काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार, विगतका गल्ती र अर्थ मन्त्रालयका समिति

20.2K
shares

कहिलेकाहीँ पानी पर्दा हामी कसैको एउटा छातामुनि चार-पाँच जना टाउको लुकाएर ओतिन्छौं । अनि पानीलाई गाली गर्न सुरु गर्छौं– पानी परेर बर्बाद गर्यो, सबै भिजायो । यो टाउको लुकाइ कुनै राम्रो कामका लागि टिम वर्क नभई हरेकले छाता नबोकेर गरेको गल्ती लुकाउने काममात्र हो । सेयर बजारमा अहिले समितिका नाममा गल्ती गर्नेहरुले यस्तै टाउको लुकाउने काम गरिरहेका छन् । यो समितिले टिमवर्कको रुपमा काम गरेर अघि बढ्न सक्ने अवस्था छैन । यसले केवल गर्न चाहनेका लागि अवरोध र गर्न नचाहनेका लागि बाटो खुला गर्नेछ ।

यस्तै, पूर्वअर्थमन्त्रीहरुको जमात रहेको अर्थ समितिमा अर्को समिति बन्ने कुरा आएको छ– विज्ञ समिति । यो अर्थ समिति यसरी नै छातामुनि टाउको लुकाउनेको समिति हो । सेयर बजारको विकासप्रति आफूले गरेको अपमान, अवरोध र विवेध पूर्ण व्यवहारको पाप पखाल्न विज्ञ समितिको कुरा गरिरहेका छन्, पूर्वअर्थमन्त्रीहरु । बजार विकास भएन, बजार डुब्यो भनेर पूर्वअर्थमन्त्री कोही सडकमा, कोही सदनमा र कोही सोसल मिडियामा कुर्लिरहेका छन्, कोही हालका अर्थमन्त्रीलाई गाली गरिरहेका छन् । तर, आफ्नो कार्यकालमा पुँजीबजार विकासमा गरेको बेवास्ता कारण मोसो दलिएको आफ्नो अनुहार कसैले ऐनामा हेर्न भ्याएका भने छैनन् ।

एकमाथि अर्को समिति बनाएर समितिको जंगल बनाउनु भनेको बजारको भौतिक पूर्वाधार र कानुनी पूर्वाधारको विकासलाई ओझेलमा पारेर सेवाग्राहीप्रति अपमान र अन्याय गर्नु सिवाय अर्को केही हुन सक्दैन । अर्को समिति बनाइन्छ भने अर्थ मन्त्रालयले समिति बनाएर गरेको भुलमाथिको अर्को महाभुल हुनेछ । सेयर बजार घट्छ । बढ्छ । यो समयअनुसार आफ्नो बाटोमा हिँड्छ । बजारमा कसैले कमाइरहेका हुन्छन्, कसैले गुमाइरहेका हुन्छन् । अहिले बजार सोही अनुसार चलिरहेको छ । यसमा आत्तिनुपर्ने केही छैन ।

नेप्सेका घटबढका अंकले बजारमा कुनै समस्या थपेको व्यक्तिगत रुपमा म देख्दिन । तर, यतिका (२५) वर्षसम्म सेयर बजारमा हामीले गरेको पुँजीबजारको भौतिक, कानुनी र शैक्षिक पूर्वाधारको प्रगतिको दयनीय अवस्था देखेरचाहिँ आत्तिनुपर्ने अवस्था छ । नेप्से अर्थात् पुँजीबजारको विकासलाई नेप्सेका अंकसँग जोडिनु वा हेरिनु हुँदैन, यसको सेवाको गुणस्तरसँग जोडिनुपर्छ । आधुनिकीकरणको विकाससँग जोडिनुपर्छ । सुशासनसँग जोडिनुपर्छ । समयअनुसार विश्वबजारमा आएका परिवर्तनसँग तुलना गरेर हेरिनुपर्छ । तर, यहाँ पुँजीबजारको विकास नेप्सेको रेखामा हेर्ने गरिन्छ । नेप्सेको कारोबार रकममा हेर्ने गरिन्छ । नेप्सेको कारोबार भएको सेयरको परिणाममा हेर्ने गरिन्छ । त्योभन्दा अचम्म त सेयर धितो राखेर बैंकले दिने ऋणको प्रतिशतमा हेर्ने गरिन्छ । यो सरकारले पनि सोही प्रतिशतलाई विकास मानेर अन्य कुरालाई बेवास्ता गरेमा बजारका लागि दुर्भाग्य हुनेछ ।

पूर्वअर्थमन्त्रीहरु सडकमा उत्रेर कुर्लंदै वर्तमान सरकारले पुँजीबजारलाई ध्वस्त बनायो भनेको सुनिन्छ । यो केवल आफ्नो आंगको भैंसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने भनेजस्तो मात्र हो । बजारको विकास नहुनु एकपछि अर्का अर्थमन्त्री, धितोपत्र बोर्ड व्यवस्थापन र नेप्सेका पदाधिकारीको बेवास्ताको एकमुष्ट परिणाम हो । अहिले आएर सेयर बजारमा समस्या देख्ने तर आफू पदमा भएका बेला समस्या नदेख्ने ती अर्थमन्त्रीको जमात देखेर समाजलाई दया लागेर आउँछ । अनि ती काम नगर्ने पूर्वअर्थमन्त्रीका कुरा सुनेर तिनको जयजयकार गर्ने लगानीकर्ताको प्रवृत्ति भेडा बराबर हो । बजारको साँच्चै विकास चाहने हो भने ती पूर्वअर्थमन्त्रीको प्रतिवाद गर्न सक्नुपर्छ ।

विज्ञ समितिको कुरा गर्नुभन्दा पहिला २०५० सालबाट बजारको भौतिक पूर्वाधार, कानुनी पूर्वाधार र शैक्षिक पूर्वाधारको विकासका लागि आफ्नो कार्यकालमा के गरियो भनेर हरेक पूर्वअर्थमन्त्रीले सूची बनाएर अर्थसमितिमा समितिमा छलफल गरे हुन्छ । र, समितिमा नभएका पूर्वअर्थमन्त्रीलाई पनि निमन्त्रणा गर्दा सुनमा सुगन्ध हुनेछ । यस्तै सडकमा उत्रेर आफ्नो मोसो दलिएको अनुहार देखाउनुअघि आफ्नो पालामा पुँजीबजारको विकासका लागि गरेका कामका सूची लिएर सर्वसाधारणलाई देखाए हुन्छ ।

विज्ञ समितिको कुरा गर्नुभन्दा पहिला २०५० सालबाट बजारको भौतिक पूर्वाधार, कानुनी पूर्वाधार र शैक्षिक पूर्वाधारको विकासका लागि आफ्नो कार्यकालमा के गरियो भनेर हरेक पूर्वअर्थमन्त्रीले सूची बनाएर अर्थसमितिमा समितिमा छलफल गरे हुन्छ ।

अर्थ मन्त्रालयले सेयर बजारको विकासप्रति आफ्नो दायित्व नदेखेझैं गरेर समिति बनाएको छ । नेपाल धितोपत्र बोर्डले पनि बजारको समस्या देख्न सकेको छैन भने अलग्गै समितिको प्रस्ताव गर्दा राम्रै हुन्छ, जुन समिति पूर्वअध्यक्षहरुको बन्नुपर्छ । बजारको विकासका लागि र समस्या पत्ता लगाउन पूर्वअध्यक्षहरुको सुझाव समिति बनाइएमा बजारको कानुनी विकासका लागि गर्नुपर्ने काम पछि धकेल्न राम्रै वहाना मिल्नेछ । बोर्डले प्रस्ताव गर्ने पूर्वअध्यक्ष सम्मिलित समितिले बजारका समस्या नदेखेझैं गर्न आँखामा कसरी पट्टी बाँधेर बस्न सकिन्छ र बजारको कानुनी विकासको खुटा बाँधेर आफ्नो जागिर पकाउन सकिन्छ भनेर राम्रै सुझाव दिनेछ । आफ्नो पालामा घाम तापेर बस्ने पूर्वअध्यक्षहरु अहिले पुँजीबजारका समस्या देख्ने भएका छन्, किनकि सडकमा उनीहरु कुर्लिन थालेका छन् । मिडियामा छ्यापछ्याप्ती बजारको समस्या र समाधान अनि विकासको सुझाव दिइरहेका भेटिन्छन् ।

 यस्तै, अर्को महत्वपूर्ण समिति नेप्सेका पूर्वमहाप्रबन्धक (जीएम)हरुको पनि बनाउन सकिन्छ । जसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्ताव गरे अति उत्तम हुन्छ । यो समितिले नेप्सेका वर्षौंदेखिका समस्या केलाउनेछ । जसले दोस्रो बजारलाई प्राविधिक रुपमा अघि बढ्न नदिई अपांगता बनाएर राख्नका लागि कसरी काम गर्न सकिन्छ र नेप्सेको जगेडा कोषको पैसा बैंकमा राख्न कमिसनमा कसरी बार्गेनिङ गर्न सकिन्छ भनेर राम्रो सुझाव दिनेछ । जुन अहिलेका जीएमलाई पनि अत्यन्तै काम लाग्नेछ ।

यतिका समिति बनेपछि सेयर बजारका समस्या अत्यन्तै सूक्ष्म तरिकाले पहिचान हुनेछन् अनि त सेयर बजारको विकास चीनको उच्च गतिको रेलभन्दा छिटो दौडनेछ । त्यसपछि न कसैले सडकमा कुर्लनुपर्छ, न त अनसन नै बस्नुपर्छ ।

 

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)