काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीदेव भट्टराई : रंगमञ्चको रफ्तारमा पण्डितको छोरो

20.22K
shares

सुगठित शरीर र जोसिलो पाराले उनको व्यक्तित्वको पहिलो परिचय दिन्छ । झट्ट हेर्दा निष्फिक्री स्वभावका देखिने उनले रंगिन जिन्दगी बाँचेको आभाष हुन्छ । तर, वास्तविकता यतिमा सीमित कहाँ छ र ! उनी भन्छन्, ‘मैले मेरा जीवनका पीडा र वेदनालाई कुल्चेर हाँसेको छु ।’

उनी अर्थात् श्रीदेव भट्टराई । चियाको राजधानी इलाममा ३२ वर्ष पहिले जन्मिएका भट्टराई इलामको माटोमा लडीबुडी गरेको र चियाबारीमा लुकामारी खेलेको अहिले पनि झल्झली सम्झन्छन् । बालापन सबैको जस्तो उनको पनि रंगिन थियो । भन्छन्, ‘भलै ! त्यो बेला जिन्दगीका रंगहरुबारे परिचित थिइनँ होला तर बालापनको रंगले मेरा अंग–अंग चुमेका छन् ।’

श्रीदेवका पिता पण्डित थिए । पुराण वाचनमा इलामभर उनको ख्याति थियो । आमा भने गृहिणी । पिताको पण्डित्याइँले उनलाई पनि बालापनमा ‘साना पण्डित’ र ‘बाजे’ बनायो । कतिपयले त उनलाई ‘बाहुन बाजे’ पनि भने ।

धार्मिक आस्थासँग अन्योन्याश्रित रुपमा जोडिएको नेपाली समाजमा उनले पनि बालापनदेखि नै उँचो दर्जाको सम्मान पाए, भलै मध्यमवर्गीय परिवार नै किन नहोस् । बुबालाई ‘पण्डित बा’ भनेर धेरैले सम्मानपूर्वक बोलाउँथे । कतिपयले ढोग्थे पनि । ‘बुबाका कारण चिनेका र नचिनेकाले मलाई पनि सम्मान गर्थे,’ उनी सम्झिन्छन् ।

इलामको दानाबारी गाविस (अहिलेको माई नगरपालिका)का स्थायी बासिन्दा भट्टराईको सुरुवाती शिक्षा सोही ठाउँको कनकाई माध्यमिक विद्यालयमा भयो । सोही विद्यालयबाट उनले प्रवेशिका (एसएलसी) उत्तीर्ण गरे ।

श्रीदेवका पिता उनलाई पनि आफूजस्तै पण्डित बनाउन चाहन्थे । ‘बुबा मलाई पनि आफूजस्तै पण्डित बनाउन चाहनुहुन्थ्यो,’ उनले भने, ‘तर किन किन बुबाको सपना र मेरो चाहनाले मेल खान सकेन ।’

बाल्यकालदेखिकै चञ्चले स्वभावका श्रीदेव ९ कक्षा पढ्दा–पढ्दै घरबाट भागेर पहिले दार्जिलिङ फुपूको घर पुगे । त्यसको ६ महिनापछि काठमाडौं हान्निए । यो २०५६ सालतिरको कुरा हो । त्यतिबेला माओवादीले जनयुद्ध गरिरहेको थियो । त्यस्तो समयमा भागेर दार्जिलिङ पुगेका श्रीदेवलाई फुपू दिदीले माओवादीमा लागेको शंका गरिन् तर उनले आफू त्यसमा नलागेको बताए ।

पहिलोपटक काठमाडौं आएर उनी एकजना आफन्तको घरमा बसे । केही समयपछि इलाम फर्किए र एसएलसीसम्मको शिक्षा पूरा गरे । त्यसपछि प्लस टु सिन्धुलीमा गरेका श्रीदेवले काठमाडौं आएर केही समय सञ्चारकर्मसमेत गरे ।

बच्चै हुँदादेखिको ‘हिरो’ बन्ने लक्ष्य बोकेका उनी मुम्बई गए र चलचित्रसम्बन्धी स्नातक तहसम्मको अध्ययन गरे । त्यसपछि उनले औपचारिक शिक्षालाई निरन्तरता दिएनन् । किन त ? उनी भन्छन्, ‘यसको ठ्याक्कै यही कारण हो भन्न सक्दिनँ, औपचारिक शिक्षा अघि बढाउन नसके पनि सिक्ने क्रम भने रोकिएको छैन ।’

श्रीदेवलाई पिताले वाचन गरेको श्रीमद्भागवतले भन्दा राजेश हमालले अभिनय गरेको चलचित्रले लोभ्यायो । त्यससँगै उनले ‘हिरो’ बन्ने लक्ष्य लिए । पण्डित्याइँले किन उनलाई तान्न सकेन ? श्रीदेव भन्छन्, ‘मलाई सुरुदेखि नै गाना–बजानामा विशेष रुची थियो । पण्डित्याइँका लागि कडा अनुशासनमा बसेर संस्कृत पढ्नु पर्थ्याे । गाना–बजानामा शोख भएको मान्छेलाई त्यसखाले कार्य मन पर्ने कुरा भएन ।’

तर, उनलाई पण्डित्याइँभन्दा कलाकारितामा आउन गाह्रो भयो । यो स्वाभाविक पनि थियो । उनलाई पण्डित्याँर्इ भन्दा कलाकारिता गर्न गाह्रो थियो । किनकि, उनलाई पण्डित्याइँमा ‘पण्डितबा’को छोरा हुने अवसर थियो तर कलाकारितामा थिएन । तर, उनले जीवनमा दोस्रो बाटो रोजे ।

अध्ययनकै क्रममा मुम्बईमा खर्च पुर्याउन उनलाई गाह्रो भयो । त्यसपछि केही समय काठमाडौं आएर काम गरे अनि कमाएको पैसा लिएर पुनः मुम्बई गए र अध्ययनमा खर्च गरे । यसरी उनले आफ्नो पढाइ पूरा गरे ।

त्यसपछि कला क्षेत्रमा उनका थप संघर्षपूर्ण दिन सुरु भए । उनले अनिल विरही र माण्डवी त्रिपाठीले गाएको ‘इलाम बजार घुमौला, माई खोला तरौंला…’ बोलको गीतमा मोडलिङ गरे । यो अभिनयमा उनले दुई थरी प्रतिक्रिया पाए । दर्शक, श्रोताको स्यावासी पाए भने आफन्तले कुरा काटे । श्रीदेव भन्छन्, ‘मेरो पहिलो भिडियो सार्वजनिक भएपछि गाउँमा पण्डितको छोरो बिग्रियो, खत्तम भयो भनेर धेरैले आलोचना गरे । दर्शकहरुबाट भने माया पाएँ ।’

दर्शकको मायाले हौसिएका श्रीदेव गाउँलेले कुरा काटे पनि आत्तिएनन् बरु कलाकारितालाई नै निरन्तरता दिए । त्यसपछि उनले ‘भाइमारा’ चलचित्रमा खलनायकलाई सपोर्ट गर्ने पात्रका रुपमा अभिनय गरे । भाइमारा उनले अभिनय गरेको पहिलो चलचित्र हो ।

श्रीदेवले चलचित्र ‘न्यु जेनेरेसन’मा नायकको भूमिका निर्वाह गरे । उनले नायकको भूमिका निर्वाह गरेको यो पहिलो चलचित्र हो । त्यसपछि उनले ‘सुकुलगुण्डा’, ‘बिरानो माया’, ‘चाल’ जस्ता चलचित्रमा अभिनय गरे । उनका दुई चलचित्र दर्शकसमक्ष आउँदै छन् । आगामी दिनमा पनि कलाकारितालाई निरन्तरता दिने लक्ष्य लिएको कुरा सुनाउँदा श्रीदेव गर्विलो सुनिन्छन् । भन्छन्, ‘इस्टोन इरा र कुइनेटो मेरा आगामी चलचित्र हुन् ।’

कलाकारितामा लागेको केही समय ठूलो दुःख भोग्नुपरे पनि पछिल्ला दिन भने केही सुखद बन्दै गएको श्रीदेवको अनुभव छ । चौथो नेसनल क्यापिटल अवार्ड– २०१८, मोडल सङ्स इन्टरनेसनल– २०१८ (यूएईमा सम्पन्न), सातौं म्युजिक खबर अबार्ड (बेस्ट मोडल अवार्ड– सुगम संगीततर्फ, विराटनगरमा सम्पन्न) उनले प्राप्त गरेका अबार्ड हुन् । त्यस्तै उनले अभिनय गरेका विभिन्न गीतले विभिन्न विधामा अवार्ड जितेका छन् ।

हिजोआज देश–विदेशमा भएका कन्सर्टमा व्यस्त श्रीदेवले दुई वर्षको अन्तरालमा ११ देश भ्रमण गरेका छन् । आजीवन चलचित्र क्षेत्रमै समर्पित भएर लाग्ने सोच बनाएका उनी बीचको केही समय यस क्षेत्रमा पूर्ण रुपमा लाग्न नपाएकोमा पछुतो मान्छन् ।

नेपाली कलाक्षेत्रमा संघर्षरत एउटा कलाकारको दृष्टिमा यो क्षेत्रको कमजोरी के हो ? भन्ने प्रश्नमा श्रीदेव भन्छन्, ‘नेपाली कला क्षेत्रमा गहन अध्ययनको अभाव छ ।’ चलचित्रका संवाद, कथालगायतका पक्षमा सूक्ष्म विश्लेषण गरेर त्यसलाई सार्थक रुपमा पर्दामा उतार्ने हो भने नेपाली कला माथि उठ्ने उनको विश्लेषण छ ।

दैनिकजसो चलचित्र हेर्ने गरेको बताउने उनी पैसाको बलमा कलाकार बन्न खोज्ने प्रवृत्तिले भने क्षमतावान् कलाकारलाई ओझेलमा पार्न सक्ने टिप्पणी गर्छन् । कलाकारितामा लागेर जीवनमा अन्त कहीँ नमिल्ने खुसी पाएका छन् उनले । भन्छन्, ‘कलाकारिताले नै जीविकोपार्जन हुन नसकी साइडमा अर्काे पेसा गर्नुपर्ने बाध्यताले भने दुःखी तुल्याउँछ ।’

निरन्तर असफल भइरहँदा पनि यो क्षेत्रमा लागिरहनुलाई ‘नेपाली कला क्षेत्रको शक्ति’ का रुपमा विश्लेषण गर्छन् । यही शक्तिले नेपाली कलाक्षेत्रले कुनै दिन शिखर चुम्ने उनको विश्वास छ ।