सीमा नाकामा एसएसबीको ज्यादती, दसैं मनाउन फर्किएकासँग अवैध असुली
वि.सं.२०७५ असोज २८ आइतवार २०:१२
shares

नेपालीहरुको महान चाड बडा दसैं मनाउन आ–आफ्नो थातथलो फर्किने क्रम जारी छ । रोजगारीका लागि भारत गएकाहरु पनि विभिन्न सीमा नाकाबाट नेपाल भित्रीइरहेका छन् ।
चाडपर्वको रमाइलो समयमा सीमामा भने नेपाली नागरिकले भारतीय सिमा सुरक्षा बल (एसएसबी) र प्रहरीको ज्यादती भोग्न बाध्य छन् । उनहिरुले विभिन्न बहानामा ठगिरहेको गुनासो गरेका छन् ।
नेपालतर्फ केही सहज भए पनि भारतीय सीमा नाकामा बिना कारण पैसा असुली भइरहेको छ । स्थानीय प्रशासनले भारतीय पक्षसँग आवागमनको सहजताका लागि समन्वय गरिरहेको बताएको छ । कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा दसैं मनाउन घर फर्किएकासँग भारतीय भन्सार कर्मचारी, वनका कर्मचारी र एसएसबीले रकम असुली गर्ने गरेको डडेल्धुराका केशव पार्कीले बताए । नाकामा नेपाली ठगिन बाध्य हुँदासमेत प्रहरीले भने आफ्नोस्तरबाट कुनै पहल नगरेको पीडित युवाको भनाइ छ ।
पछिल्लो समय प्रशासनको केही सक्रियताका कारण नेपाली पक्षबाट ठगिने क्रम कम भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले दाबी गरे ।
यो साता मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरीफन्टा नाकाको अनुगमन गरेका थिए ।
सुदूरपश्चिमका अधिकांश युवा भारतमा पसिना बगाइरहेका छन् । स्थानीय सरकार आएपछि गाउँ घरमै रोजगारीका अवसर सिर्जना हुन्छ की भन्ने धेरैमा आशा पलाएको थियो । विदेशिने अधिकांश युवाहरुले स्थानीयस्तरको स्रोत साधनको सदुपयोग गर्दै रोजगारीका अवसर सृजना गरिदिन माग गर्दै आएका छन् ।

























