nmb bank

गृहपृष्ठ बढ्यो क्यूआर कोडको प्रयोग

बढ्यो क्यूआर कोडको प्रयोग

बढ्यो क्यूआर कोडको प्रयोग

कोरोनाभाइरस महामारीले विश्व आर्थिक गतिविधि ठप्प भएर सर्वत्र क्षति पुग्दा कतिपय क्षेत्रले भने नयाँ किसिमको लाभ पनि पाएका छन् । यस्तै लाभ प्राप्त गर्ने एउटा क्षेत्र बनेको छ‑ बैँकिङ । प्रविधिको प्रयोगमा निकै अगाडि भएर पनि ग्राहकले दैनिक जीवनमा प्रयोगमा ल्याउन नसक्दा बैँक तथा वित्तीय क्षेत्रले प्राविधिक लाभ लिन सकिरहेको थिएन । तर, यसपटक प्रविधिको प्रयोगमा बैँकिङ क्षेत्र निकै अगाडि देखिएको छ ।

कोरोना महामारीको समयमा व्यापार व्यवसायमा सामानको भुक्तानीलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले साना व्यवसायीले क्यूआर कोड थ्रेडको प्रयोग बढाएका थिए । सुरुमा ग्राहकले खासै त्यसलाई प्रयोगमा ल्याएनन् तर केही समय बित्दै जाँदा यसको प्रयोगमा बढोत्तरी आएको छ । अहिले इलेक्ट्रोनिक पसल, ज्वेलरी, पुस्तक पसल, स्टेसनरी, कपडा पसल, किराना पसल, कम्प्युटर पसल, तरकारी पसललगायतमा क्यूआर कोड राख्न थालिएपछि क्यूआरबाट भुक्तानी गर्ने चलन पनि बढ्न थालेको छ ।

चीन, भारतलगायतका सीमा जोडिएका देशमा क्यूआर कोडको प्रयोग यत्रतत्र भइरहँदा नेपालमा खासै प्राथमिकतामा पर्न सकेको थिएन । कोरोना महामारीका कारण डिजिटल भुक्तानीको प्रयोग बढेको मौका छोपेर नेपाल राष्ट्र बैँकले भुक्तानीका लागि सबैभन्दा सरल र सहज माध्यम क्यूआर कोडका लागि अभियान नै सञ्चालन गरेको छ ।

पुस १० गतेदेखि राष्ट्र बैँकले क्यूआर कोड भुक्तानी अभियानकै रुपमा अघि बढाएको हो । गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड भुक्तानीलाई देशव्यापी बनाउने भन्दै नक्सालको तरकारी बजारबाट अभियानको उद्घाटन गरेका हुन् ।

सानिमा बैँक र नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिको सहकार्यमा अभियान सुरु भएयता पसल‑पसलमा क्यूआर कोड राख्ने क्रम बढेको छ । साउनयताका ६ महिनामा ५२ हजार ३२१ क्यूआर कोड थपिएका छन् भने पुसमा मात्रै २२ हजार ८३७ क्यूआर कोड थ्रेड थपिएको राष्ट्र बैँकको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा देशभर १ लाख ३८ हजार ९६८ क्यूआर कोड रहेकोमा पुससम्ममा १ लाख ९१ हजार २९२ वटा पुगेका छन् । अहिले विभिन्न बैँकहरुको अग्रसरतामा सफा टेम्पुमा पनि क्यूआर कोडबाट भाडा तिर्न सकिने व्यवस्था सुरु भइसकेको छ ।

प्रयोगसँगै क्यूआरबाट हुने भुक्तानी पनि बढ्दै गएको छ । पुसमा राष्ट्र बैँकले अभियान सुरु गरेयता कति रूपैयाँबराबरको कारोबार भयो भन्ने तथ्यांक आइसकेको छैन तर त्यसअघि नै कारोबार रकमले उकालो ग्राफ बनाउँदै लगिसकेको छ । मंसिरमा मात्रै क्यूआर कोडमार्फत १ अर्ब २५ करोड ६० लाख रुपैयाँबराबरको ३ लाख ४३ हजार ५७४ वटा कारोबार भएको राष्ट्र बैँकले जनाएको छ । कात्तिकको तुलनामा मंसिरमा क्यूआर कोडबाट हुने कारोबारको संख्या एक लाखभन्दा धेरैले बढेको छ । राष्ट्र बैँकका अनुसार क्यूआर कोडबाट कात्तिकमा ९३ करोड ९० लाख रुपैयाँबराबरको २ लाख ४१ हजार ८१८ वटा कारोबार भएको थियो ।

विगतमा वित्तीय पूर्वाधार अभावमा राष्ट्र बैँकले चाहेर पनि यस्ता काम अघि बढाउन सकेको थिएन । अहिले वित्तीय पूर्वाधारको पनि विकास भएको र नजिकका छिमेकी देशमा यसको प्रयोग तीव्र भएको अवस्थामा हामीले ढिला गर्नु हुँदैन भन्ने निष्कर्षमा राष्ट्र बैँक पुगेको गभर्नर महाप्रसाद अधिकारी बताउँछन् । ‘हामीले साना‑साना पसलले आफैँ सुरु गरेको देख्यौँ, बैँक तथा वित्तीय संस्थाको पनि चासो बढेको पायौँ र प्रवर्धनात्मक कार्यका लागि अभियान चलाउन भनेर मौद्रिक नीतिमै उल्लेख गर्‍यौँ,’ उनी भन्छन्, ‘अब यसलाई देशव्यापी बनाएर लैजान्छौँ ।’

राष्ट्र बैँकले क्यूआर कोड भुक्तानी बढाउन विभिन्न जिंगल बनाउने, चेतनामूलक कार्यक्रम गर्ने, विद्यार्थीसँग राष्ट्र बैँकलगायतका कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने भएको छ । क्यूआर कोड प्रवर्धनका लागि बैँकहरू पनि सक्रियतापूर्वक लागेको गर्भनर अधिकारी बताउँछन् । ‘राष्ट्र बैँकले भनेरमात्र होइन, बैँकहरू आफैँ पनि यसमा लागिरहेका छन्,’ उनी भन्छन् ।

व्यावसायिक पारदर्शिता र सुशासनका लागि प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको राष्ट्र बैँकको ठहर छ । ‘क्यूआर कोड विस्तारले नेपालको डिजिटल भुक्तानी र व्यावसायिक पद्धतिलाई अर्कै स्तरमा पुर्‍याउनेछ,’ उनले भने, ‘न्यु जेनेरेसनले खल्तीमा पैसा बोक्न छाडेका छन्, युवाले सुरु गरेका बिजनेसले स्मार्ट बिजनेस अवधारणालाई आत्मसात गरेको छ, यसले पनि डिजिटल पेमेन्टको भ्यालु बढाउँदै लगेको छ ।’

इन्फोग्राफ : डीआर

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु