काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुरुंगा : सेल्फी डाँडा भर्सेस ह्याप्पी ल्यान्ड

35.41K
shares

वसन्त ऋतुको आगमनसँगै उत्तरतर्फको जंगलले पालुवा फेर्दै गर्दा सन्काहा खोलाको बगरमा भने सानो–सानो हावाको झोक्काले पनि हुर्रर बालुवा उडाउँथ्यो । कतै–कतै उम्रिने काँस (खर) काटिसकेका ठुटाले वरपरको वातावरण झन् उराठलाग्दो देखिन्थ्यो । सुरुंगा बजारबाट उत्तरतर्फ देखिने चुरे पर्वत शृंखला र नजिकैको वनजंगलको मनोरम दृश्यलाई सन्काहाको बगरले निकै खल्लो पारिदिएको थियो ।

दशकौं बित्यो यसैगरी । नाम जस्तै छ– सन्काहा । झन्डी चुली (उत्तरतर्फको चुरे पर्वत)मा पानी पर्दा एकैछिनमा सन्किएर भेलबाढी आउँछ । तीन–चार घण्टामा खोलो सुकिसक्छ । बगरमा कमिला हिँड्न थाल्छन् । चुरेबाट बगेर आउने बालुवा थुप्रिएर घरखेतभन्दा अग्लो छ खोलो । अनि पानी घर र खेतमा नपसेर जाओस् पनि कहाँ । रोप्नेबित्तिकैको धान पुरेर कृषक हैरान हुन्छन् । बाला झुलेको धान हात्तीबाट बच्यो भने कहिलेकाहीँ सन्काहाबाट बच्दैनथ्यो ।

selfie-dada-happy-land

तर, कृषक सन्काहासँग कहिले डराएनन् । धान रोप्न नसके काँस उमारे । खोलो पूर्व मोडियो भने पश्चिमतिरका कृषकले धान लगाउँथे भने पश्चिम मोडिए पूर्वतिरकाले धान लगाउँथे । सन्काहाको सास्ती अहिले पनि कम भएको भने छैन । तर, कृषकले कहिल्यै धान र काँसको विकल्प देखेनन् ।

वर्षौंपछि सन्काहाको बगरमा सुरुंगाका काका–भतिजको जोडीले धान र काँसको विकल्प देख्यो । अहिले सन्काहाको बगरमा सुन फलिरहेको छ । सन्काहा खोलाको बगरमा चार बिघा जग्गा किनेर दिनेश र मनोज शिवाकोटीले सुरुमा बालुवा थुपारेर अग्लो बनाए र नाम राखे– ‘सेल्फी डाँडा’ । सन्काहाको बगरमा सेल्फी खिच्नेको भीड लाग्न थाल्यो ।

selfie-dada-happy-land

यता, सेल्फी डाँडाले आफ्नो परिचय बनाउँदै थियो, उता दिनेश र मनोज भने ‘ह्याप्पी ल्यान्ड’को योजना बुन्दै थिए । पार्कमा करिब १२ करोड लगानी भइसकेको छ । सन्काहाको बगरमा यति ठूलो लगानी गरेका उनीहरुलाई बाढीको पनि डर छैन । ‘बाढी त आउँछ, जान्छ, नराम्रो ठाउँ नै बनाउने हो, राम्रोमा त जसले पनि गरिहाल्छ नि !’ यसो भनिरहँदा दिनेश (काका) बढो विश्वस्त देखिन्थे । हुन पनि ह्याप्पी ल्यान्डको पश्चिमतर्फको पर्खाल भत्काउन खोज्दै–खोज्दै सन्काहाको बाढी दक्षिणतर्फ लाग्छ । काका–भतिज सेल्फी डाँडाबाट निष्फिक्री हेरिरहन्छन् ।

ह्याप्पी ल्यान्डको उत्तरतर्फ असोज–कात्तिकतिर (दसैंताका) सन्काहा खोलाको बगरमा फुल्ने काँस (खर)ले ल्याउने रौनक पुस–माघमा काँस काटेसँगै उराठ लाग्दो बगरमा परिणत हुन्छ । तर, अचेल त्यो उराठिलो वातावरण पूरै ओझेलमा परेको छ । चर्चा छ त केबल– ह्याप्पी ल्यान्डको अनि सेल्फी डाँडाको ।

ह्याप्पी ल्यान्ड पार्क पूर्वतिरको मनोरम भ्रमण स्थलको रुपमा विकास हुँदै गएको छ । कनकाई नगरपालिकामा घुम्ने ठाउँको अभाव छैन । झन्डी चुलीदेखि दोमुखा र जामुनखाडीसम्म यहाँका पर्यटकीय स्थल हुन्, जहाँ बर्सेनि लाखौं मानिस भ्रमण अवलोकनका लागि पुग्छन् । यसकारण, ह्याप्पी ल्यान्डले घुम्ने ठाउँको अभाव पूर्ति गर्ने होइन, नयाँ स्वाद चखाउने हो । नयाँ अनुभव दिलाउने हो । नयाँपन महसुस गराउने हो ।

बाघ, हात्तीलगायतका जनावरका मूर्तिमा लुकामारी खेल्दै युगल जोडीहरुले पोज–पोजमा तस्बिर लिइरहेको आनन्द नियाल्न होस् या टाटेपाटे खरायोसँग जिस्किँदै साना बालबालिका रमाएको दृश्यावलोकन गर्न होस्, ह्याप्पी ल्यान्ड पुग्नैपर्छ । फ्लाई ओभरबाट पोखरीमा डुलिरहने रंगिविरंगी माछाहरु अनि माछासँगसँगै पौडिरहने हाँसहरुले धेरैलाई लोभ्याउँछ । पेरिसको ‘आइफल टावर’, खरले छाएका घुमाउने घर अनि विश्रामस्थलको संयोजन पनि निकै आकर्षक लाग्छ ।

पार्क घुम्न आउनेहरु पनि दंग परेर फर्किन्छन् । ‘पूर्वमै यति रमाइलो ठाउँ अन्यत्र छैन होला,’ सेल्फी डाँडामा फोटो खिच्दा चुच्चो पारेको मुख सोझ्याइनसक्दै कनकाई–१ की किशोरी कल्पना अधिकारीले भनिन्, ‘बोर लाग्यो भने अचेल त यहीँ आउने हो, पाहुनालाई पनि घुमाउन यतै ल्याउने हो ।’ पार्क व्यवस्थापनका अनुसार अहिले मासिक ३० हजारभन्दा बढीले पार्क अवलोकन, भ्रमण गर्ने गरेका छन् ।

ह्याप्पी ल्यान्ड बनिसकेको छैन, निर्माणाधीन हो । ‘पार्कलाई सुन्दर र मनोरम बनाउन त बाँकी छ नै, चिडियाखाना विस्तार, विमान संग्रहालय र फोहोरा बनाउँदा पाँच करोड लगानी थपिने अनुमान छ,’ दिनेश भन्छन्, ‘बनिनसक्दै मानिसको आगमन बढेपछि २०७४ पुस २८ गतेदेखि औपचारिक प्रवेश खुला गरेका हौं, बनिसक्न अझै समय लाग्छ ।’ बैंकले लगानी गरेकाले कुनै आर्थिक समस्या नरहेको उनले बताए ।

selfie-dada-happy-land

ह्याप्पी ल्यान्डसम्म पुग्न भने बाटो त्यति गतिलो छैन । सुरुंगा बजारबाट करिब एक किलोमिटरमात्र टाढा भएर पनि आधाजति सडक राम्रो छैन । ‘सडकका लागि नगरपालिकासँग कुरा गरेका छौं, हेरौं के हुन्छ ?’ दिनेशले भने, ‘आशा गरौं, चाँडै बन्ला ।’

कनकाई नगरपालिकाले पनि पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राख्दै निजी क्षेत्रको लगानीलाई उत्साहित गर्ने नीति लिएको छ । ‘निजी क्षेत्रसँगको सहकार्यले नै आर्थिक उन्नतिको ढोका खुल्नेमा म विश्वस्त छु,’ नगर प्रमुख राजेन्द्रकुमार पोखरेल भन्छन्, ‘निजी क्षेत्रलाई उत्साहित बनाउन उदार भएर लागेको छु, यसमा कुनै शंका छैन ।’ यद्यपि, सन्काहा खोलाका कारण पूर्वाधारको लगानी बालुवामा पानीसरह भइरहेकाले बचेर लगानी गर्नुपर्ने स्थिति रहेको नगर प्रमुख पोखरेल बताउँछन् ।

सडक निर्माण भएसँगै सेल्फी डाँडा अवलोकन थप सहज बन्नेछ, यसमा शंका छैन । शंका छ त केवल ‘सेल्फी डाँडा’को नाम ‘ह्याप्पी ल्यान्ड’मा परिणत हुनेमा । किनकि, ह्याप्पी ल्यान्डभित्र छ, सेल्फी डाँडा । अधिकांश मानिस सेल्फी डाँडा घुम्न जान्छन् अनि ह्याप्पी ल्यान्ड घुमेर फर्कन्छन् ।

 

 

 

 

 

selfie-danda-newskarobar