किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने
वि.सं.२०८३ असोज २० मंगलवार १७:२३
shares

सारांश
- - सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
- - किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो ।
- - कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् ।
काठमाडौँ । सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो ।
किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचयपत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डा सञ्जीव पण्डितले जानकारी दिए । परिचयपत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ ।
किसानले कति जमिनमा के कस्तो बाली लगाउँछन्, कति पशुपन्छी पाल्छन्, सिँचाइको अवस्था कस्तो छ, उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचयपत्र महत्त्वपूर्ण हुने उनले बताए । सरकारले ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ तथा ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ मार्फत यसको संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको थियो ।
केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ । किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपन्छी उत्पादन, कृषि व्यवसायलगायतको तथ्याङ्क सङ्कलनका आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ ।
कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् । अहिलेसम्म २६ लाख बढी किसान सूचीकरणमा आबद्ध भएका छन् । बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको केन्द्रले जनाएको छ ।






















