बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा
वि.सं.२०८३ असोज २० मंगलवार १८:०७
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
सारांश
- - बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ ।
- - आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
- - अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ४१७ ले बढेको हो ।
बाँके । बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/ ८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ४१७ ले बढेको हो ।
जन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सेवा लिनेमध्ये २० वर्षमुनिका एक सय ३४ जना छन् । नेपाल परिवार नियोजन सङ्घ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनुपर्ने जोखिम क्रमशः घट्दै गएको बताइन ।
नेपालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएपछि महिलामा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवाको पहुँच बढेको उनको भनाइ छ । नेपाल परिवार नियोजन सङ्घका २० शाखामध्ये बाँके शाखाले पनि सुरक्षित गर्भपतन सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकीले पछिल्लो समय स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिने क्रम बढेकाले जोखिम न्यूनीकरण भइरहेको बताए।






















