै वाणिज्य बैंकभन्दा कम छैन

कृषि विकास बैंक कुनै वाणिज्य बैंकभन्दा कम छैन

कृषि विकास बैंक कुनै वाणिज्य बैंकभन्दा कम छैन

कुनै बेला कृषि विकास बैंक खराब ऋण, तरलता अभाव, कमजोर इन्टरनल कन्ट्रोलिङ सिस्टम, हिसाब मिलानको समस्यालगायतले थलिएको थियो । तर, केही वर्षको अन्तरालमा यो बैंकले आफूलाई निकै अब्बल र शसक्त साबित गरिसकेको छ । कृषि क्षेत्रलाई मुख्य आधार बनाएर वि.सं. २०२४ सालमा विकास बैंकका रुपमा स्थापना भएको बैंक यतिबेला बलियो वाणिज्य बैंक बनिसकेको छ । नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरेका लिला प्रकाश सिटौला प्रमुख कार्यकारी अधिकृत भएर आएपछि कृषि विकास बैंकमा यो खालको कायापलट सम्भव भएको हो । सीईओ हुँदै गर्दा बैंकलाई ‘नम्बर वान’ बनाउने उद्घोष गरेका सिटौला सो पदबाट तीन/चार महिनापछि सम्भवतः विदा हुँदैछन् । उनको घोषणाअनुसार बैंक नम्बर वान हुन नसके पनि ठूलो परिवर्तन भने देखिएको छ । छोटो समयमा सम्भव भएको परिवर्तन र आगामी योजनालगायतबारे सिटौलासँग नवराज कुँवरले गरेको कुराकानी :

२०७१ सालमा सीईओ हुँदै गर्दा तपाईंले भन्नुभएको थियो – कृषि विकास बैंकलाई नेपालको नम्बर वान बैंक बनाउँछु, अहिले २८ वटा वाणिज्य बैंकमा तपाईंको बैंकको स्थान के हो ?

नम्बर वान बैंक बनाउने मेरो उद्देश्य थियो । त्यसका लागि मैले केही एक्सन प्लानहरू बताएको थिएँ । ती योजना धेरै चाहिँ कार्यान्वयन पनि गरेँ । तर, प्राविधिक रुपमा नम्बर वान हुन सकिएन, नम्बर थ्री भइयो । तर, पहिलो र दोस्रो स्थानमा गणना हुने बैंकहरुसँग कोषको लागत र कर्मचारी खर्च तुलना गर्ने हो भने हामी पहिलो नै हौँ । हाम्रो कस्ट अफ फन्ड झण्डै साढे ७ प्रतिशत छ । जबकि, पहिलो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको साढे २ प्रतिशत छ । दोस्रो नम्बरमा रहेको नविल बैंकको कर्मचारी खर्च ९४/९५ करोड छ । तर, हाम्रो सवा ३ अर्ब रुपैयाँ छ । आम्दानीको हिसाबले त हामी नम्बर वान नै हौँ । नम्बर वानको सांकेतिक अर्थ, बैंकलाई राम्रो बनाउँछु भन्न खोज्या हो । अहिले कृषि विकास बैंक राम्रो स्थितिमा छ ।

राम्रो स्थिति भन्नाले ?

कुनै पनि वाणिज्य बैंकले दिने सेवा हामी दिन्छौँ । खासमा कृषि विकास बैंकलाई एक हदसम्म आधुनिकीकरण गरिएको छ । वाणिज्य बैंकहरुले दिने सबै किसिमका सेवा सुविधा हामीले पनि दिएका छौँ । ई–बैैंकिङ, मोबाइल बैंकिङ, डेबिट–क्रेडिट कार्डलगायत आईपीसी, ईसीजीको सुविधा कृषि विकास बैंकका ग्राहकले लिन सक्छन् । बैंकको नाफा पनि राम्रो छ । अघिल्लो वर्षको वित्तीय विवरणलाई नै आधार मानेर हेरौँ, कृषि विकास बैंकको प्रगति त्यहीँबाट पनि प्रष्ट हुन्छ । राष्ट्र बैंकको नीतिअनुसार नीति नियम बनाएर रिस्क म्यानेजमेन्ट, विजनेस कन्टिन्युटी प्लान, लिक्विडिटी, इन्टरनल अडिट पोलिसी, क्रेडिट पोलिसी, गाइडलाइन पूर्ण रूपमा तयार भएर बोर्डले पास गरी लागू पनि भइसकेका छन् । यसले गर्दा आन्तरिक रूपमा हामी बलियो बनेका छौँ ।

 

तपाईं आउनुभन्दा अगाडि बैंकमा कस्ता समस्या थिए, कति सुधारिए ?

फाइनान्सियलभन्दा पनि नन् फाइनान्सियल पार्ट बैंकको समस्याको रुपमा थियो । खासगरी कम्बाइन्ड म्यानेजमेन्टमा ठूलै समस्या थियो । मानव संशाधन व्यवस्थापन अत्यन्तै नाजुक थियो, जकडिएको थियो । आन्तरिक वृत्तिविकासका कुराहरु अनिवार्य पनि थिएन र निरन्तर पनि थिएन । हिसाबको रेकर्ड हुँदैन थियो । बैंकजस्तो संवेदनशील संस्थामा जब हिसाब नै मिल्दैन भने योभन्दा ठूलो समस्या अरु के हुन्छ ? बैंकले नयाँ प्रविधिलाई पनि अंगाल्न सकेको थिएन । तर, यी सबै कुरा सुधारिएको छ । सबै नेपालीका छोराछोरीले अब प्रतिष्पर्धाका आधारमा कृषि विकास बैंकमा काम गर्न सक्छन् । कर्मचारीहरुको क्षमता अभिवृद्धि गरिएको छ । कुनै पनि वाणिज्य बैंकका भन्दा कमजोर छैनन् हाम्रा कर्मचारी ।

दक्ष जनशक्तिबिना सरकारी वा प्राइभेट कुनै पनि संस्थाले संस्थागत उद्देश्य प्राप्त गर्न सक्दैन । संस्थागत उपलब्धिका लागि उचित समयमा उचित पदमा कर्मचारी चयन हुनु आवश्यक हुन्छ । यही विषयलाई मध्यनजर गर्दै हामीले सर्वप्रथम लामो समयदेखि अव्यवस्थित रहँदै आएको यस बैंकको कर्मचारी छनौट, भर्ना, सरुवा, बढुवादेखि अवकाससम्मका कार्यहरु व्यवस्थित बनाउनमा लामो होमवर्क गर्यौँ । यसै क्रममा बैंकमा दक्ष जनशक्ति पदपुर्तिका लागि लोकसेवा आयोगको सहभागिता हुने सम्मको व्यवस्था गरियो ।

कर्मचारीको व्यक्तित्व विकास र उत्प्रेरणासम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्दै कर्मचारीको मनोबल बढाउने काम गरियो । त्यस्तै मानव संसाधन व्यवस्थापनभित्र रहेका बेथिती, विकृति र विसंगतिलाई हटाएर सभ्य जनशक्ति स्थापनामा सहयोग पुग्ने किसिमका कार्य गरियो । म यस बैंकको कार्यकारी अधिकृतको भूमिकामा आएपछि भएको जनशक्ति व्यवस्थापनसम्बन्धी कार्य एक उत्पादकत्व र कार्यकुशलतासँग जोडिएको उपलब्धिमुलक तथा संगठनात्मक सुधारको कार्य हो । बैंकको लेखापद्धतिमा सुधार, जोखिम कर्जा न्यूनिकरणका लागि गरेको पहल, अन्य बैंक तथा वित्तीय संस्थाहरुको गाइडलाइनसम्बन्धी कार्य यस बैंकमा मैले कार्यकारी अधिकृतको पद सम्हालेपछि नै भएका कार्य हुन् ।

हामी कोर बैंकिङ प्रणालीमा गइसकेका छौँ । हामीले झण्डै १ हजार जना नयाँ कर्मचारी भर्ना गरेर स्मार्ट स्टाफ ल्याएका छौँ । काउन्टरमा हात कमाउने कर्मचारी अब छैनन् । अरू बैंकमा पनि म गएको छु, त्यहाँ आधा घण्टा, एक घण्टा लाइनमा बस्नुपर्ने अवस्था मैले देखेको छु । तर, कृषि विकास बैंकमा जानुभयो भने करिब पाँच दश मिनेटमै तपाईंले चेक साट्न पाउनुहुनेछ । ८, १० वर्ष अगाडिको कृषि विकास बैंक र अहिलेको कृषि विकास बैंकमा आकाश जमिनको फरक तपाईंले पाउनुहुनेछ । अहिले छिटो सेवा दिने बैंकमा कृषि विकास बैंक पर्छ । बैंकमा नगई यस्तो सोच राख्नु गलत हुन्छ । हामी पूरै हाइटेक प्रविधिमा गइसकेका छौँ ।

कृषि विकास बैंकमा लामो समयसम्म आइटीको समस्या थियो, त्यसको समाधानका लागि के गर्नुभयो ?

हो, कृषि विकास बैंकको पुरानो समस्या आईटी नै हो । त्यतिबेला हामी आर १० भर्सनमा काम गरिरहेका थियौँ, जबकि अरु बैंकहरु १४/१५ मा गइसकेका थिए । हामीले आईटी पोलिसी बनायौँ र आईटीलाई आर १६ कोर बैंकिङ सिस्टम (सीबीएस) मा विकास गरिसकेका छौँ ।

इन्टरनल कन्ट्रोलिङ सिस्टम कस्तो छ ?

हाम्रो अहिलेको मुख्य प्राथमिकता भनेकै यही हो । आईटीलाई बलियो बनाउने र प्राविधिक रुपमा बलियो बन्ने । इन्टरनल अडिट, सिस्टम अडिटलाई चुस्त पार्नमा हाम्रो ध्यान केन्द्रित छ । हामीले विभिन्न संयन्त्र बनाएर इन्टरनल कन्ट्रोलिङ सिस्टमलाई बलियो बनाउने प्रयास गरिरहेका छौँ ।

बैंकका सबै शाखालाई कोर बैंकिङ सिस्टम (सीबीएस) प्रणालीमा ढाल्नुभएको हो ?

म आउनुअघि अधिकांस कार्यालयहरु सीबीएसमा आवद्ध थिएनन् । त्यतिबेला जम्मा ८४ वटा कार्यालय सीबीएसमा थिए । अहिले करिब २ सय ३० वटा कार्यालय सीबीएसमा आबद्ध भएका छन् । अब केही महिनाभित्रै हाम्रा शाखा २ सय ७० पुग्छन् । थपिने नयाँ शाखा सीबीएसमै जान्छन् ।

२ सय ६२ शाखामा अझै ३२ वटा शाखा सीबीएसमा आबद्ध नहुनुको कारण के हो ?

भएका सबै कार्यालयलाई गत वर्ष नै सीबीएसमा आवद्ध गर्ने हाम्रो योजना थियो । तर,
नेपाल राष्ट्र बैंकसँग हामीले केही छुटको सुविधा लिनुपर्ने भएकाले ढिलाइ भएको हो । अबको दुई÷तीन महिनाभित्रमा सबै शाखा सीबीएसमा आवद्ध हुनेछन् ।

भनेपछि अब वाणिज्य बैंकले दिने सबै किसिमको सुविधा कृषि विकास बैंकले दिन थाल्यो ?

केही समयअघिसम्म कृषि विकास बैंक ‘ख’ वर्गको बैंकको रुपमामात्रै परिचित थियो, त्यस्तै सुविधानमात्रै थिए । अब हामी पूर्ण रूपमा वाणिज्य बैंकको लयमा छौँ । बैंकका सबै शाखालाई सीबीएस प्रणालीमा ढाली सकेका छौँ । बैंकको पूर्ण सिस्टमलाई पनि अडिट गरिरहेका छौँ । बैंकले व्यापार विस्तारलाई पनि तीव्र पारेको छ । बैंकको आम्दानी धेरै राम्रो छ । हामीले एलसी (प्रतित पत्र), ग्यारेन्टी (बैंक जमानत), विदेशी मुद्रा लेनदेनलगायतको कार्य गरेका छौँ । साधारण सभालाई निरन्तरता दिएका छौँ । अब कृषि विकास बैंकलाई हामीले विशुद्ध कमर्सियल बैंक बनाइसकेका छौँ । ई–बैैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, डेबिट–क्रेडिट कार्डलगायत आईपीसी, भिसा कार्ड ईसीजीको सुविधा दिएका छौँ । साथै आईपीओ, एफपीओ खरिद बिक्रीका लागि सी–आस्वा सेवा, डिम्याटको सेवा पनि दिएका छौँ । हामीले विदेशी मुद्रा सटहीको सुविधा दिन बाँकी छ ।

कुनै पनि वाणिज्य बैंकमा पाइने सुविधा अब कृषि विकास बैंकमै पाइन्छ, त्यो पनि चुस्त सेवा, यो कुरा सेवाग्राहीलाई थाहा छ ?

बढीभन्दा बढी जनतामा यो कुराबारे जानकारी गराउन बजारीकरणको आवश्यकता पर्दछ । बैंकलाई धेरै जनताले चिनेका छन् । तर, यहाँबाट पाउने सुविधाबारे अपडेट नभएका हुन सक्छन् । फेरि अहिलेसम्म यो बैंकलाई कृषि क्षेत्रको मात्र बैंक भनेर चिनिएको थियो । कृषकलाई मात्र ऋण दिन्छ भन्ने बुझाइ थियो । अब त्यो होइन, कृषि विकास बैंक नेपालको सबैभन्दा ठूलो कमर्सियल बैंक हो । नेपालमा रहेका अन्य वाणिज्य बैंकले गर्ने सबै क्रियाकलाप यो बैंकले पनि गर्छ भनेर हामीले बजारीकरण गरिरहेका छौँ । मास मिडियाको प्रयोगदेखि ब्रान्ड एम्बेस्डर नियुक्त गरेका छौँ । विभिन्न जनचेतनामूलक कार्यहरू गरेका छौँ । कृषि विकास बैंकले ठूला–ठूला व्यावसायिक घरानाहरूलाई भित्र्याउन सफल भएको छ । वित्तीय बजारमा भएका अन्य व्यावसायिक बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धी बैंकका रूपमा हामी खडा भइसकेका छौँ । यी सबैको प्रचारप्रसारमा हामीले जोड दिएका छौँ ।

बैंकको नामले नै अप्ठेरो पारेको भए परिवर्तन गर्दा हुन्थ्यो नि ! किन भएन ?

हो, नामका कारण अहिले पनि कृषि विकास बैंकलाई कतिपयले ‘ख’ वर्गको बैंक हो कि भन्ने बुझ्छन् । तर, यही नाम फेरि सारा नेपालीको मन–मस्तिष्कमा बस्न सफल छ । नाम परिवर्तनको कुरा पनि उठेको हो तर हाम्रो परम्परागत ग्राहकको संख्या ठूलो छ । हामीले एकैपटक आफ्नो परम्परालाई पूरै परिवर्तन गर्न सक्दैनौँ । यो गर्नु उचित पनि होइन । हाम्रो मास अझै पनि कृषि विकास बैंकमा नै अभ्यस्त छ । हाम्रो कार्य र प्रभावले कृषि विकास बैंक भनेर चिनायो, यसलाई परिवर्तन गर्नभन्दा सेवामा गुणस्तर वृद्धि गरी बजारमा प्रतिस्पर्धामा जान उचित ठानेर हामी अगाडि बढ्यौँ । हाम्रो फोकस पनि कृषिमा नै हो । हामी आधुनिक प्रणालीलाई प्रयोगमा ल्याउने र आफ्नो अस्तित्वलाई बचाउने पक्षमा छौँ । सरकारी स्वामित्वको बैंक भएकाले पनि तुरुन्तै लोगो, नाम परिवर्तन गर्ने कुरा त्यति सजिलो हुँदैन । केही परिवर्तन गर्नुपर्यो भने पनि जनताबाट अनुमोदन गर्नुपर्ने हुन्छ । नामभन्दा हामीले कामलाई महत्व दियौँ भने मानिसहरुमा बैंकप्रतिको धारणा परिवर्तन हुन सक्छ । भएन भने नाम परिवर्तन गर्न पनि असम्भव नै होइन, त्यो पनि गर्न सकिन्छ ।

कृषि विकास बैंकका खास ग्राहक को हुन् ?

कृषि विकास बैंकले नेपालको कृषि क्षेत्रलाई बढी केन्द्रित गरी लगानी गर्ने गरेको छ । तर, अब हामी कमर्सियल ढाँचामा गएकाले कुनै पनि वर्गका मानिस हाम्रा ग्राहक हुन् ।

कृषिमा लगानी बढाउन अन्य बैंकहरु डराइरहेका बेला कृषि क्षेत्रको विकासलाई नै केन्द्रित गरी खोलिएको यो बैंक व्यावसायिक भएको छ, कारण के होला ?

हाम्रो प्रमुख उद्देश्य नै कृषि क्षेत्रको विकास गर्नु हो । कृषि क्षेत्रको विकासमा सरकारले लिएको लक्ष्य प्राप्तिमा सघाउनु हो । त्यसैले कृषि विकास बैंकको प्रतिस्पर्धाको क्षेत्र कृषि मानिएको छ । फाइदाभन्दा कृषिमै अभ्यस्त भएकाले सन्तुष्ट छौँ । अहिले पनि झण्डै ३३ प्रतिशतको पोर्टफोलियो कृषिमै छ । राष्ट्र बैंकले कृषि र ऊर्जामा १५ प्रतिशत भनेको छ । जबकि, हामी एक्लैले ३३ प्रतिशत लगानी कृषिमात्रै गरेका छौँ । कृषि प्रधान मुलुकमा हामीमात्रै यस्तो बैंक भयौँ, जो लगानी पनि कृषिमै बढी गर्ने, ग्राहक पनि अधिकांश कृषक नै भएको, हाम्रो लोनको साइज पनि निकै सानो । एक खर्बभन्दा बढी लगानी भएको बैंकको औसत ऋण साइज सात लाख छ । यसले कृषि विकास बैंक कति साना मानिसहरुसम्म पुगेको छ, सामाजिक उत्तरदायित्व कुन रुपमा पूरा गरेको छ भन्ने कुरा प्रष्ट्याउँछ ।

सिद्धान्ततः जुन बैंकको आधार ब्याजदर कम हुन्छ, त्यो बैंकमा कर्जाको ब्याज सस्तो हुन्छ । तर, कृषि विकास बैंकले निक्षेपमा दिने र कर्जा लिने ब्याज निकै उच्च रहेको भनिन्छ ? कुरा के हो ?

कृषिको ऋण सबैभन्दा सस्तो हाम्रो छ । कृषि कर्जामा हालैमात्र हामीले पुनः ० दशमलव ५ प्रतिशत घटाएका छौँ । हामीले विजनेस चाहिँ माइक्रोफाइनान्सले जस्तो गरिरहेका छौँ, सबैभन्दा बढी कर्मचारी खर्च छ । अपरेशन कस्ट बढी हुन्छ । माइक्रोफाइनान्सले त २० प्रतिशत ब्याज लिएका छन् । अनुत्पादकतर्फ मानौँ, ओभरड्राफ्ट लोनमा अन्य बैंक र हाम्रोमा फरक पर्दैन । हाम्रो बेस रेट बढी छ । त्यसमा सबैभन्दा ठूलो अंश कस्ट अफ फण्डको छ, जुन साढे सात प्रतिशत छ । त्यसपछि कर्मचारीको खर्च छ । त्यसैले डिपोजिटरलाई कम दिन्छ भन्न मिल्दैन । किनकि, त्यो साढे सात प्रतिशत त डिपोजिटरलाई दिएको खर्च हो । हामी औसतमा साढे सात प्रतिशत दिँदैछौँ, अन्य वाणिज्य बैंकको साढे २ प्रतिशत छ । त्यसैले स्वाभाविक रुपमा हामी निक्षेपलाई पनि बढी ब्याजदर दिन्छौँ । ब्याजदर बढी दिएपछि मार्जिनल इन्टरेस्ट रेट बढ्छ । तर, अरु बैंकको तुलनामा हाम्रो कम छ ।

कृषि विकास बैंक निक्षेप संकलनमा खासै सफल हुन सकेको छैन, किन ?

बैंकको सबैभन्दा ठूलो समस्या यही हो । हाम्रो कस्ट अफ फन्ड नै उच्च छ । त्यसका लागि एउटै उपाय भनेको लो कस्ट अफ फन्ड जम्मा गर्ने हो । यसका लागि हाम्रा कार्यालयका कर्मचारी जनतासँग भिज्नुपर्यो, नजिक हुुनुपर्यो र उनीहरु बचतका लागि बैंकसम्म आउने वातावरण बनाउनुपर्यो । तपाईंले देखिरहनुभएकै छ, बैंकिङ क्षेत्रमा अहिले अवाञ्छित प्रतिस्पर्धा छ । कसैले आज ५ प्रतिशत भन्यो भने अर्कोले ६, अर्कोले ७ भनिरहेका छन् । केही समय अगाडि एनआइसी एसियाले ११ प्रतिशतको डिभेन्चर ल्यायो । यो खालको प्रतिस्पर्धा भएकाले गरिब जनतासँग भिजेर काम गर्नुपर्ने र नेपाल अधिराज्यभर सेवा दिनुपर्ने हाम्रोजस्तो बैंकले बढी ब्याज दिएर पैसा लियो भने अहिलेको साढे ७ प्रतिशतबाट त झन् माथि जाँदो हो ।

ग्राहकहरू ऋण लिनुपर्दा सरकारी बैंकमा जाने तर निक्षेप संकलन गर्न निजी बैंकमा जाने प्रवृत्ति हाबी छ भनिन्छ नि ?

यो चाहिँ ठूलै समस्या छ हाम्रा लागि । ऋण लिनुपर्दा हामीकहाँ आउने तर डिपोजिटका लागि भने अरु बैंकमा जाने गरेको देख्दा हामीलाई निकै सकस परेको छ । हामी ऋण दिने मात्र होइनौँ, हामीले राम्रो ब्याजदरमा निक्षेप संकलन पनि गर्छौँ । अहिले हेर्ने हो भने सबैभन्दा बढी व्याजदर हामीले नै दिएका छौँ । सेभिङका लागि विभिन्न ग्राहक योजना अनुसारका व्याजदर निर्धारण गरेका छौँ । अहिले पनि केही दुर्गम क्षेत्रमा कृषि विकास बैंक सेभिङका लागि भन्दा पनि लोनकै लागि भन्ने मानसिकता नभएको होइन, यसलाई हामीले सुधार गर्दै लैजाँदै छौँ ।

नन पर्फमिङ लोनको अवस्था के छ ?

म आउँदा ७ प्रतिशतको हाराहारीमा थियो । अहिले ३ प्रतिशतको हाराहारीमा छ । सैद्धान्तिक रुपमा त १ दशमलव ९ प्रतिशत छ, सबै व्याजसहित गर्दा ३ प्रतिशत पुग्छ । त्यसैले निष्कृय कर्जा अधिकतम घटाउन पनि हामी सफल भएका छौँ ।

गत वर्ष नाफा पनि बढाउनुभयो, सम्भावित नोक्सानीलाई पनि करेक्सन गर्नुभयो, संचालन मुनाफा बढाउनुभयो, जगेडा कोषलाई पनि मजबुत बनाउनुभएको छ, कसरी सम्भव भयो ?

गुणस्तरयुक्त सम्पत्ति सृजना गर्नु र विजनेसको आकार बढ्नुले नै बैंकका सबै सूचक सकारात्मक हुन सकेको हो । एनपीएल घटाइयो, पाउनुपर्ने ब्याज घट्यो । यी दुईटा घट्नबित्तिकै आम्दानी नियमित हुन्छ । यस्तो हुँदा बढी नाफा हुन्छ, जति बढी नाफा हुन्छ त्यति बढी रिजर्भमा जान्छ ।

गत वर्ष साढे ३ अर्बभन्दा बढी खुद नाफा कमाउन सफल हुनुभएको छ, चालू वर्षको लक्ष्य के छ ?

गत वर्षको ३ अर्ब ६७ करोड रुपैयाँ ट्याक्स र बोनसपछिको नाफा हो । यसपटक हामीले ६ गुणा नाफा गर्ने योजना बनाएका छौँ । अब व्यापारको वातावरण कस्तो बन्छ त्यसले पनि निर्धारण गर्छ ।

कृषिमा लगानी कति पुर्याउने योजना छ ?

चालू वर्षमा पनि हामीले कृषिलाई उच्च प्राथमिकतामा राखेका छौँ । यो वर्ष कृषिमा ४० प्रतिशत लगानी पुर्याउने योजना छ । चालू आर्थिक वर्षमा पनि कृषिमा केन्द्रित हुनुपर्छ भनेर नयाँ–नयाँ कर्यक्रमहरू ल्याएका छौँ । हामी व्यावसायिक हुनुको अर्थ कृषि क्षेत्रलाई छोड्नु होइन कि यसलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै लैजानु हो । अझ कृषि क्षेत्रको विकासका लागि क्षेत्रगतरूपमा (सातै प्रदेशमा) लगानी वृद्धि गर्ने योजना छ ।

तपाईंका शाखा कार्यालयहरूको कार्यसम्पादन त्यति राम्रो छैन भनिन्छ, सानो ऋणका लागि महिनौँसम्म झुलाइन्छ, यसरी त सेवाग्राही आउँदैनन् होला नि ?

यस्तो गुनासा केही समयअघिसम्म निरन्तर आउँथे । फाट्टाफुट्ट अझै पनि आउँछन् । यसलाई ठीक ढंगले समाधान गर्नुपर्छ । सेवाग्राहीबाट यस्ता गुनासा नआउन् भनेर हामीले हाम्रा कर्मचारीलाई स्किल डेभलपमेन्टका लागि विभिन्न तालिम दिने गरेका छौँ । हामीले निरन्तर जस्तो कर्मचारी भर्ना, कर्मचारीको स्तरोन्नति गर्ने कार्य गरि नै राखेका छौँ । दुर्गम जिल्लादेखि सुगमसम्ममा कर्मचारीलाई स्थानान्तरण गर्ने कार्य गरिरहन्छौँ । कर्मचारीको व्यवहारको कुरामा यदि त्यस्तो भएमा उनीहरूलाई व्यक्तिगत व्यवहारमा सुधारका लागि विभिन्न वर्कसपमा सहभागी गराउने अथवा कार्बाही गर्नेसम्म पनि हुनेछ । हाम्रो बैंक विकेन्द्रित ऋण स्वीकृति पद्धतीमा आधारित छ । ब्रान्चहरुले एउटा लिमिटमा ऋण स्वीकृत गर्न सक्छन् । योभन्दा माथि क्षेत्रीय कार्यालयले गर्छ, केन्द्रसम्म आउनुपर्दैन । ठूलो लोनमात्रै यहाँ आउने हो । हामीले ३० लाख रुपैयाँसम्मको लोन त स्थानीय तहमै दिन्छौँ । अनि पहिलाको जस्तो सजिलो ढंगले बैंकले लोन दिँदैन । राष्ट्र बैंकले बनाएका नीति नियमअनुसार हामी चल्नुपर्छ । ती पालना गर्ने क्रममा ढिलाइ हुन सक्छ । त्यसमा पनि सरकारी स्वामित्व भएको संस्था हो । केन्द्रिकृत भए पो निर्णय गरिहालौँ भन्नु । यहाँ निश्चित प्रक्रियाहरु हुन्छन् ।

सरकारी बैंकमा क्षमतावान कर्मचारीको अभाव, नयाँ प्रविधिसँग टाढा र ग्राहकसँगको व्यवहार रुखो हुने गरेको गुनासो सुनिन्छ के भन्नु हुन्छ ?

यसको समाधानका लागि नै मैले कर्मचारीको क्षमता अभिवृद्धि र सीप विकासमा जोड दिएको हुँ । खासगरी फ्रन्टलाइनमा बसेर काम गर्नेलाई विशेष तालीम पनि दिइरहेका छौँ । कतिपय ठाउँमा सर्भिस डेलिभरीमा समस्या मैले देखिरहेको छु । यस्तो समस्या समाधानका लागि केही समय लाग्छ । सरकारी स्वामित्वको बैंक भएकाले कर्मचारीको मानसिकता परिवर्तन गर्न केही समय प्रयास गर्नैपर्ने देखेको छु ।

सरकारी बैंकले किन राजस्व संकलनको कार्य नगरेको होला ? सरकारले सरकारी कारोबारको लागि निजी बैंकलाई किन रोज्यो ?

कृषि विकास बैंकले सरकारी कारोबार गर्दैनथ्यो । तर म यहाँ आएपछि सरकारी कारोबार सुरु गरेँ । हामीलाई ग्रामीण क्षेत्रको सरकारी कारोबारलाई मात्र स्वीकृति दिइएको छ । त्यसमा पनि कमर्सियल बैंकहरूले उछिनेका छन् । बंैकमा देखिएको अस्वस्थ प्रतिस्पर्धामा हामी संलग्न हुन चाहन्नौँ । सरकारले पहिले त कृषि विकास बैंक वाणिज्य नभएकाले पनि निजी क्षेत्रलाई दियो । तर अब हामी वाणिज्य बैंकको अवधारणामा आइ नै सकेका छौँ । अन्य प्रतिस्पर्धी बैंकको तुलनामा हाम्रो सेवा सुविधामा कुनै कमी छैन । सरकारी कारोबार गर्न सरकारी बैंकले अवसर पाउनुपर्छ भन्ने हाम्रो माग हो । हामीले पहल पनि गरिरहेका छौँ । हामी सक्षम छौँ भनेर प्रचार प्रसार पनि गरेका छौँ । हामीले विभिन्न सार्वजनिक स्थलहरू जस्तोः हस्पिटलमा काउन्टर राखेर सेवा दिएका छौँ । केही स्थानीय तहमा सरकारी कारोवार पनि सुरु भइसकेको छ ।

एउटा सेवाग्राहीले यो बैंकबाट कस्ता खालका सुविधा पाउन सक्छ ?

ऋण लिनेले ऋण पाउँछन्, निक्षेपकर्ताले मुनासिव प्रतिफल पाउँछन् । सेयर होल्डर छन् २ लाख ४८ हजार, उनीहरुले पनि मुनासिव प्रतिफल पाउँछन् । अब हामी डिम्याट आफैँ गर्न थालेका छौँ । व्यापारीले सबै किसिमका सुविधा पाउँछन् । कृषकले कृषि कर्जा लिन सक्छन् ।

व्यवसायिक कृषि गर्न चाहने कृषकलाई के भन्न चाहनुहुन्छ ?
व्यवसायिक कृषि गर्न चाहनेका लागि कृषि विकास बैंक ठूलो सहयोगी बन्न सक्छ । यसपटक हामीलाई झण्डै ५ अर्ब रुपैयाँको लिमिट राष्ट्र बैंकले दिएको छ । उद्यमशील युवा, कृषक र उत्पादनशील क्षेत्रमा लाग्न चाहनेलाई कृषि विकास बैंकले प्रोत्साहन गर्छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु