global ime bank Long Banner Ad

गृहपृष्ठ अन्नपूर्ण आधार शिविरमा ५३ धावक

अन्नपूर्ण आधार शिविरमा ५३ धावक

अन्नपूर्ण आधार शिविरमा ५३ धावक

कास्की । अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विस २०७५ देखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिदैं आएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैटौँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । म्याराथनका लागि १८ वर्षदेखि ६९ उमेर समूहका आठ जना विदेशी र ४५ जना स्वदेशी धावकको सहभागी रहने छ ।

रिकी योञ्जनले व्यवस्थापकीय संयोजन गर्नुभएको म्याराथनमा यस अघिका विजेता तिलकबहादुर सुनारलगायत धावक अन्नपूर्ण आधार शिविर पुगेर पूर्वाभ्यासमा जुटिसको छन ।

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो ।

हर्जोजको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेका थिए । हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्र विश्वव्यापी चासो र चर्चाको विषय बन्न पुगेको हो । अन्नपूर्ण प्रथम आरोहणको सफलताको तीन वर्षपछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको मानिएको छ ।

हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढेको र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको विषयले यहाँको पर्यटनसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष रुपमा जोडिएको छ ।

अन्नपूर्ण हिमालको महत्वबारे विश्व समुदायमा प्रचारप्रसार गर्न २०७४ सालमा तत्कालीन प्रतिनिधिसभा विकास समिति सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण आधार शिविरमा पहिलोपटक अन्नपूर्ण महोत्सव गरिएको थियो । यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट धावकहरु ४२।१९५ किलोमिटर दूरी पूरा गरी घान्द्रुक पुग्ने छन् ।

समान्यतः तीन दिन समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकले करिब चार घण्टामा यो दूरी पार गर्नेछन् । यसअघिका पाँचौँ संस्करणसम्म प्रथम हुने धावकले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको संयोजक गुरुङले जानकारी दिए ।

त्यस क्षेत्रको पदयात्रामा रहने पहिलो दिन आधार शिविरबाट बम्बो या दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक आइपुग्ने गरेका छन् । अन्नपूर्ण म्याराथन प्रचार समितिका संयोजक टंकराज अधिकारीका अनुसार अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छे« आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ ।

हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहणपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिने गरिएको छ ।

यस म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः रु एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रचारप्रसार संयोजक अधिकारीले जानकारी दिए ।

हिमाली भूगोल, साहसिक पदमार्गसँगै मनोरम प्राकृतिक सौन्दर्यका कारण यस म्याराथनप्रतिको आकर्षण बर्सेनि बढ्दै गएकोछ । यस म्याराथनले अन्नपूर्ण प्रथमको मात्र नभएर समग्र गण्डकी प्रदेश र नेपालकै हिमाली पर्यटनमा विशिष्ट योगदान पु¥याउने संयोजक अधिकारीले बताए ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता चर्चित हिमशृङ्खला रहेका छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलो, दोस्रो, तेस्रो र चौथो तथा अन्नपूर्ण साउथ, गङ्गापूर्ण र बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि र लमजुङ आदि हिमाल रहेका छन् ।

हिमाल आरोहणको इतिहास बोकेको अन्नपूर्ण हिमालको महत्वलाई उजागर गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि म्याराथनलगायत गतिविधि महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए।

 

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु