गृहपृष्ठ युनेस्को काठमाडौँद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण सुरु
युनेस्को काठमाडौँद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण सुरु
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) काठमाडौंले सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका–५, थामेका अभौतिक सम्पदाको सूचीकरण आरम्भ गरेको छ ।
३२ साउन २०८१ मा त्यहाँ भएको हिमताल विस्फोटपश्चातको बाढीका कारण बस्ती र सम्पदा प्रभावित भएपछि युनेस्को काठमाडौंले परियोजना तर्जुमा गरेर विज्ञसहितको अध्ययन टोली थामेमा पठाएको थियो । समुदायको सहभागितामा गरिएको अध्ययनको निष्कर्षका आधारमा आज भक्तपुरको नगरकोटमा आयोजित छलफल कार्यक्रममा थामेमा सूचीकरणको प्रक्रियामा रहेका सांस्कृतिक सम्पदाहरुको जानकारी दिइएको हो ।
उक्त सूचीमा खानाका परिकारतर्फ आलु रोटी, सोर्किम, थो र रिल्दोम (आलुको परिकार) तथा चाडपर्व र रीतिरिवाजतर्फ मणि रिम्दु, दुम्जी, लोसार, छेचु, चिरिम र बिदाइको रितलगायत रहेको अध्येता डा नीलकमल चापागाईंले बताइन् । उनले विस्तृत अध्ययन गर्दा उक्त सूची बढ्न सक्ने जनाउँदै थामेमा बस्ती विस्थापनसमेत हुन थालेकाले जीवन्त सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव डा सुरेशसुरज श्रेष्ठले युनेस्को मुख्यालयको नीतिलाई पालना गर्दै सरकारले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको काम सुरु गरिसकेको जानकारी दिए । उनले सातै प्रदेशमा अभौतिक सम्पदा सूचीकरणको अभियान सञ्चालन गरेर आह्वान गर्दा गतवर्ष १०५ सम्पदा सूचीकरणका लागि आवेदन आएकामा अहिलेसम्म नेवार सुदायको योमरी परिकार सूचीकरणमा परेको बताए ।
योमरीलाई युनेस्कोको मार्गदर्शनअनुसार अन्तर्राष्ट्रियस्तरमा सूचीकरणका लागि प्रक्रिया सुरु भएको उनले बताए । राष्ट्रसंघको महासभाले सन् २००३ अक्टोबर १७ मा पारित गरेको अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई नेपालले सन् २०१० मा अनुमोदन गरेको थियो ।
कार्यक्रममा युनेस्कोका लागि नेपाल प्रतिनिधि याको डु तोइटले हिमाली क्षेत्रमा बसोबास गर्दै आएको शेर्पा समुदायलाई केन्द्रमा राखेर उक्त अध्ययन गरिएको र यसलाई सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा प्रकाशन गरिने बताए ।
प्रकाशित समय : १९:५६ बजे



















