पोखराको नयाँबजारमा तिहार मेला सञ्चालन
वि.सं.२०७५ कात्तिक १८ आइतवार १२:२७
shares

नेपाल संम्वत ११३९ को अवसरमा महिला उद्यमशीलता विकासका लागि स्वन्ती नखः (तिहार) मेला पोखराको नयाँबजारमा सञ्चालन भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजना र नयाँबजार सांस्कृतिक समितिको सहयोगमा महिला उद्यमशीलताको विकास गराउने उद्देश्यले पहिलोपटक मेला आयोजना गरिएको पुचःका अध्यक्ष शान्ति उदासले जानकारी दिइन् ।
एक दिने मेलामा तिहार पर्वमा आवश्यक पर्ने सामग्रीको प्रदर्शनीसहित वस्तुहरु बिक्री गरिएको थियो । तिहार पर्वमा नेवारी समुदायलाई आवश्यक पर्ने रोटीदेखि, हाँसको अण्डासम्म मेलामा उपलब्ध गराएको उनले बताइन् । धान, भटमास, चामलको पिठो, कालो भटमास, माछा, रेखि, कटुस, ढाका टोपीलगायतका वस्तुहरु मेलामा बिक्रीका लागि राखिएको थियो ।
उनले भनिन् ‘यो हाम्रो पहिलो प्रयास हो, अर्को वर्ष थप व्यवस्थित मेला आयोजना गर्नेछौं ।’ मेलामा पोखरा महानगपालिकामा–३२ वडा नेवाः मिसा पुचः का इकाइ सहभागी भएको पुचः रानीपौवाका सल्लाहकार बकावली शाक्यले बताइन् ।






















