व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ
वि.सं.२०७५ असोज ५ शुक्रवार ०२:४९
shares

कैलालीको जोशीपुरमा गत भदौ २८ गते राति भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई बिहीबार जिल्ला प्रहरी कार्यलय कैलालीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
जोशीपुरको टीकापुर रोडमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका रामप्रसाद ओझाको हत्यामा संलग्न मध्येका मुख्य योजनाकार कैलालीकै जोशीपुर गाउँपालिका वडा नम्बर १ का ४१ बर्षिय गंगाराम चौधरी सहित उनका सहयोगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
जोशीपुर गाउँपालिका वडा नम्बर १ कै ३८ बर्षिय राजकुमार डगौरा चौधरीलाई उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले सार्वजनिक गरेको छ भने हत्यामा सहयोगी भूमिका निर्वाह गरेको भन्दै कैलालीको टीकापुर नगरपालिकाको वडा नम्बर ३ घरभई गोदावरी नगरपालिकाको वडा नम्बर ८ मा व्यवसाय गर्दै आएका ३५ वर्षिय डम्मर चौधरीलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।
उनिहरुबाट मृतक ओझाले प्रयोग गर्ने एक थान मोटरसाईकल, १ सय पर्ने एनसेलका २२ थान रिचार्ज कार्ड र ७ हजार १ सय १० नगद बरामद गरिएको प्रहरीको भनाई छ । गंगाराम चौधरी आफ्नै घरबाट समातिएका थिए भने राज कुमार डगौरा चौधरी धनगढी उप–महानगरपालिकाको वडा नम्बर २ को नेपाल भारत सीमा नजिक र डम्मर चौधरी गोदावरी नगरपालिकाको वडा नम्ब ८ बाट समातिएका थिए । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ का व्यापारी रामप्रशाद जैशी (ओझा) को भदौ २८ गते राति उनकै घरमा हत्या भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार व्यापारीसँग प्रशस्त पैसा हुने भएकाले उनीसँग भएको पैसा लुट्नकै लागि हत्या गरिएको खुलेको छ । छोरा छोरीसहित श्रीमती तीज मनाउन माइती घर टीकापुर गएको मौका छोपेर दुवै जनाले जैशीको पसलमै आएर मदिरा पिएको र त्यही क्रममा मसिनो तारले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
१० वर्षदेखि व्यवसाय गर्दै आएका ओझाले भारु सटहीको कामसमेत गर्ने गरेको स्थानीय बताउँछन् । ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी छन् ।























