मोनोरेल परियोजनाको डीपीआर तयार गर्न सम्झौता हुँदै
वि.सं.२०७५ पुस ४ बुधवार १६:१२
shares

काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बुधबार सम्झौता हुँदै छ । मोनोरेलको डीपीआर तयार गर्नेसम्बन्धी सम्झौता गर्न नेपाल आएका चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५)का पदाधिकारीसँगै बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारकी दिए सम्झौता भएको छ महिनाभित्र डीपीआर तयार हुने उनले बताए । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।
काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनका लागि यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको तथा अध्ययनले मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी, अध्ययनले चक्रपथमा मोनोरेल निर्माणको कुल लागत एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने तथा चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा स्टेशन रहने गरी निर्माण सम्पन्न गर्न सकिने देखाएको थियो ।
यसअघि, काठमाडौँ साइमेक्सले इन्क प्रालिले समेत काठमाडौं र ललितपुर महानगरपालिकामा मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच गत वर्ष सम्झौता भएको थियो । साइमेक्स कम्पनीलेले चिनियाँ बिवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो । चार महिना लगाएर तयार पारिएको सो सम्भाव्यता अध्ययन जर्मनी र बेलायतका विज्ञहरूको सलग्नतामा भएको थियो । विद्युतबाट चल्ने मोनोरेलको निर्माण मेट्रो रेलभन्दा समय र लागतको हिसाबले तीन गुणा सस्तो पर्छ ।

























