पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई
वि.सं.२०७५ मंसिर ३ सोमवार १८:२६
shares

सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । पाँचथर फिदिम नगरपालिका–४ की १०१ वर्षीया ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुवात गर्न लागिएको हो । भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा पाँचथर जाने कार्यक्रम छ ।
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने बताइएको छ ।सोमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि उनीहरूकाे नामावली जिल्ला प्रशासन कार्यालय पाँचथरमा सार्वजनिक गरिएको छ ।
विवरण सङ्कलनको समयमा जस्तै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्रै वितरण गर्ने विभागको तयारी छ । सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । यही आर्थिक वर्षमा प्रदेश नं– १ का झापा र सङ्खुवासभा, प्रदेश नं– २ का महोत्तरी र सप्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको तयारी छ ।

























